८ मंसिर, सल्यान । बिहान उठेदेखि नै पानीको जोहो गर्नुपर्ने, घरको काम छाडेर पँधेरो पुग्नुपर्ने र कहिलेकाहीँ मध्यरातसम्म पानीकै प्रतीक्षामा बिताउनुपर्ने बाध्यता। शारदा नगरपालिका–९ का नयाँबस्ती, सानीगारे र धिरुवा गाउँका स्थानीयले वर्षौँदेखि यस्तै सास्ती भोग्दै आएका थिए। अहिले भने घरघरमा खानेपानीको धारा पुगेपछि उनीहरूको दैनिकी फेरिएको छ।
नयाँबस्तीकी खिमी पुनलाई अहिले पानी लिन घर छाडेर टाढा जानुपर्दैन। आँगनमै रहेको धाराबाट आवश्यक पानी लिन पाउँदा घरायसी कामदेखि पशुचौपायाको हेरचाह र करेसाबारीमा सिँचाइ गर्नसमेत सहज भएको छ। विगतमा डोकोमा गाग्री बोकेर करिब दुई घण्टा हिँड्नुपर्ने अवस्था सम्झँदै उनी घरमै धारा पुगेपछि ठूलो राहत मिलेको बताउँछिन्।
‘पहिले पानी लिन दुई घण्टा तलसम्म जानुपर्थ्यो। डोकोमा गाग्री बोकेर पानी ल्याउन निकै दुःख हुन्थ्यो। अहिले घरकै आँगनमा धारा आएको छ। घरको काम गर्न, गाईबस्तुलाई पानी खुवाउन र करेसाबारीमा पानी लगाउन सजिलो भएको छ। अब पानीकै लागि दुःख गर्नुपर्ने अवस्था हटेको छ’, उनले भनिन्।
हिरा पुन थापाका लागि पनि घरमा धारा आउनु जीवनशैलीमै आएको परिवर्तन हो। पहिले वर्षात्को समयमा छानाबाट झरेको पानीसमेत गाग्री, ड्रम र जर्किनमा जम्मा गरेर प्रयोग गर्नुपर्ने अवस्था थियो। पानीको अभावमा घरायसी काम व्यवस्थापन गर्न निकै कठिन हुने गरेको उनको अनुभव छ। अहिले आवश्यक पर्दा धाराबाटै पानी लिन पाएपछि पुराना दुःख हटेको उनी बताउँछिन्।
‘पहिले आकाशबाट पानी पर्दा पनि छानाबाट झरेको पानी गाग्री, ड्रम र जर्किनमा जम्मा गरेर राख्थ्यौँ। त्यही पानीले कपडा धुने, भाँडा माझ्ने र गाईबस्तुलाई खुवाउने गर्नुपर्थ्यो। अहिले घरमै धारा आएपछि चाहिएको बेला पानी प्रयोग गर्न पाएका छौँ। धेरै सहज भएको छ’, उनले भनिन्।
खानेपानीको अभावले विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको थियो। पानी ओसार्नमै समय बिताउनुपर्ने हुँदा पढाइ र व्यक्तिगत सरसफाइका लागि पर्याप्त समय निकाल्न समस्या हुने गरेको थियो। विद्यार्थी रेजिना गिरीका अनुसार घरमै पानी आएपछि सरसफाइ गर्न सहज भएको छ भने पढाइका लागि पनि समय बचत भएको छ।
‘पहिले पानी बोक्नमै धेरै समय बिताउनुपर्थ्यो। त्यसले गर्दा पढाइ र सरसफाइमा पनि समस्या हुन्थ्यो। अहिले घरमै पानी आएपछि समय बचत भएको छ। पढाइ गर्न र आफ्नो सरसफाइमा ध्यान दिन सजिलो भएको छ’, उनले भनिन्।
खानेपानीको चरम अभाव झेल्दै आएका यी तीन बस्तीको समस्या समाधानका लागि २०७४ सालदेखि नै पहल थालिएको थियो। तर, मुहानसम्बन्धी विवादका कारण आयोजना कार्यान्वयन हुन सकेको थिएन।
शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीका अनुसार आयोजना अघि बढाउन बजेट विनियोजन भइसकेको भए पनि मुहानको विवाद र राजनीतिक खिचातानीका कारण लामो समयसम्म काम अगाडि बढ्न सकेको थिएन। आफू निर्वाचित हुनुअघि नै स्थानीयको समस्याबारे जानकारी पाएको र उनीहरूलाई खानेपानी उपलब्ध गराउने प्रतिबद्धता गरेको उनले बताए। निर्वाचित भएपछि विवाद समाधान गरी आयोजना कार्यान्वयनमा विशेष पहल गरेको उनको भनाइ छ।
‘यो आयोजना अघि नै बजेट विनियोजन भएको थियो। तर, मुहानसम्बन्धी विवाद र राजनीतिक खिचातानीका कारण अगाडि बढ्न सकेको थिएन। म निर्वाचित हुनुभन्दा अगाडि नै यहाँको समस्या सुनेको थिएँ। त्यसबेला स्थानीयलाई पानी खुवाउने प्रतिबद्धता गरेको थिएँ। यहाँ मेरी आमाजस्तै आमाहरू कुमका छाला जाने गरी घण्टौँ लगाएर पानी बोक्न बाध्य हुनुहुन्थ्यो। विद्यालय जाने भाइबहिनीहरूले समेत पानी बोक्नमै समय खर्चिनुपर्थ्यो। यो अवस्थाको अन्त्य गर्नुपर्छ भनेर मैले विशेष पहल गरी आयोजना अगाडि बढाएँ। अहिले घरघरमा धारा पुगेको छ। आफ्नो प्रतिबद्धता पूरा गर्न पाउँदा खुसी लागेको छ’, उनले भने।
पूर्वभौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले आफू प्रदेश सरकारको अर्थमन्त्री हुँदा स्थानीयको खानेपानी समस्या देखेर आयोजना निर्माणका लागि बजेट विनियोजन गरेको बताए। विभिन्न विवादका कारण लामो समयसम्म योजना कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले नगरपालिकाको नयाँ नेतृत्वले विशेष पहल गरेर आयोजना सम्पन्न गरेको बताए।
‘म प्रदेश सरकारको अर्थमन्त्री हुँदा यहाँको खानेपानी समस्या प्रत्यक्ष देखेर पानी ल्याउनका लागि बजेट विनियोजन गरेको हुँ। तर विभिन्न विवादका कारण लामो समयसम्म योजना कार्यान्वयन हुन सकेन। लामो समयपछि शारदा नगरपालिकाको नयाँ नेतृत्वले विशेष पहल गरेर आयोजना सम्पन्न गरेको छ। यसले स्थानीयवासीको वर्षौँदेखिको खानेपानी समस्या समाधान गर्न ठूलो राहत पुगेको छ’, उनले भने।
संघीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य र समन्वय हुन सके मात्रै विकास निर्माणका काम प्रभावकारी रूपमा सम्पन्न गर्न सकिने पनि ज्वालाको भनाइ छ।
मानव बस्तीभन्दा करिब दुई किलोमिटर तल हरलेखोलामा रहेको पानी लिफ्ट प्रविधिमार्फत झण्डा हानेको डाँडामा पुर्याएर घरघरमा वितरण गरिएको छ। कर्णाली प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत दुई करोड १५ लाख रुपैयाँ लागतमा आयोजना निर्माण गरिएको हो। २०८० वैशाखमा सम्झौता भई निर्माण सुरु भएको आयोजना २०८१ कात्तिकमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न भएको थियो।
निर्माण सम्पन्न भएको करिब दुई वर्षपछि विभिन्न कारणले आयोजनाको उद्घाटन गरिएको हो। आयोजनाबाट अहिले नयाँबस्ती, सानीगारे र धिरुवाका ७१ घरधुरी लाभान्वित भएका छन्।
वर्षौंसम्म पानीको जोहो गर्न घण्टौँ बिताउनुपर्ने बाध्यता भोगेका स्थानीयका लागि घरको आँगनमै धारा पुग्नु केवल खानेपानीको सुविधा मात्र बनेको छैन, समयको बचत र सहज जीवनयापनको आधारसमेत बनेको छ।
प्रतिक्रिया 4