८ मंसिर, काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले १६ डिसेम्बरमा भारतबाट आफ्नो देश फर्कने घोषणा गरेकी छन् ।
१६ डिसेम्बरको दिनलाई बंगलादेशमा विजय दिवसको रूपमा मनाइन्छ । पाकिस्तानसँगको युद्धपछि सन् १९७१ मा यसै दिन बंगलादेशले स्वतन्त्रता प्राप्त गरेको थियो।
समाचार एजेन्सी एसोसिएटेड प्रेस एपीका अनुसार मंगलबार आफ्नो फिर्ताको मिति घोषणा गर्दै हसिनाले वर्तमान प्रधानमन्त्री तारिक रहमानलाई राष्ट्रिय एयरलाइन मार्फत आफ्नो फिर्ताको व्यवस्था गर्न अपिल गरेकी छिन् ।
हसिनाका प्रवक्ता सैयद मोजामेल अलीले एक विज्ञप्तिमा भनेका छन्, ‘५ अगस्ट २०२४ मा शेख हसिनालाई बंगलादेशको विमानबाट भारत ल्याइएको थियो । अब उनी दिल्लीबाट ढाकाको हवाई यात्राको व्यवस्था गर्न सरकारलाई अपिल गर्छिन् ।’
‘उनले बंगलादेश फर्कन १६ डिसेम्बरको दिन रोज्नु धेरै महत्त्वपूर्ण छ,’ हसिनाका सहयोगी अबु ओबैदा अरिनले एपीलाई भनेका छन् ।
हसिनाको फिर्ती पछि, उनको नेतृत्वमा बंगलादेश फेरि शान्ति, स्थिरता र प्रगतिको बाटोमा अगाडि बढ्ने कुरामा उनी विश्वस्त रहेको पनि अरिनले बताए ।
हसिना अगस्ट ५, २०२४ मा भारत आएकी थिइन् । त्यतिबेला विद्यार्थी आन्दोलनका कारण सयौं प्रदर्शनकारीको मृत्यु भएको कारणले गर्दा उनी १५ वर्षे शासन त्याग्न बाध्य भएकी थिइन् ।
मानवता विरुद्धको अपराधका लागि हसिनालाई उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।
उनले उक्त फैसला अस्वीकार गरेकी छिन् र बंगलादेश फर्किएपछि मुद्दाको आफ्नो पक्ष प्रस्तुत गर्ने बताउँछिन्।
प्रतिक्रिया 4