News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय चिया बोर्डको परीक्षण नीतिले नेपाली चिया निर्यातमा पारेको अवरोध हटाउन इलामका चिया उद्यमीले सरकारको ध्यानाकर्षण गराएका छन् ।
- चियाको अनिवार्य परीक्षण र ढिलाइपूर्ण प्रक्रियाले ढुवानी खर्च बढेर नेपाली चियाको प्रतिस्पर्धी क्षमता घटेको उद्यमीहरूले बताएका छन् ।
- उद्यमीहरूले द्विपक्षीय संयन्त्र स्थापना गरी दुवै देशका प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई पारस्परिक मान्यता दिन माग गरेका छन् ।
८ असार, काठमाडौं । नेपाली चिया निर्यातमा भएको अवरोधका कारण आएका समस्याबारे इलामका चिया उद्यमीले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार मन्त्रालय मन्त्रालय पुगेर उनीहरूले ध्यानाकर्षण गराएका हुन् । साथमा, इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङ पनि सहभागी भएका थिए ।
भारतीय चिया बोर्डले गरेको एसओपी परीक्षणका कारण नेपाली चिया निर्यातकर्तालाई समय र आर्थिक दुवै दृष्टिले अतिरिक्त भार परेको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सूर्योदय टि प्रोड्यूसर्स एशोसिएसनका सदस्यहरू उद्योग तथा वाणिज्य आपूर्ती मन्त्रालय र प्रधानमन्त्री बालेन शाहलाई समेत पत्र लेख्दै ध्यानाकर्षपत्र बुझाएका छन् ।
चियाका प्रत्येक खेपको अनिवार्य परीक्षण तथा ढिलाइपूर्ण नमुना संकलन प्रक्रियाले भारतीय क्रेताको गोदाममा लामो समयसम्म मालवस्तु रोकिने अवस्था सिर्जना गरेको उनीहरूको भनाइ छ ।
यसले निर्यातको नियमितता र बजार आपूर्तिमा प्रतिकुल प्रभाव पारेको उद्यमीहरूको भनाइ छ ।
‘परीक्षण शुल्क गोदाम खर्च ढुवानी अवरोध, ट्रक पार्किङ तथा भण्डारण लागतका कारण नेपाली निर्यातकर्ताहरुको संचालन खर्च उल्लेखनीय रुपमा बढेको छ,’ चिया उद्यमीले प्रधानमन्त्रीलाई लेखेको प्रश्नमा भनिएको छ, ‘यसले नेपाली चियाको प्रतिस्पर्धात्मक क्षमतामा प्रत्यक्ष असर पुर्याएको छ ।’
नेपाल र भारत बिच चिया व्यापारसँग सम्बन्धित प्राविधिक तथा नियामकीय विषयहरुको समाधानका लागि स्थायी द्धिपक्षीय संयन्त्र स्थापना गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।
दुवै देशका मान्यता प्राप्त प्रयोगशालाहरुबीच परीक्षण प्रतिवेदनको पारस्परिक मान्यता सम्बन्धी व्यवस्था विकास गरी दोहोरो परिक्षण तथा अनावश्यक व्यापारिक अवरोध हटाउन उनीहरूको माग छ ।
प्रतिक्रिया 4