+
+
Shares

नेपाल टेलिकमका अधिकारीसँग सञ्चारमन्त्रीले सोधे– टावर छ, नेटवर्क किन छैन ?

रासस रासस
२०८३ मंसिर ४ गते २०:४७

४ मंसिर, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी समाधान गर्न निर्देशन दिएका छन् ।

दुर्गमबाट मात्र नभई सहरी क्षेत्रबाट समेत नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवामा समस्या रहेको गुनासो आउने गरेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले त्यसको कारण पहिचान गरी समाधानमा केन्द्रित हुन शुक्रबार आज टेलिकमलाई निर्देशन दिए ।

नेटवर्कको गुणस्तरमा समस्या किन भइरहेको छ भन्ने स्पष्ट पहिचान गरी त्यसको समाधान गर्नुपर्ने उनले बताए । सबै टावरले पूर्ण क्षमतामा काम गरिरहेका छन् वा छैनन् भन्ने विषय पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले कुन टावरले कति ट्राफिक धान्न सक्छन् भन्ने स्पष्ट तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिए ।

टेलिकमको सेवा प्रभावकारी बनाउन आवश्यक बजेटको व्यवस्थापन गर्न सरकार तयार रहेको उल्लेख गर्दै उनले कुनै पनि बहानामा सेवाको गुणस्तर कमजोर हुने अवस्था स्वीकार्य नहुने बताए ।

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार गर्न, टावरको क्षमता बढाउन तथा आवश्यक पूर्वाधार विस्तार गर्न ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडिएफ)को रकमसमेत उपयोग गरेर काम अघि बढाउनुपर्ने उनको भनाइ छ ।

देशका विभिन्न स्थानमा टावर भए पनि नेटवर्क नचल्ने वा कमजोर हुने गुनासो आइरहेको भन्दै सञ्चारमन्त्री तिमिल्सिनाले सेवाको गुणस्तर सुधारमा विशेष ध्यान दिन निर्देशन दिए ।

यसैबीच, नेपाल टेलिकमका देशभरमा पाँच हजार टावर रहेकामा आज करिब ५० वटाको सेवा प्रभावित भएको टेलिकमले जनाएको छ । सेवा गुणस्तर सुधार तथा पहुँच विस्तारका लागि एक हजार ६०० नयाँ टावर थप गर्नेगरी बोलपत्र आह्वानको प्रक्रिया अघि बढाइएको छ ।

नयाँ टावर थप्दैमा सेवा गुणस्तर सुधार हुने सुनिश्चितता नहुने भन्दै सञ्चारमन्त्री तिमिल्सिनाले पूर्वाधार विस्तारसँगै विद्यमान टावरको क्षमता र सञ्चालन अवस्था पनि सुधार गर्नुपर्नेमा जोड दिए ।

‘टेलिकमले सबैतिर गुणस्तर ठिक छ भनिरहेको छ । तर, नेटवर्कमा समस्या रहेको भन्दै देशभरबाट मन्त्रालयमा गुनासो आउने गरेका छन् । तपाईँहरूको कमजोरी के हो ?,’ उनले प्रश्न गरे, ‘सुधारका उपाय शीघ्र खेज्नुहोस् । के–कति सुधार गर्नुपर्ने छ सो काम गरेर उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने जरुरी छ ।’

विद्युत् आपूर्ति अवरुद्ध हुँदा नेटवर्कमा समस्या बढी हुने गरेको र त्यसबाट टेलिफोन टावरको सेवा प्रभावित हुने गरेको टेलिकमले जनाएको छ । छलफलमा प्रमुख सञ्चालन अधिकृत (सीओओ) प्रेम सिलवाल, मोबाइल सेवा निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारीलगायत सहभागी थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?