+
+
Shares

ब्रिफिङ : के–के भयो प्रधानमन्त्री बालेनको दिल्ली भ्रमण, पहिलो दिनमा ?

दिल्लीमा बालेनले राख्ने प्राथमिकतामा सामान्य फेरबदल भएको जानकारी हामीले पाएका छौं । भोलि मोदी र बालेनबीचको वार्तापछि सार्वजनिक हुने भनिएको १० बुँदे एजेन्डा सूची पनि अनलाइनखबरले सरकारी पक्षबाट प्राप्त गरेको छ । अन्यथा नभए भोलि त्यसैको वरिपरि शिखर वार्तामा सहमति हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते २०:३२

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बनेपछि बालेन शाहले पहिलो अन्तर्राष्ट्रिय भ्रमण न्युयोर्कमा गरे पनि औपचारिक भ्रमण भने दक्षिण छिमेकी भारतमा गरेका छन् । यो बहुप्रतीक्षित भ्रमणको तयारी करिब तीन महिना चलेको अनलाइनखबरले कूटनीतिक सूत्रबाट जानकारी प्राप्त गरेको छ ।

‘अन्तिम घडीसम्म पनि भ्रमण नै हुँदैन कि भन्ने थियो, तर सम्भव भएको छ,’ उच्च सरकारी स्रोतले भन्यो, ‘केही एजेन्डा भने भ्रमणको दिन आउने बेलामा तलमाथि पारेका छौं । एजेन्डा फेरबदल होइन, प्राथमिकता मात्रै फेरबदल हो ।’

यद्यपि सरकारी स्रोतले ती फेरबदल भएका एजेन्डाका प्राथमिकता के के थिए, र अब के के हुन् भन्ने स्पष्ट गरेको छैन । तर आर्थिक सहायता र कनेक्टिभिटीबाहेकका अरु धेरै विषय यस भ्रमण क्रममा छुट्न सक्ने संकेत हामीले पाएका छौं । यससँगै अनलाइनखबरले १० बुँदे एजेन्डा सूची पनि सरकारी पक्षबाट प्राप्त गरेको छ । अन्यथा नभए भोलि त्यसैको वरिपरि शिखर वार्तामा सहमति हुनेछ ।

भारतीय राजधानी नयाँदिल्लीमा आज आइतबार अपराह्न ओर्लिएका प्रधानमन्त्री बालेनको यो भ्रमणलाई त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारले राजकीय भ्रमण अर्थात् स्टेट भिजिटको मान्यता दिएको छ । दिल्लीमा उनले राज्यमन्त्री स्तरमा स्वागत पाएका छन्, जसलाई नेपालमा यसअघिका प्रधानमन्त्रीहरुले पाउँदै आएका स्वागतसँग दाँजेर हेरिएको छ ।

आर्थिक सहायता, व्यापार पारबहन क्षेत्रमा विभिन्न आदानप्रदान, एयररुट अनुमति, उर्जा तथा पूर्वाधार, कनेक्टिभिटी लगायत दुईपक्षीय सम्बन्धको अभिवृद्धि जस्ता एजेन्डामा भ्रमण केन्द्रित रहने बताइएको छ । सरकारी स्रोतबाट अनलाइनखबरले प्राप्त गरेका छलफलका बुँदाहरुमा यी एजेन्डा समाविष्ट छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरसँग प्रधानमन्त्री बालेनले आइतबार साँझै दिल्लीमा आधा घण्टाजति कुरा गरेका छन् । भारतीय विदेशमन्त्रीसँग उनले दुईपक्षीय सम्बन्ध र परस्पर सहयोगमा आधारित सौहार्द छलफल गरेको सरकारी स्रोतले बताएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले भारतका निजी क्षेत्र लगायतसँग संवादमा रहनेछन् । यसअघि प्रधानमन्त्रीसमेत सहभागी हुने परम्परा रहेकामा बालेनले त्यो प्रचलन तोडेका छन् ।

भोलि सोमबार उनी गान्धी समाधिस्थल राजघाट पुग्नेछन् । त्यहाँ श्रद्धाञ्जली चढाएपछि उनी समकक्षी नरेन्द्र मोदीसँग औपचारिक तथा एक्लाएक्लै दुवै वार्तामा सहभागी हुनेछन् । नेपाल भारतबीच समझदारीपत्र आदानप्रदान हुनेछ । यसलाई भ्रमण क्रममा दुईदेशीय संयुक्त दृष्टिपत्रका रुपमा अघि बढाउने भनिएको छ ।

नेपालमा प्रधानमन्त्री भएपछि अहिलेसम्म एकपटक पनि पत्रकार सम्मेलन नगरेका बालेनले भारतमा पहिलोपल्ट मोदीसँगै संयुक्त पत्रकार सम्मेलनमा देखिनेछन् । उनी मोदीले आयोजना गर्ने दिवाभोजमा पनि सरिक रहनेछन् । नेपालमा राष्ट्रपति रामचन्द्र पौडेललाई नभेटी गए पनि भारतमा भने उनले राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्नेछन् । त्यसपछि उनी नेपाल फर्कनेछन् ।

भ्रमण कति सार्थक र उपलब्धिमूलक भयो भन्ने प्रश्नको जवाफ भने सोमबार अर्थात् दोस्रो दिन मिल्ने छ, जहाँ दुई देशका प्रधानमन्त्रीहरुबीचको संवाद र सहमति हुने छ । बालेन र मोदीबीचको छलफल नै नेपालमा जेनजी आन्दोलनपछिको शक्तिशाली निर्वाचित सरकारलाई हेर्ने भारतीय दृष्टिकोणको पर्याय बन्ने कुटनीतिज्ञहरुले बताएका छन् ।

विगतमा प्रधानमन्त्री बन्नुअघि बालेनले सोसल मिडिया युजरका रुपमा, अनि काठमाडौं मेयरका रुपमा गरेका भारतप्रति आलोचनात्मक टिप्पणीको प्रतिनिधित्व उनले सत्ताप्रमुखका रुपमा चाहिँ गर्छन् कि गर्दैनन् भन्ने चासो पनि त्यत्तिकै छ । उनले ग्रेटर नेपालको नक्सा राखेका थिए, जो काठमाडौं मेयरको पदीय आचरण अनुरुप थिएन ।

तर प्रधानमन्त्री बनेपछि सीमा समस्यालाई ठिक उल्टोगरी राखेको भन्दै बालेनको स्वदेशमा तीव्र आलोचना भयो । खासगरी संसदमै उभिएर उनले ‘नेपालले पनि भारतको सिमाना मिचेको छ’ भनी उनले दिएको अभिव्यक्तिपछि संसद र सडक नै आक्रोशको केन्द्रमा छाएको थियो ।

प्रधानमन्त्री बन्नुअघि बालेन विगतमा भारतलक्षित सोसल मिडिया पोस्ट, मेयरकालमा हिन्दी सिनेमा प्रतिबन्ध लगायत प्रकरणमा सामेल भएका थिए । उनको अडान र कार्यान्वयन एकैनास रहन्छन् कि फरक देखिनेछ भनी नेपालमा जिज्ञासा जारी छन् ।

यसअघिका प्रधानमन्त्रीले नियुक्तिलगत्तै भारत भ्रमणका लागि धेरथोर चासो देखाउने गरेकामा प्रधानमन्त्री बालेन करिब ७ महिना अनिर्णित बसेका थिए । आठौं महिनामा भने उनको दिल्ली भ्रमण भएको छ । उनी गएकै दिन नेदरल्यान्ड्सका विदेशमन्त्री दिल्ली आउँदा पाएको स्वागतलाई भने नेपाली पक्षले नोटिसमा राखेको देखिएको छ ।

नयाँ दिल्लीमा पुग्दा त्यहाँका सम्पूर्ण औपचारिकता पछ्याएका प्रधानमन्त्रीले काठमाडौंबाट उड्नुअघि भने लगभग औपचारिकता देखाएनन् । उनले पत्नी सविना काफ्लेलाई भ्रमणमा लगेनन्, यसअघि फस्ट लेडीका रुपमा पत्नी, छोरी आदिलाई लैजाने चलन थियो, जसलाई उनले निरन्तरता दिएनन् । प्रधानमन्त्रीले काठमाडौंमा सेनाको गार्ड अफ अनर लिएनन्, यद्यपि दिल्लीमा भने लिए ।

३४ सदस्यीय भ्रमण मण्डलको बिदाई समारोहका लागि त्रिभुवन विमानस्थलमा तामझाम देखिएन । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका उर्जामन्त्री विराजभक्त श्रेष्ठसहित दुई नेताले उनलाई दिल्लीका लागि शुभयात्रा भने । प्रधानमन्त्रीले उनीहरुबाट अत्यन्तै संक्षिप्त बिदाइ लिँदै विमान चढे ।

यसअघिका प्रधानमन्त्रीहरुले भारतका अन्य सहरहरु पनि भ्रमण गर्ने प्रचलन रहेकामा बालेनले त्यसलाई निरन्तरता दिएका छैनन् । विपक्षी दलका नेताहरु भेट्ने प्रचलन खासगरी भाजपा सरकार बनेयता टुटेको थियो, बालेन पनि त्यही पंक्तिमा मिसिएका छन् ।

प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुसहित पार्टीहरुसित भ्रमणअघि परामर्श गर्ने प्रचलन तोडे । यसअघि नेपालको तर्फबाट भारत भ्रमण गरेका पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन शैलीप्रति क्षोभ व्यक्त गर्दै भनेका छन्, ‘उहाँले के ठान्नुभएको छ कुन्नि आफैंलाई ! यसअघिका भ्रमणहरु र यसको उपलब्धिबाट सिक्ने, अब के गर्ने भन्ने रणनीति बनाउनका लागि संवाद गरेको भए उहाँकै कद अग्लो हुन्थ्यो ।’

तर सरकारी पक्षले भने यसमा कुनै जवाफ दिएको छैन ।

यस्तै, प्रधानमन्त्री बालेनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्दै नभेटी दिल्ली भ्रमण राखेका छन्, जसप्रति राजावादी झुकाव भएका राप्रपा लगायत दल र नेताहरुले भने खुसियालीपूर्वक हेरेको देखियो । राप्रपा प्रमुख सचेतक खुस्बु ओलीले ट्वीट गर्दै प्रधानमन्त्रीले गणतन्त्रका राष्ट्रप्रमुखलाई मान्यता नदिएकामा आफूहरुले राख्दै आएको राजसंस्थावादी एजेन्डाले मान्यता पाएको अर्थ लगाएकी छन् । अ‍ोलीले लेखेकी छन्, ‘प्रधानमन्त्री बालेन शाह ज्युलाई विशेष धन्यवाद, राजसंस्थाको औचित्यमाथि हामीले वर्षौंदेखि उठाउँदै आएको प्रश्नलाई यहाँले आफ्नै व्यवहारबाट पुनः बहसको केन्द्रमा ल्याइदिनुभएकोमा, विदेश जानु अगाडि प्रधानमन्त्रीले राष्ट्रप्रमुखलाई भेट्ने संविधानमा निहित रहेको परम्परालाई तोड्नुभएको छ ‘ ओलीले लेखेकी छन्, ‘राष्ट्रप्रमुखको संवैधानिक संस्थालाई समेत उचित सम्मान र मर्यादा दिन नसक्ने कस्तो व्यवस्था, र कस्तो संस्थागत संरचना गणतन्त्रले निर्माण गरेछ, आज राष्ट्रमा राजा भएको भए प्रधानमन्त्रीले राष्ट्रप्रमुखको गरिमा बेवास्ता गर्दै यसरी अघि बढ्न सक्नुहुन्थ्यो होला ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?