+
+
Shares

विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनर्निर्माण गर्नुपर्छ : गगन थापा

सभापति थापाले पुनर्निर्माणलाई निजी आवास निर्माणमा मात्र सीमित नगरी प्रभावित क्षेत्रको समग्र पुनर्स्थापना र आर्थिक गतिविधि सञ्चालनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे ।

रासस रासस
२०८३ मंसिर ६ गते २१:१०

६ मंसिर, नुवाकोट । नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् ।

रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रको आइतबार अवलोकनपछि उनले जोखिमको प्राविधिक मूल्याङ्कनका आधारमा सुरक्षित स्थान पहिचान गरी सम्भव भएका ठाउँमा जोखिम न्यूनीकरणका उपाय अपनाएर बस्ती पुन:निर्माण गर्नुपर्ने धारणा राखे ।

प्रभावित बासिन्दाले वर्षौँदेखि बसोबास गर्दै आएको पुर्ख्यौली थातथलो छाड्न नचाहेको र बेत्रावती, त्रिशूली तथा देवीघाटका बासिन्दाले जोखिम न्यूनीकरण गरेर सोही क्षेत्रमा बस्ती पुन:निर्माण गर्न माग गरेको उल्लेख गर्दै उनले स्थानीयको भावना र सुरक्षालाई ध्यान दिनुपर्ने बताए ।

सभापति थापाले पुनर्निर्माणलाई निजी आवास निर्माणमा मात्र सीमित नगरी प्रभावित क्षेत्रको समग्र पुनर्स्थापना र आर्थिक गतिविधि सञ्चालनलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे ।

उनले सडक, पुल, विद्युत् आयोजना तथा अन्य सार्वजनिक संरचनाको पुन:निर्माणसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र रोजगारीका अवसरलाई पनि पुन:स्थापनाको योजनामा समेट्नुपर्ने बताए ।

सरकारले पुन:निर्माणका योजना तयार गर्दा प्रभावित बासिन्दासँग पर्याप्त छलफल गरी उनीहरूका सुझाव समेट्नुपर्ने उनको भनाइ थियो ।

पुनर्निर्माण र पुनर्स्थापनाका कार्यक्रमलाई एकीकृत प्याकेजका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले यसका लागि आफ्नो पार्टीले सरकारलाई आवश्यक सुझाव र सहयोग गर्ने बताए ।

उनले रसुवाको उत्तरगया गाउँपालिकाका विभिन्न बस्ती, रसुवा–नुवाकोटको बेत्रावती, त्रिशूली, ढुङ्गे, देवीघाट हुँदै धादिङको गल्छीसम्मको प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?