+
+
Shares

नेपाल–भारत सम्बन्ध विकास साझेदारीमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री बालेन

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १४:४७

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबीचको विश्वास हिमालझैं अग्लो र सहकार्य नदीझैं अविरल बगोस् भनेर कामना गरेका छन् । साथै उनले दुवै राष्ट्रको समृद्धिको पनि कामना गरेका हुन् ।

आज नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बालेनले सो कामना गरेका हुन् ।

उनले भने, ‘नेपाल र भारतबीचको मित्रता यस्तो होस् जहाँ विश्वास हिमालझैं अग्लो होस्, सहकार्य नदीझैं अविरल बगोस्, दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाश मुनि फक्रिओस् ।’

नेपाल र भारतबीचको सम्बन्धलाई शब्दको सीमिततामा बाँध्न नसकिने भन्दै उनले सम्बन्ध पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको धारणा राखे । उनले दुई देशबीचको सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिको आधारमा नयाँ युगको रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बताए ।

‘पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धको मूल आधारशिला हो । अतुलनीय एवं अपरिमित यस सम्बन्धको केन्द्रमा हाम्रा दुई देशका जनताहरू रहेका छन्,’ उनले भने ।

उनले नेपालका भगवान पशुपतिनाथ, माता जानकी तथा करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद र नेपाली जनताको स्नेह, प्रेम तथा सद्भाव भारत र भारतीय जनताका लागि लिएर राजकीय भ्रमणमा आएको बताए ।

भारतका प्रधानमन्त्री मोदीले दिएको निमन्त्रणा र न्यानो आतिथ्यका लागि आभार व्यक्त गर्दै शाहले मोदीलाई पनि नेपाल भ्रमणको निम्तो दिए । साथै, भारतीय जनतालाई मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरस्थित माता जानकी, जीवित देवी कुमारी तथा भगवान गौतम बुद्धको जन्मस्थल नेपाल भ्रमणका लागि आमन्त्रण गरे ।

हिमालय क्षेत्रका जलस्रोतले नेपाल र भारतसहित यस क्षेत्रका करोडौँ मानिसलाई जीवन दिइरहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका चुनौतीलाई सहकार्यका माध्यमबाट सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए । हिमालयबाट बगेर गङ्गामा मिसिने नदीहरूले दुवै देशको भविष्य र साझा गन्तव्यको स्मरण गराउने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?