+
+
Shares

बालेनले भने– भारतसँग भएका समझदारीका प्रतिफल किसानका खेतमा देखिनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १५:०२

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारत भ्रमणका क्रममा दुई देशबीच भएका समझदारी र उदघाटन गरिएका परियोजनाको प्रतिफल जनताले प्रत्यक्ष महसुस गर्न पाउनुपर्ने बताएका छन् ।

आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएपछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बालेनले सो धारणा राखेका हुन् ।

नेपालीमा सम्बोधन गर्दै बालेनले भने, ‘हामीले आज गरेका समझदारीहरू र अघि बढाएका परियोजनाहरूको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपछ । युवाका हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ । विद्यार्थीका सपनामा नयाँ सम्भावनाका रूपमा विस्तार हुनुपर्छ; र उद्यमीले नयाँ बजार, लगानी तथा व्यवसायिक विस्तारका अवसरका रूपमा अनुभूत गर्न पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ ।’

पुर्खाले स्थापित गरेको ऐतिहासिक सम्बन्धलाई आधार बनाएर आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत नेपाल–भारत सम्बन्धलाई युगको आवश्यकता अनुरूप रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने उनले बताए । यसबाट नयाँ पुस्ताका लागि सम्भावनाका ढोका खोल्ने जिम्मेवारी दुवै देशको रहेको उनको भनाइ थियो ।

उनले प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षमा छलफल हुनुका साथै विभिन्न क्षेत्रमा भएका समझदारी, पूर्वाधार उदघाटन तथा शिलान्यासका काम भएको जानकारी दिए ।

भारत भ्रमणको क्रममा उनले नेपाल–भारत सम्बन्धको ऐतिहासिक आधारलाई अझ सुदृढ बनाउने विषयमा दुवै पक्षबीच गहन, सार्थक र दूरगामी छलफल भएको उनको भनाइ छ ।

नेपाल–भारत सम्बन्ध भगवान राम र माता जानकीको पावन युगदेखि ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत आधारमा जोडिएको उल्लेख गर्दै शाहले सम्बन्धलाई थप जीवन्त बनाउने उद्देश्यले अयोध्या–जनकपुर रेल सेवा शुभारम्भ गरिएको बताए ।

शाहले नेपालमा साझा आर्थिक समुन्नतिका लागि भारतीय लगानीकर्तालाई स्वागत गर्दै नेपालमा स्थापना हुने आईआईटीमा भारतीय विद्यार्थी अध्ययन गर्न आउने वातावरण बनाउने तथा दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्ने दिशामा अघि बढ्नुपर्ने बताए ।

प्रधानमन्त्री शाहले नेपाल–भारतबीचको विश्वास हिमालझैं अग्लो र सहकार्य नदीझैं अविरल बगोस् भनेर कामना गरेका छन् । साथै उनले दुवै राष्ट्रको समृद्धिको पनि कामना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?