८ मंसिर, सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिकाले बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गर्न लागेको पोषणसम्बन्धी कार्यक्रमको आशयपत्र (ईओआई) आह्वान प्रक्रिया रद्द गरेको छ।
नगरपालिकाले गत कात्तिक २० गते २ करोड ९३ लाख रुपैयाँको लागतमा कार्यक्रम सञ्चालन गर्न परामर्श सेवा उपलब्ध गराउने योग्य संस्था, कम्पनी तथा फर्मबाट आशयपत्र माग गरेको थियो। नेपाल सरकार राष्ट्रिय योजना आयोगबाट प्राप्त विशेष अनुदानमार्फत कार्यक्रम सञ्चालन गर्ने तयारी थियो।
नगरपालिकाले मंसिर ७ गते दिउँसो १२ बजेसम्म हार्डकपीमार्फत आशयपत्र पेस गर्ने समयसीमा तोकेको थियो। तर, त्यसअघि नै मंसिर ४ गते सूचना प्रकाशित गरी आशयपत्र आह्वान प्रक्रिया रद्द गरेको हो। रद्दसम्बन्धी सूचना निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर यादवले जारी गरेका थिए।
आशयपत्र आह्वान प्रक्रिया रद्द गर्नुको कारणबारे यादवले टेन्डर खरिद प्रक्रिया नै त्रुटिपूर्ण रहेकाले सूचना रद्द गरिएको बताए। उनका अनुसार परामर्श सेवा र खरिद सेवाका लागि छुट्टाछुट्टै सूचना आह्वान गर्नुपर्नेमा एउटै प्रक्रियाबाट अघि बढाइएको थियो।
यता, नगरपालिकाका केही कर्मचारीले भने कार्यक्रम सञ्चालनको लागत र त्यसमा बाह्य परामर्शदाता नियुक्त गर्ने प्रक्रियाबारे प्रश्न उठाएका छन्। उनीहरूका अनुसार नेपालमा पोषण क्षेत्रमा काम गर्ने सेवा प्रदायक संस्था सीमित छन्। कार्यक्रम पालिकामै उपलब्ध जनशक्तिबाट सञ्चालन गर्न सके ५० देखि ५४ लाख रुपैयाँमै लक्षित वर्गसम्म सेवा पुर्याउन सकिने उनीहरूको दाबी छ।
कार्यक्रममा केही स्वार्थ समूह सक्रिय रहेको र आगामी स्थानीय तह निर्वाचनका कारण विवादमा पर्ने आशङ्काले कर्मचारीले आशयपत्र आह्वान प्रक्रिया बीचमै रद्द गरेको ती स्रोतको भनाइ छ। यद्यपि, नगरपालिकाले आशयपत्र रद्द गर्नुको विस्तृत कारणसहितको सूचना सार्वजनिक गरेको छैन।
बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार गर्ने उद्देश्यले ल्याइएको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सके मातृ तथा बाल स्वास्थ्य सुधार, कुपोषण न्यूनीकरण र पोषणसम्बन्धी जनचेतना अभिवृद्धिमा सहयोग पुग्न सक्छ। तर, कार्यक्रमको लागत, परामर्श सेवा खरिदको औचित्य र कार्यान्वयनको विधिबारे स्पष्टता नहुँदा यसको पारदर्शिता र प्रभावकारितामाथि प्रश्न उठेको छ।

प्रतिक्रिया 4