+
+
Shares

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याल पनि जोडिए, पक्राउ पुर्जी जारी

यो प्रकरणको कागजातबारे अनुसन्धान अघि बढाएपछि उनी सम्पर्कविहीन भएको उच्च स्रोतले बतायो । यो ठगी प्रकरणमा सीआईबीले बुधबार मात्रै दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियामा वैदेशिक रोजगारीका श्रमिकमाथि ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको र उनी फरार रहेको प्रहरीले जनाएको छ।
  • सीआईबीले यो प्रकरणमा बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेर ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाएको छ।
  • प्रहरीका अनुसार मलेसिया पठाउने भन्दै गैरकानुनी रूपमा संकलित १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ पठाउने निर्णयमा उनीहरूको संलग्नता देखिएको छ।

३ मंसिर, काठमाडौं । । मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि जोडिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यो प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा पूर्वमुख्य सचिव अर्यालयको पनि कनेक्सन देखिएको बताएको छ । उच्च स्रोतका अनुसार, उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको छ । तर, उनी भने फरार रहेका छन् ।

यो प्रकरणको कागजातबारे अनुसन्धान अघि बढाएपछि उनी सम्पर्कविहीन भएको उच्च स्रोतले बतायो । यो ठगी प्रकरणमा सीआईबीले बुधबार मात्रै दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ पक्राउ परेका छन् ।

यसअघि यो प्रकरणमा सीआईबीले चार जनालाई पक्राउ गरेको थियो । जसमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ का ४५ वर्षीय रामपुकार तिवारी पक्राउ परेका छन् ।

सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीमाथि अनुसन्धान गर्दा उनीहरुको संलग्नता देखिएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो ।

पक्राउ परेकाहरुविरुद्ध ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय गरिएको थियो ।

सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्र नाघ्दै विदेशी मुद्रा अपचलन गराउने निर्णयमा उनीहरूको संलग्नता रहेको प्रहरीको आरोप छ ।

श्रमिकलाई संगठित रूपमा ठगी गर्ने कार्यमा मौन बसेको, कानुनी उपचार नगरेको तथा गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?