+
+
Shares

जाडोमा बिहानको अल्छीपन हटाउन पिउनुहोस् मसला ‍चिया, कसरी बनाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते ११:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाडोमा बिहानको अल्छी र चिसो घटाउन अदुवा, अलैँची, दालचिनी र ल्वाङ मिसाइएको मसला चिया उपयोगी हुने लेखमा उल्लेख छ।

जाडोको मौसम अनि बिहानको समय । तातो चिया सम्झिँदा कसको मन आनन्दित नहोला र ? अझ त्यो चियामा मसला मिसाएर बनायो भने त चिसोका कारण लागेको अल्छी पनि हट्छ ।

विशेषगरी जाडोयाममा बिहान उठ्नेबित्तिकै अल्छी लाग्ने, शरीरमा जाँगर नचल्ने र चिसो महसुस हुने समस्या हुनु गर्छ । यस्तो बेला अदुवा, दालचिनी, अलैँची र ल्वाङजस्ता मसला हालेर बनाइएको चियाले स्वादसँगै न्यानोपन र ताजापनको अनुभूति दिन्छ।

यदि तपाईं दैनिक एउटै प्रकारको साधारण चिया पिएर दिक्क हुनुभएको छ भने पनि यसले नयाँ स्वाद दिन सक्छ । मसलेदार चियाँ पिउनका लागि कुनै रेस्टरेन्ट वा चिया पसल पुगिरहनुपर्दैन । हाम्रो भान्समा प्राय उपलब्ध भइरहने मसलाहरूको प्रयोग गरेर घरमै मिठो चिया बनाउन सकिन्छ ।

मसला चिया पिउनु किन विशेष छ ?

मसला चिया बनाउन अदुवा, अलैँची, दालचिनी र ल्वाङजस्ता मसलाको प्रयोग गरिन्छ । यी मसलाले चियालाई फरक स्वाद दिन्छन् । विशेषगरी चिसो मौसममा यस्तो चिया पिउँदा शरीर न्यानो बनाउने र चिसोका कारण लाग्ने रूघाखोकीमो समस्या समेत कम हुन्छ भन्ने हाम्रो परम्परागत मान्यता नै हो ।

कसरी बनाउने मसला चिया ?

आफ्नो स्वास्थ्य अवस्था र स्वाद हेरेर कालो चिया वा दूध चिया कुन पिउने त्यो निर्णय तपाईंको छनोटमा भरपर्छ ।

आवश्यक सामग्री
– पानी
– दूध
– चियापत्ती
– अदुवा
– अलैँची
– दालचिनी
– ल्वाङ
– चिनी

चिया कति जनालाई बनाउने हो त्यो अनुसार मात्रा तोक्नुहोस् । सामान्यतया दुई कप चियाको लागि हो भने एक कप पानी र एक पक दूध मिसाउनु राम्रो हुन्छ । आफ्नो स्वाद अनुसार दूधको मात्रै प्रयोग गरेर बनाउन पनि सक्नुहुन्छ ।

बनाउने विधि

१ .सबैभन्दा पहिले एउटा प्यानमा पानी राखेर ग्यासमा तताउने । त्यसपछि पानीमा कुटेको अदुवा, अलैँची, दालचिनी र ल्वाङ हाल्ने ।

२. मसलाको स्वाद पानीमा राम्ररी घुल्न दिन २ देखि ३ मिनेटसम्म उमाल्ने । त्यसपछि चियापत्ती हालेर करिब १ मिनेट फेरि उमाल्ने ।

३. अब प्यानमा दूध राख्ने । चियालाई कम आगोमा २ देखि ३ मिनेटसम्म उमाल्ने । कडा चिया मन पर्छ भने केही बेर थप उमाल्न सकिन्छ ।

४. त्यसपछि स्वादअनुसार चिनी राख्ने ।

अब मिठो मसला चिया तयार भयो । गिलासमा हालेर त्यसको आनन्द लिन सक्नुहुनेछ ।

तर तपाईंलाई एसिडिटी वा छाती पोल्ने समस्या छ भने अदुवा र अन्य मसलाको मात्रा कम राखेर चिया बनाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?