+
+
Shares

सुनकोशी मरिन डाइभर्सन ठेक्का रद्दबारे सांसदका ८ प्रश्न

राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ बोलपत्र अन्तिम चरणमा पुगेर रद्द गरिएपछि सार्वजनिक लेखा समितिले सात दिनभित्र आवश्यक कागजात मगाएको छ। प्रक्रियाको कानुनी आधार, भूतप्रभावी नियमावलीको प्रयोग, राज्य र मधेसका किसानले बेहोर्नुपरेको क्षति तथा प्रधानमन्त्री कार्यालयको संलग्नतालगायत आठ महत्त्वपूर्ण प्रश्नमाथि समितिमा गम्भीर छलफल भएको छ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८३ मंसिर ८ गते १५:४८

७ मङ्सिर, काठमाडौँ। राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया रद्द गरिएको विषयले संसदीय समितिमा प्रवेश पाएको छ। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रारम्भिक छलफल गरेर यससँग सम्बन्धित कागजात नै मगाएको छ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशील आचार्यलगायतसँग छलफल गरेपछि लेखा समितिले कागजात माग गर्ने निर्णय गरेको हो।

‘म सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन गर्दछु,’ समिति सभापति भरतबहादुर खड्काले भनेका छन्, ‘कागजात प्राप्त भएपछि हामी थप अध्ययन गरेर यो विषयको निरूपण गर्नेछौँ।’

यस्तो निर्णयमा पुग्नुअगाडि लेखा समितिमा करिब एक घण्टा छलफल भएको थियो। छलफलमा नयाँ ठेक्का रद्दको निर्णय, पुरानो ठेक्का तोडिएको पृष्ठभूमि, राज्य र नागरिक दुवैलाई हुन सक्ने आर्थिक क्षति, नियमावलीको भूतप्रभावी प्रयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हस्तक्षेप भए/नभएको विषय उठे।

आयोजनाको नयाँ बोलपत्र प्रक्रिया अन्तिम चरणमा पुगेपछि ठेक्का रद्द गरिएको भनेर लेखा समितिमा निवेदन परेको छ। सोही निवेदनका आधारमा लेखा समितिको बैठक बसेको हो। बैठकमा मुख्यतः आठवटा प्रश्न उठे।

१. प्रक्रिया अन्तिम चरणमा पुगेपछि ठेक्का किन रद्द गरियो ?

आयोजनाले २०८३ जेठ २५ गते सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। बोलपत्र प्रक्रियामा सहभागी कम्पनीमध्ये तीन कम्पनी प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका थिए। तिनको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला कात्तिक दोस्रो साता बोलपत्र प्रक्रिया रद्द गरियो।

आयोजनाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३(२) को व्यवस्थालाई आधार बनाउँदै बोलपत्र रद्द गरेको जनाएको छ।

‘तर प्राविधिक मूल्याङ्कन पूरा भइसकेको र आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगिसकेको प्रक्रिया किन रद्द गर्नुपर्‍यो ?’ नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीको प्रश्न छ, ‘खरिद कारबाही रद्द गर्दा आयोजनाको लागत र समयावधि तथा राज्यको सार्वजनिक कोषमा पर्ने क्षतिको दायित्व कसले बेहोर्छ ?’

यही प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाको पनि छ। उनको प्रश्न छ, ‘१३.३ किलोमिटर टनेल पनि मे २०२४ मै ब्रेक थ्रु भइसक्यो। तर त्यसको दुई वर्षभन्दा बढी समय भइसक्दा पनि काम अगाडि बढेको छैन। यो नबढ्नुको कारण के हो ? बन्द हुने के स्थिति हो ? र आगामी वे फरवार्ड के हो ?’

नेपाली कांग्रेसका सांसद जनकराज गिरीले थपे, ‘प्रक्रिया पुनः सुरु गर्दा समय, लागत र प्रतिस्पर्धामा सहभागी कम्पनीको हितमा के असर पर्छ ?’

२. बोलपत्र आह्वान भइसकेपछि संशोधित नियम लागू गर्न मिल्छ ?

नयाँ सार्वजनिक खरिद नियमावलीको संशोधनलाई पुरानो प्रक्रियामा लागू गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्न पनि संसदीय समितिमा उठेको छ।

भूतप्रभावी नियमावलीबारे व्याख्या गर्दै सांसद मनीष झाले यसलाई परीक्षासँग जोडे।

‘बिड दिइसक्यो, प्रोजेक्ट अगाडि बढिसक्यो, टनेल ब्रेक थ्रु भइसक्यो अनि त्यसपछि तपाईं कानुन परिवर्तन गर्नुहुन्छ। अनि कानुनमा भएको परिवर्तन त्यसमा कसरी लागू हुन्छ ?’ मनीष झाको प्रश्न छ, ‘मैले एक्जाम दिएर, प्रश्नपत्रको जवाफ लेखिसकेपछि, कोइसनको जवाफ दिइसकेपछि, एन्सर पेपर बुझाइसकेपछि तपाईं प्रश्न बदल्न पाउनुहुन्छ ? त्यो कसरी लागू हुन्छ ?’

बोलपत्र आह्वान भइसकेको, प्राविधिक प्रस्ताव मूल्याङ्कन भएको र आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको प्रक्रियामा पछि संशोधन भएको नियमावली लागू गरेर ठेक्का रद्द गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा रास्वपाकै अर्का सांसद गणेश धिमालले पनि स्पष्ट कानुनी आधार खोजेका छन्।

‘एउटा प्रक्रिया सुरु भइसक्यो, सुरु भइसकेर फेरि बीचैमा अर्को १५औँ संशोधन- १५औँ उसबाट सुधार गरियो। फेरि १६औँ संशोधनलाई आधार बनाएर (रद्द गरियो),’ सांसद धिमालले भने, ‘भूतप्रभावी कानुनबाट सिर्जित समस्याबाट भोलि आउने जटिलताहरू के–के हुन सक्छन् ? यो बहुत छलफलको विषय हो। हामी सबैले यसलाई मिहीन रूपमा अध्ययन गर्नुपर्ने देखिन्छ।’

नेकपाका सांसद महेन्द्र शाहीले पनि खरिद प्रक्रिया सुरु भइसकेपछि नियमावली संशोधन भएको अवस्थामा पुरानो बोलपत्रमा नयाँ व्यवस्था लागू गर्नुपर्ने कानुनी औचित्य के हो भनेर प्रश्न गरे।

उनी भन्छन्, ‘बहुवर्षीय आयोजनाको ठेक्का प्रक्रिया नियम परिवर्तनका नाममा रद्द गरेर पुनः सुरु गर्ने प्रवृत्तिले आयोजना सञ्चालनमा असर पार्न सक्छ। यसकारण पनि यसको कानुनी आधार र तथ्य स्पष्ट हुन आवश्यक छ।’

३. १६औँ संशोधनको व्यवस्था उल्लङ्घन भएको थियो कि थिएन ?

संसदीय समितिमा उपस्थित जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले बोलपत्र रद्द गर्ने निर्णय कानुनसम्मत भएको दाबी गरेका छन्।

उनका अनुसार सार्वजनिक खरिद नियमावलीको १६औँ संशोधनअनुसार जटिल प्रकृतिका संरचनाको खरिदमा रेटेड प्वाइन्ट क्राइटेरिया अपनाउनुपर्ने व्यवस्था छ। एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागतका जटिल संरचनाको खरिदमा निर्माण व्यवसायीको प्राविधिक क्षमता, अनुभव र कार्यसम्पादनको समग्र मूल्याङ्कन गर्नुपर्ने भएकाले उक्त व्यवस्था लागू गर्न आवश्यक रहेको उनको तर्क छ।

पुरानो मूल्याङ्कन पद्धतिभन्दा रेटेड प्वाइन्ट क्राइटेरियाबाट निर्माण व्यवसायीको क्षमता थप प्रभावकारी रूपमा मूल्याङ्कन गर्न सकिने उल्लेख गर्दै कानुनी जटिलता नआओस् र सक्षम निर्माण व्यवसायी छनोट होस् भन्ने उद्देश्यले बोलपत्र रद्द गरेर पुनः प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाइएको रजौरियाको प्रस्टीकरण छ।

उनले भनेका छन्, ‘एभरेज प्राइसिङमा आधारित मूल्याङ्कन विधिभन्दा रेटेड प्वाइन्ट क्राइटेरियामा आधारित मूल्याङ्कन विधिबाट प्राविधिक क्षमता, अनुभव, कार्यसम्पादन क्षमता तथा अन्य निर्धारित मापदण्ड समग्र रूपमा मूल्याङ्कन गर्न सकिने भएकाले जटिल प्रकृतिको संरचनाको निर्माणका लागि उपयुक्त तथा सक्षम निर्माण व्यवसायी छनोट गर्न थप आधार प्राप्त हुने अपेक्षा गरिएको हो।’

यसबाट आयोजनाको गुणस्तर, निर्माण कार्यको प्रभावकारिता, समयमै सम्पन्न गर्ने सम्भावना र सार्वजनिक खर्चको सदुपयोग सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास लिइएको रजौरियाको दाबी छ।

यहाँनेर उनले भनेका छन्, ‘व्यक्तिगत वा कुनै पक्षविशेषको हितलाई ध्यानमा राखेर नभई प्रचलित सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थाको पालना, प्रतिस्पर्धात्मक खरिद प्रणालीको सुनिश्चितता, आयोजना निर्माणको गुणस्तर तथा अन्ततः राष्ट्रको सार्वजनिक हितलाई केन्द्रमा राखेर उक्त बोलपत्र प्रक्रिया रद्द गर्ने निर्णय गरिएको व्यहोरा सम्मानित समितिसमक्ष स्पष्ट पार्न चाहन्छु।’

तर सांसदहरूले यस्तो जवाफमा चित्त बुझाएनन्।

‘संशोधन लागू गर्ने समय, बोलपत्र प्रक्रियाको अवस्था र नियमावलीको व्यवस्थालाई कुन आधारमा उक्त प्रक्रियामा लागू गरिएको हो भन्ने विषयमा स्पष्टता हुन सकेन,’ नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले भनेका छन्, ‘यसकारण यहाँको जवाफबाट चित्त बुझाउन सकिने अवस्था रहेन।’

४. ठेक्का रद्द गर्दा राज्यलाई कति आर्थिक क्षति भयो ?

नेपाली कांग्रेसका सांसद जनकराज गिरीले यो ठेक्का रद्द गर्दा राज्यलाई आर्थिक क्षति भएको वा हुन सक्ने क्षतिका विषयमा जवाफ खोजेका छन्।

‘ठेक्का रद्दको घटना सार्वजनिक वित्तीय अनुशासनसँग जोडिएको विषय हो,’ उनले भनेका छन्, ‘राष्ट्रिय गौरवका आयोजना नीति, नियम वा कानुन परिवर्तनको नाममा बारम्बार रोक्ने र ठेक्का रद्द गर्ने प्रवृत्ति उचित होइन। यस्तो प्रवृत्तिले राज्यलाई ठूलो आर्थिक क्षति पुर्‍याउँदछ।’

उनले अघिल्लो ठेक्का तोडिएको अवस्थामा नयाँ ठेक्का प्रक्रियाबाट निर्माण लागतमा कति वृद्धि हुन्छ, समय कति लम्बिन्छ र राज्यले कति आर्थिक भार बेहोर्नुपर्छ भन्ने प्रश्न पनि गरेका छन्।

नेकपाका सांसद महेन्द्र शाहीले आर्थिक प्रस्ताव नखोली बोलपत्र रद्द गर्दा राज्यलाई पर्ने आर्थिक क्षति, समयको लागत र अघिल्लो ठेक्कासँग जोडिएका आर्थिक दायित्वबारे सरकारले जवाफ दिनुपर्ने माग गरे।

जवाफमा ऊर्जा मन्त्रालयका सहसचिव सुशील आचार्यले तत्काल आर्थिक क्षतिको विस्तृत आकलन गर्न नसकिने बताए। उनका अनुसार बोलपत्र रद्दबाट भएको आर्थिक नोक्सानीको तत्काल यकिन गर्न कठिन छ।

‘एउटा बिड क्यान्सिल भएर अब अर्को बिडमा जाँदाखेरि अब ठूलो आर्थिक नोक्सानी भएको भन्ने जुन कुरा छ,’ उनले भनेका छन्, ‘त्योचाहिँ अहिले निर्क्योल गर्न नसकिनेजस्तो लाग्छ मलाई।’

सहसचिव आचार्यले पुरानो ठेकेदारका केही बन्ड जफत भइसकेको र केही जफत गर्ने प्रक्रियामा रहेको पनि जानकारी दिए।

५. अघिल्लो ठेक्का तोडिनुसँग नयाँ विवादको सम्बन्ध के हो ?

सुनकोशी मरिनमा पछिल्लो समयमा देखापरेको विवाद बुझ्न अघिल्लो ठेक्का तोडिएको घटना बुझ्नुपर्ने भनेर पनि सांसदहरूले संसदीय समितिमार्फत सरकारको ध्यानाकर्षण गरेका छन्।

यो आयोजनाको सुरुवाती निर्माण कार्य पटेल–रमण जेभीसँग जोडिएको थियो। अघिल्लो ठेक्का तोडिएपछि बाँकी कामका लागि नयाँ ठेक्का प्रक्रिया अघि बढाइएको थियो। तर नयाँ ठेक्का प्रक्रिया पनि अन्तिम चरणमा पुगेर रद्द भएपछि अघिल्लो ठेक्का तोडिएको निर्णय र त्यससँग जोडिएका आर्थिक दायित्वको विषयमा सांसदहरूले स्पष्टता खोजेका हुन्।

सांसद झाले भनेका छन्, ‘बिड क्यान्सिल किन गरियो ? २०८२ कात्तिक २५ गते (अघिल्लोपटकको टेन्डर रद्द) यो बिड क्यान्सिल गरिएको छ। संक्रमणकालीन सरकारका बेलामा बिड क्यान्सिल भएको छ। जेन–जी आन्दोलनपश्चात् निर्वाचनको बीचमा जिम्मेवार को–को हुनुहुन्थ्यो ? गर्ने कारण के ? त्यो पनि अध्ययन गर्न आवश्यक छ।’

कांग्रेस सांसद जनकराज गिरीले अघिल्लो ठेक्का तोडिएपछि ठेकेदारबाट क्षतिपूर्ति असुली, बाँकी काम पुनः ठेक्का गर्दा लाग्ने अतिरिक्त लागत र बैंक जमानत जफतको प्रक्रिया कति प्रभावकारी रूपमा अघि बढ्यो भनेर सोधेका छन्।

उनले पुरानो ठेकेदारसँगको ठेक्का तोडिएको घटनाबाट राज्यले कति रकम प्राप्त गर्‍यो, कति रकम जफत भयो र कति आर्थिक दायित्व बाँकी छ भन्ने विवरण मागेका छन्।

गिरी आफैँ यो विषयमा छानबिनको माग गरेर लेखा समितिमा निवेदन दिने निवेदनकर्ता हुन्। गिरी र कांग्रेस सांसद योगेश गौचन थकालीले लेखा समितिमा लिखित निवेदन दिएर समेत पटेल–रमण जेभीसँग जोडिएको क्षतिपूर्ति तथा बैंक जमानत जफतको प्रक्रियामा नयाँ ठेक्का रद्दको निर्णयले पार्ने प्रभावबारे अनुसन्धान गर्न माग गरेका थिए।

मङ्गलबार भएको छलफलमा उनै सांसद गिरीले नयाँ ठेक्का रद्द गर्दा पुरानो ठेक्का तोडिएपछि बाँकी रहेको क्षतिपूर्ति तथा आर्थिक दायित्व असुली प्रक्रियामा असर पर्न सक्ने भन्दै त्यसको पनि छानबिन गर्नुपर्ने बताएका हुन्।

६. प्रधानमन्त्री कार्यालयबाट हस्तक्षेप भएको हो ?

सुनकोशी मरिनको ठेक्का रद्द प्रकरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भूमिका के थियो भन्ने प्रश्न पनि संसदीय समितिमा उठेको छ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक र आयोजना प्रमुखलाई प्रहरी नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा राखिएको र ठेक्का रद्द गर्न दबाब दिइएको भन्ने सार्वजनिक विवरणबारे सत्य के हो भनेर राप्रपाकी सांसद खुस्बु ओलीले महानिर्देशक रजौरियालाई नै प्रश्न गरिन्।

‘महानिर्देशक यहीँ हुनुहुन्छ। प्रधानमन्त्री कार्यालय गएकोबारे सामाजिक सञ्जाल र समाचारमा आएका विषय हो कि होइन ? सत्यतथ्य के हो ?’ उनले सोधिन्, ‘अब प्रधानमन्त्रीको कार्यालयको क्षेत्राधिकारभित्र गौरवका आयोजनाको प्रतिवेदन स्वाभाविक रूपमा पर्छ। उहाँले हस्तक्षेप पनि गर्न पाउनुहुन्छ। तर त्यसको कानुनी प्रक्रियाको विषयमा मात्रै प्रश्न हो। यहाँहरूलाई त्यो (दबाब) भएको थियो कि थिएन ? पुष्टि गरिदिनुहोस्।’

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले तुरुन्तै जवाफ दिए, ‘माननीयज्यू, प्रधानमन्त्री कार्यालय अवश्य म गएको हुँ। निर्देशक पनि जानुभएको हो। तर कुनै प्रकारको नियन्त्रण अथवा हस्तक्षेप मैले अनुभूति गरेको होइन।’

ऊर्जा मन्त्रालयका सहसचिव सुशील आचार्य खरिदसम्बन्धी निर्णय प्रक्रियामा मन्त्रालयको लिखित स्वीकृति आवश्यक नपर्ने बताउँछन्।

उनका अनुसार सार्वजनिक खरिदसम्बन्धी ऐन र नियमावलीले डिजाइन, लागत अनुमान तथा खरिद स्वीकृतिसम्बन्धी अधिकार विभागीय तहसम्म दिएको छ। मन्त्रालय तहमा सबै खरिद निर्णय आउनुपर्ने व्यवस्था नभएको भन्दै उनले मन्त्रालयको लिखित स्वीकृति आवश्यक पर्ने विषय आफूलाई नलागेको जवाफ दिए।

तर उनले प्रधानमन्त्री कार्यालयको भूमिकाबारे उठेको आरोपलाई प्रत्यक्ष रूपमा सम्बोधन गरेनन्।

७. किसानले गुमाएको अवसरको हिसाब कसले गर्ने ?

सुनकोशी मरिन डाइभर्सनको विवाद, ठेक्का र खरिद प्रक्रियामाथिको प्रश्नउपरको छलफलमा सांसदहरूले यसको प्रत्यक्ष असर मधेसको कृषि उत्पादन र किसानको सिँचाइ सुविधामा परेको भनेर सरकारको ध्यानाकर्षण गरेका छन्।

रास्वपा सांसद मनीष झाले आयोजनाको उद्देश्य र मधेसका किसानले गुमाएको अवसरलाई जोड्दै प्रश्न उठाएका हुन्।

‘हामी किन यो मात्र क्यालकुलेट गर्दै छौँ कि त्यसको प्रोसेसमा कति लस भयो भनेर ?’ उनले प्रश्न गरे, ‘यो प्रोजेक्ट रोकिँदै गर्दा तराईको खेतमा पानी नपुगेर कतिले अवसर गुमाए ? कतिवटा सिजन हाम्रो खेतले पानी पाएन ? कतिवटा खेती सिँचाइबिनाको भयो ? यो हेर्नुपर्दैन ?’

किसानको क्षतिको मूल्याङ्कन कसले गर्ने भन्दै उनले थपे, ‘यदि एक लाख ८० हजार बिघामा पानी पुगेको भए कति खेती हुन्थ्यो ? उत्पादन कति हुन्थ्यो ? अब यो कतिवटा सिजनसम्म पुग्दैन ?’

उनले यी लगायत समग्र विषयमा विस्तृत छानबिनको माग गरेका छन्।

‘…बिड क्यान्सिल गरियो, विधि–पद्धति चेन्ज गर्नुभयो, पहिला बिडिङ भएर कन्स्ट्रक्सन लागू भएर टनेल ब्रेक थ्रु भइसकेको प्रोजेक्टमा त्यो (नयाँ नियमावली) अप्लाई गर्दिनुभयो, किन गर्नुभयो ? यो सबै कुरा छानबिन हुनुपर्छ,’ सांसद झाले भने।

सुनकोशीको पानी मरिन हुँदै मधेसमा पुर्‍याउने आयोजना ठूलो भूभागमा सिँचाइ सुविधा विस्तार गर्ने अपेक्षासहित अघि बढाइएको हो। आयोजनाबाट करिब एक लाख ८० हजार बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ।

रास्वपा सांसद गणेश धिमालले चुनावमा गरेको वाचा सम्झिए।

‘सुनकोशी मरिन डाइभर्सन राष्ट्रिय गौरवको आयोजना भनेर पहिलेदेखि नै सुन्यौँ,’ उनले भने, ‘म मधेसबाट प्रतिनिधित्व गर्छु। अबचाहिँ आउँछ है, सुनकोशी मरिन डाइभर्सनले हाम्रो मधेसको विभिन्न जिल्लामा एकदमै हामीले खेती गर्न, सबै सिँचाइ गर्न सकिन्छ भनेर मैले त वाचा नै गरेको छु, अब छिट्टै आउँदै छ भनेर भन्दै आएको छु। तर आज यता यो विषयमा यस्तो छलफल हुँदा म त बहुतै दुःखी छु।’

उनले पनि ठेक्का रद्दको विषयलाई किसानले गुमाएको खेतीको अवसरसँग जोडेर हेर्नुपर्ने बताए। उनका अनुसार आयोजनाको काम रोकिँदा किसानले खेतीका मौसम, उत्पादन र आम्दानी गुमाइरहेका छन्। साथै, यो आयोजना रद्द वा ढिलाइ हुँदा मधेसमा असन्तुष्टि बढ्न सक्छ।

८. अब आयोजना अघि बढाउने बाटो के ?

ठेक्का रद्दको निर्णयमाथि संसदीय समितिमा प्रश्न मात्रै उठेको छैन। आयोजनालाई अनिश्चितकालसम्म रोकिराख्न नहुने विषय पनि उस्तै गरी उठेको छ। रास्वपा सांसद झाका अनुसार निर्णयको कानुनी आधार, आर्थिक दायित्व र प्रक्रियाको पारदर्शिता स्पष्ट गरेर आयोजना शीघ्र अघि बढाउनुपर्छ।

‘अनि यो कुराहरूमा थप वे फरवार्ड कसले भन्दिने त ? यसरी यति दिनमा यस्तो तरिकाले हामीले यसलाई सम्पन्न गर्न सक्छौँ र मधेसको पाँचवटा जिल्ला लगभग साढे चारवटा जिल्लामा पानी १ लाख ८० हजार बिघामा पुग्नेछ भनेर वे फरवार्डको कुरा खासै सुनिँदैन,’ झाले सरकार र सरोकारवालाहरूको ध्यानाकर्षण गरे।

चेतावनीको शैलीमा झाले थपे, ‘…यो आयोजना रद्द भयो वा रोकियो भने यो मधेस आन्दोलित हुनेबाहेक अर्को कुनै उपाय नै हुँदैन।’

उनका अनुसार एकातिर अनावश्यक सडकहरू खन्दिएकाले गर्दा मधेस मरुभूमीकरण भइराखेको छ। ‘प्लेनबाट हेर्दै गर्दा जनकपुरमा पोखरी–पोखरी नै देखिन्छ तर पँधेरामा पानी आउँदैन,’ उनले भने। अर्कोतिर नागरिकमा सुनकोशी मरिन डाइभर्सनले मधेसको मरुभूमीकरण रोक्ने ठूलो अपेक्षा छ।

‘अब आगामी योजनाहरू, यसलाई कसरी समाधान गर्न सकिन्छ ? हामी त्यो कुरा सुन्न चाहन्छौँ,’ उनी थप्छन्, ‘अगाडिको योजना भयो भने हामी जनप्रतिनिधिहरू, सांसदहरू प्रतिनिधिसभामा गएर र विभिन्न निकायमा गएर यसको कुरा गर्न सक्छौँ, आवाज उठाउन सक्छौँ, ढोका ठोक्न सक्छौँ र यो काम गर्न सक्छौँ।’

जवाफमा ऊर्जा मन्त्रालयका सहसचिव सुशील आचार्यले पनि मन्त्रालयको प्राथमिकता जतिसक्दो चाँडो नयाँ खरिद प्रक्रिया अघि बढाएर निर्माण सुरु गर्नु रहेको बताए। उनका अनुसार अहिलेको लागत अनुमान अद्यावधिक गर्नुपर्ने अवस्था छ।

चालु आर्थिक वर्षमा तयार गरिएको अनुमानलाई पुनरावलोकन गर्नुपर्ने, नयाँ खरिद नियमअनुसार मूल्याङ्कन पद्धति र बोलपत्र कागजात अद्यावधिक गर्नुपर्ने भएकाले विभाग र आयोजना कार्यालय त्यसमा सक्रिय छन्।

उनका दृष्टिमा नयाँ बोलपत्र प्रक्रिया अघि बढाएर निर्माण व्यवसायी छनोट गरी काम सुरु गर्नु नै अबको बाटो हो।

‘यो आयोजनाको टनेलको प्रगति अपेक्षितभन्दा अलि चाँडै भएको थियो, अन्य आयोजनाका तयारीका कार्यहरू पनि राम्रै थिए। पछि हेडवर्क्सका कामहरू अलिकति ढिलाइ हुन गयो,’ सहसचिव आचार्यको जवाफ छ, ‘वे फरवार्ड सम्बन्धमा मन्त्रालयको प्राथमिकता जतिसक्दो चाँडो प्रोक्युरमेन्ट गरेर काम सुरु गर्ने रहेको छ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?