५ मंसिर, काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले केपी शर्मा ओलीको विकल्प नभएको दाबी गरेका छन् ।
एमालेको जनवर्गीय संगठन नेशनल भोलेन्टियर्स संघको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारलाई वर्षायाममा उम्रिएको चुच्चे च्याउको संज्ञा दिएका हुन् ।
उनले वर्षायामको च्याउ घाम लागेपछि आफै मरेर जाने उल्लेख गर्दै वर्तमान सरकार पनि लामो समय टिक्न नसक्ने दाबी गरे । उनले वर्तमान सरकारले सुकुम्बासीलाई दिएको आश्वासन पूरा नगरेको पनि आरोप लगाए ।
सुकुमवासीका घर भत्काएर उनीहरूलाई वर्षायाममा सडकमा बस्न बाध्य पारिएको भन्दै उनले सरकारविरुद्ध जनआक्रोश बढिरहेको दाबी गरे । उनले बंगलादेशमा हाल भईरहेको आन्दोलनको प्रसंग निकाल्दै उहाँले सुकुम्बासी, गरिब तथा युवाहरूको माग सरकारले सम्बोधन नगरे नेपालमा पनि उक्त घटना हुनसक्ने बताए ।
‘वैदेशिक शक्तिहरूले केपी ओलीमाथि आक्रमण गरे । नेकपा (एमाले) माथि आक्रमण गरे । केपी ओली बिनाको नेपाल बनाउन खोजे, केपी ओली बिनाको एमाले बनाउन खोजे, केपी ओली बिनाको युवा बनाउन खोजे, यो सम्भव छैन । यो सम्भव छैन भनेर अघिल्लो वर्ष मंसिर ५ गते हामीले उद्घोष गर्यौं,’ उनले भने, ‘केपी बा, वी लभ यु भनेर युवाहरूले भने । ‘युवा बिनाको केपी ओली सम्भव छैन, हामी तपाईंको साथमा छौं’ भनेर भनेँ । आज आफ्नो स्थापना दिवसमा राजधानी कमिटीको गठन गरेर फेरि आज युवाहरूले दोहोर्याए ।’
उनले सरकारले भोटेकोशीका बाढीपीडितलाई राहत दिन नसकेको पनि बताए । प्रधानमन्त्री राहत कोषमा १७ अर्ब जम्मा भएपनि बाढीपीडितले खान नपाएर भोकै बस्न परेको उनको भनाइ छ । उनले वैदेशिक शक्तिहरूले एमालेविनाको देश बनाउन खोजेको पनि आरोप लगाए । तर एमाले विनाको देश र केपी ओली विनाको एमाले बनाउन कसैले नसक्ने उनको दाबी छ ।
‘आज होइन भोलिलाई तपाईंले सकेसम्म यो देश तपाईँले जिम्मा लिनुपर्छ भनेर आज युवाहरूले उद्घोष गरे । केपी ओली बिनाको युवा, युवा बिनाको केपी ओली अपुरो हुन्छ भन्ने कुरा युवाहरूले प्रमाणित गरे । नेकपा (एमाले) केपी ओली बिनाको बनाउन खोजियो,’ उनले भनिन्, ‘हामीले नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्यौं, राष्ट्रिय कार्यकर्ता भेला गर्यौँ र सर्वसम्मत ढंगले भन्यौँ, नेकपा (एमाले) मा केपी ओलीको विकल्प कसैले खोज्छ भने त्यसको विकल्प कार्यकर्ताले खोज्नेछन्, त्यसको विकल्प नेताहरूले खोज्नेछन् ।’
वैदेशिक शक्तिहरूले ओली र एमालेमाथि आक्रमण गरेर ओलीबिनाको नेपाल, एमाले र युवा शक्ति निर्माण गर्न खोजेको उनको आरोप छ । उनले एमालेभित्र ओलीको विकल्प खोज्नेलाई कार्यकर्ताले अस्वीकार गरिसकेको दाबी गरे ।
‘अहिले असमयिक ढंगले केपी ओलीको विकल्प खोज्नेहरूलाई आम राष्ट्रिय कार्यकर्ता भेलाबाट एउटा सन्देश हामीले दिएका छौं । यो देशमा केपी ओली बिनाको मुलुक बनाउने सपना बाँडेर भ्रमको खेती गर्नेहरूलाई आज भ्रमबाट मुक्त भएका छन् । गाउँतिर भन्ने गरिन्छ, छाता ढालेको च्याउ र बर्खामा उम्रिएको च्याउको फरक हुन्छ,’ बस्नेतले भने, ‘अहिले बालेन सरकार छ, यो बर्खामा उम्रिएको चुच्चे च्याउ हो । यो कुनै छाता ढालेको च्याउ होइन । बर्खा सकिए पछाडि जब घाम लाग्न थाल्छ, त्यसपछाडि यो च्याउ मरेर सकिन्छ । त्यही भएर यो हात न भुट्टामा आएको सरकार यो एक वर्ष पनि टिक्दैन ।’
प्रतिक्रिया 4