८ मंसिर, पाँचथर । मेची राजमार्गमा पर्ने पौवाभञ्ज्याङबाट केही उकालो यात्रा गरेपछि पुगिन्छ सिलौटी। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संगमका रूपमा रहेको सिलौटी पूर्वी नेपालको एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो। राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको समाधिस्थलसमेत रहेको यो ठाउँ धार्मिक तथा ऐतिहासिक दृष्टिले विशेष महत्त्व राख्छ।
महागुरु फाल्गुनन्दले ध्यान र तपस्या गरेको स्थलका रूपमा परिचित सिलौटीको प्राकृतिक सुन्दरताले पनि यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ। यहाँबाट कञ्चनजङ्घा, फक्ताङ्लुङ र मकालुजस्ता हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ। मौसम खुलेका बेला टाढाटाढासम्म फैलिएको पहाडी भूगोल र हिमालको दृश्यले सिलौटीलाई थप आकर्षक बनाउँछ।
धार्मिक महत्त्वका कारण यहाँ हरेक वर्ष देशका विभिन्न भाग तथा विदेशबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्छन्। धार्मिक यात्रासँगै प्राकृतिक दृश्यावलोकनका लागि आन्तरिक पर्यटकको आवागमन पनि हुने गरेको छ। मेची राजमार्गबाट नजिकै रहेकाले यहाँ पुग्न सहज छ।
समुद्र सतहबाट करिब दुई हजार ६ सय मिटर उचाइमा रहेको सिलौटी सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि पनि उपयुक्त गन्तव्य मानिन्छ। धार्मिक आस्था, ऐतिहासिक विरासत र प्राकृतिक सुन्दरताले सिलौटीलाई पाँचथरको विशिष्ट गन्तव्यका रूपमा चिनाएको छ। छोटो पदयात्रा गर्न चाहनेहरूका लागि समेत यो ठाउँ आकर्षक विकल्प बन्न सक्छ ।






प्रतिक्रिया 4