+
+
Shares

फेदीखोला गण्डकीका ८५ पालिकामध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १०:१५

७ मंसिर, स्याङ्जा । शिक्षा क्षेत्रको कार्यसम्पादनका आधारमा स्याङ्जाको फेदीखोला गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये उत्कृष्ट घोषित भएको छ । शैक्षिक नेतृत्व, गुणस्तर सुधार, नवप्रवर्तन, संस्थागत विकास र नतिजामुखी कामका आधारमा गाउँपालिकाले राष्ट्रिय स्तरको सम्मान पाएको हो ।

प्रधानाध्यापक सङ्घ नेपालले जनकपुरधाममा आयोजना गरेको तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ का अवसरमा गाउँपालिकालाई सम्मान गरिएको हो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधार र प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष सुवेदीले बताए । उनका अनुसार माध्यमिक तहमा ‘एक विद्यालय, एक आईटी शिक्षक’ र ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम लागू गरिएको छ ।

त्यस्तै, गाउँपालिकाभित्रका सबै शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको छ । विद्यालय कर्मचारी र बालविकास सहजकर्तालाई पनि गाउँपालिकाले न्यूनतम सुविधा उपलब्ध गराउँदै आएको सुवेदीले जानकारी दिए ।

विद्यार्थीको आर्थिक पहुँच र उद्यमशीलता विकासलाई समेत शिक्षासँग जोडिएको गाउँपालिकाले जनाएको छ । यहाँका प्रत्येक विद्यार्थीको बैंक खाता खोलिएको छ भने ‘एक विद्यालय, एक उद्यम’ कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालयहरूमा मौरी समूह गठन गर्ने अभ्यास पनि अघि बढाइएको छ ।

अभिभावक सचेतना र शैक्षिक नतिजा सुधारका क्षेत्रमा गरिएको कामका आधारमा पनि फेदीखोला जिल्लामै उत्कृष्ट रहेको गाउँपालिकाको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?