News Summary
Generated by OK AI. Editorially reviewed.- सीआईबीले डीडीसीमा दूधको फ्याट र एसएनएफका आधारमा किसानलाई कम रकम दिएर २०७८ यता ठगी भएको निष्कर्ष निकालेको छ।
- यो प्रकरणमा सीआईबीले हालसम्म ९ जनालाई पक्राउ गरेको छ, जसमा तत्कालीन महाप्रबन्धक सञ्जीव झा पनि छन्।
- अनुसन्धानमा पक्राउ परेका कर्मचारीका खातामा १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ गएको देखिएको छ।
३० कात्तिक, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा गत ७ जेठमा आएको एउटा बेनामे उजुरीमा दूध किसानमाथि लुट भइरहेको दाबी गरिएको थियो।
दुग्ध विकास संस्थान (डीडीसी) ले दूध किसानमाथि खुल्लमखुल्ला ठगीको धन्दा चलाएको दाबी गर्दै आएको बेनामे उजुरीमाथि सीआईबीले थप बुझ्ने काम सुरु गर्यो।
सीआईबीको प्रारम्भिक अनुसन्धानका क्रममा उजुरीमा भनेजस्तै दूधको फ्याट र एसएनएफ अर्थात् दूधबाट पानी र फ्याट निकालेपछि बाँकी रहने ठोस तत्वहरूको कुल मात्राका आधारमा ठगी हुन सक्ने धेरै छिद्रहरू देखिए। सीआईबीमै रहेको आर्थिक तथा वित्तीय अपराध महाशाखाले यो उजुरीमाथि थप अनुसन्धान अघि बढायो।
दूध किसानलाई लिटरका आधारमा नभई दूधको फ्याट र एसएनएफको आधारमा रकम भुक्तानी गर्ने गरेको विषय खुल्यो। दूध खरिद गर्दा त्यसमा रहेको चिल्लो पदार्थ (फ्याट) र त्यसबाट उत्पादन हुन सक्ने घिउको मात्रा हेर्ने गरिन्छ। त्यस्तै, एसएनएफ परीक्षणबाट दूधको पौष्टिकता, ताजापन, राम्ररी चिस्याइएको छ वा छैन र उपभोग गर्न योग्य छ कि छैन भन्ने जाँच गरिन्छ।
फ्याट र एसएनएफको प्रतिशतका आधारमा डीडीसीले किसानलाई रकम भुक्तानी गर्ने गरेको पाइयो। तर फ्याटको प्रतिशत कति छ, एसएनएफको प्रतिशत कति छ भन्नेबारे किसानलाई केही पनि जानकारी नदिने गरेको सीआईबीको अनुसन्धानमा खुल्यो।
‘यही फ्याट र एसएनएफको मात्रा किसानलाई कम भन्ने, तर अफिसको रेकर्डमा भने जति छ त्यति नै राखेर ठगी गर्ने गरेको देखियो’, सीआईबीका निर्देशक तथा एआईजी उमाप्रसाद चतुर्वेदीले भने।
सीआईबीको प्रारम्भिक अनुसन्धानमै ठगी भएको देखिएपछि १३ जेठमा सीआईबीले डीडीसीको केन्द्रीय कार्यालय लैनचौर र काठमाडौँ दुग्ध वितरण आयोजना बालाजुमा छापा मारेर कागजात उठाएको थियो।
कागजात उठाएको पाँच महिनासम्म सीआईबीले कसैलाई पनि पक्राउ गरेन। ‘हामीले पाँच महिनासम्म सूक्ष्म रूपमा अध्ययन गर्यौँ। बरामद गरिएका कागजात केलायौँ। हाम्रो प्रारम्भिक अनुसन्धानलाई बरामद कागजातले थप पुष्टि गर्यो। अनि ५ महिनापछि बल्ल अपरेसन चलाएका हौँ’, एआईजी चतुर्वेदी भन्छन्।

यो ठगीमा मुख्य गरी दूध उत्पादक सहकारी संस्था तथा चिस्यान केन्द्रहरू मिलेर फ्याट र एसएनएफको मात्रा किसानलाई कम देखाएर रकम ठगी हुने गरेको सीआईबी अनुसन्धानको निष्कर्ष छ।
दूध उत्पादक सहकारी संस्थाहरूले किसानको दूध सङ्कलन गरेर डीडीसीलाई दिने गर्छन्। उनीहरूलाई समेत प्रयोग गरेर डीडीसीका कर्मचारीकै मिलेमतोमा ठगी भएको सीआईबीले बताएको छ।
यसका लागि डीसीडीकै कर्मचारीको मिलेमतोमा आफन्तका नाममा दूध सङ्कलन संस्था खोलेर काम गर्ने गरेको समेत पाइएको छ।
कतिपय ठाउँमा भने डमीका रूपमा यस्ता दुग्ध उत्पादक सहकारी संस्थासमेत खोलिएको खुलेको छ। २०७८ सालदेखि यसरी दूध किसानलाई फ्याट र एसएनएफको मात्रा कम देखाएर कम रकम दिने, तर अफिसियल रेकर्डमा भने वास्तविक फ्याट र एसएनएफको प्रतिशत राखेर कर्मचारीले रकम बुझ्ने गरेको सीआईबीका एक अधिकारी बताउँछन्।
१३ कात्तिकदेखि अपरेसन चलाएर पक्राउ परेकाविरुद्ध सीआईबीले आपराधिक विश्वासघात गर्न नहुने कसुर र सङ्गठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ।
बाबुछोरासहित ९ जना पक्राउ
यो प्रकरणमा अहिलेसम्म ९ जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका–३ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ४५ वर्षीय सञ्जीव झा, सिरहाको सिरहा नगरपालिका–१ घर भएका ४६ वर्षीय विजयकुमार यादव र पर्वतको मोदी गाउँपालिका–४ घर भई तारकेश्वर नगरपालिका–६ बस्ने ५५ वर्षीय मनहरी शर्मा रहेका छन्।
त्यस्तै, सर्लाही घर भई चितवनको भरतपुर महानगरपालिका–५ बस्ने २८ वर्षीय जितेन्द्रकुमार यादव, सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ घर भएका ३२ वर्षीय नवीन राय यादव, सोही गाउँपालिका–५ का ४६ वर्षीय शिवनन्दन राय, सिन्धुपाल्चोकको कालिका गाउँपालिका–७ का ४८ वर्षीय विखबहादुर भण्डारी र सर्लाहीको रामनगर गाउँपालिका–३ का ४५ वर्षीय नवीनकिशोर शर्मा पनि पक्राउ परेका छन् ।
त्यस्तै, सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–५, कल्याणपुर बस्ने तत्कालीन चनौली चिस्यान केन्द्रका इन्चार्ज ४९ वर्षीय रामकेवल रायलाई प्रहरीले सर्लाहीबाटै पक्राउ गरेको छ। उनी पक्राउ पर्दा काठमाडौँ दुग्ध वितरण आयोजना सङ्कलन केन्द्रका जुनियर टेक्निकल असिस्टेन्टको जिम्मेवारीमा थिए ।
पक्राउ परेकामध्ये सञ्जीव डीडीसीका तत्कालीन महाप्रबन्धक हुन्। अहिले भने उनी डीडीसीको केन्द्रीय कार्यालय लैनचौरको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत थिए।
विजयकुमार भने सिम्ले चिस्यान केन्द्रका इन्चार्ज थिए। अहिले भने उनी दुग्ध वितरण आयोजना बालाजुमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत थिए।

त्यसैगरी मनहरी भने भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज थिए। पछिल्लो समय उनी डीडीसीको मुख्य कार्यालय लैनचौरमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत थिए। रामकेवल भने चौलानी चिस्यान केन्द्रका इन्चार्ज थिए। पछिल्लो समय उनी काठमाडौँ दुग्ध वितरण आयोजना सङ्कलन केन्द्रमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत थिए।
जितेन्द्रकुमार भरपाई पदका कर्मचारी हुन्। उनी पछिल्लो समय बागमती धुलो दूध कारखाना हेटौंडामा कार्यरत थिए। नवीन राय डेरी ब्वाई पदका कर्मचारी हुन्। उनले गरुडा र नवलपुर चिस्यान केन्द्रमा प्रमुख भएर काम गरेका थिए।
शिवनन्दन भने दैनिक पारिश्रमिक पदका कर्मचारी हुन्। उनी माडी चिस्यान केन्द्रमा कार्यरत थिए। विखबहादुर डीडीसीका जुनियर टेक्निकल असिस्टेन्ट हुन्। उनी माडीको चिस्यान केन्द्र इन्चार्ज भएर काम गरेका थिए।
पछिल्लोपटक २७ कात्तिकमा भैँसेपाटीबाट पक्राउ परेका नवीनकिशोर भने विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख हुन्।
सीआईबीका अनुसार पक्राउ परेका ९ जनामध्ये ७ जना स्थायी कर्मचारी हुन्। दुईजना भने दैनिक ज्यालादारी र भरपाई पदका अस्थायी कर्मचारी हुन्।
सीआईबीका अनुसार पक्राउ परेकामध्ये रामकेवल र जितेन्द्र बाबुछोरासमेत हुन्। शिवनन्दन भने रामकेवलकै भतिज हुन्।
कर्मचारीका खातामा १२ करोड बढी
पक्राउ परेका कर्मचारीको खातामा यसरी ठगी गरेको रकम जाने गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ।
जितेन्द्रको बैंक खातामा मात्रै १ करोडभन्दा बढी रकम गएको देखिएको सीआईबी स्रोतले बतायो। शिवनन्दनको बैंक खातामा पनि २ करोड बढी रकम गएको सीआईबीले पत्ता लगाएको छ।
सीआईबीको सोधपुछमा उनीहरूले यो कुरा स्वीकारसमेत गरेको प्रहरीले बताएको छ। यता पक्राउ परेका नवीन रायले भने तत्कालीन महाप्रबन्धक सञ्जीवको खातामा रकम जम्मा गर्ने गरेको देखिएको छ।
उनीहरूले कर्मचारीको तहअनुसार प्रतिशत निर्धारण गरेर रकम बाँडफाँट गर्ने गरेको एक अनुसन्धान अधिकारी बताउँछन्।
‘कर्मचारीको तहअनुसार प्रतिशत निर्धारण गरेर रकम बाँडफाँट गर्ने गरेको देखिएको छ’, एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘सोहीअनुसार बैंक खातामा रकम जम्मा भएको प्रमाणसमेत भेटिएको छ।’
अहिलेसम्मको अनुसन्धानमा १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ कर्मचारीहरूले गैरकानुनी लाभ लिएको देखिएको छ। अहिलेसम्म विशेषगरी बालाजु र सर्लाहीको मात्रै अनुसन्धान भएकाले यो रकमसँगै प्रतिवादीको सङ्ख्या पनि बढ्न सक्ने सीआईबीले सङ्केत गरेको छ।
प्रतिक्रिया 4