+
+
Shares

एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो जोखिम व्यवस्थापन गर्न स्वतन्त्र र विश्वसनीय निगरानीसहितको अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न आह्वान गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १७:५०

८ मङ्सिर, ब्रिजटाउन (रासस/क्युएनए)। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो जोखिम व्यवस्थापन गर्न स्वतन्त्र र विश्वसनीय निगरानीसहितको अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न आह्वान गरेका छन्। उनले एआई प्रणालीको सुरक्षा मूल्याङ्कन तथा यसको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्।

बार्बाडोसको राजधानी ब्रिजटाउनमा आयोजित एआई सुरक्षा सम्बन्धी विशेष शिखर सम्मेलनमा बोल्दै महासचिव गुटेरेसले एआईले स्वास्थ्य, शिक्षा र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा ठूलो सम्भावना बोकेको उल्लेख गरे। तर, यस प्रविधिको तीव्र विकाससँगै उत्पन्न भइरहेका जोखिमको सामना गर्न साझा अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।

संयुक्त राष्ट्रसङ्घ र बार्बाडोस सरकारले आयोजना गरेको सम्मेलनमा प्रधानमन्त्री मिया मोटलीसहित विभिन्न देशका सरकारी अधिकारी, प्रविधि कम्पनीका प्रतिनिधि, वैज्ञानिक, नागरिक समाजका सदस्य तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

महासचिव गुटेरेसले एआईका जोखिम पहिचान र उन्नत प्रणालीको निगरानी गर्ने विषयमा विभिन्न देशको क्षमता समान नरहेको उल्लेख गर्दै त्यसलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउनुपर्ने बताए। उनले एआई प्रणालीको सुरक्षा परीक्षणका लागि साझा विधि विकास गर्ने, स्वतन्त्र निगरानी संयन्त्र बलियो बनाउने र अनुभव आदानप्रदान गर्ने आवश्यकतामा जोड दिए।

त्यस्तै, एआई प्रविधिको सुरक्षित प्रयोगका लागि आवश्यक प्राविधिक तथा संस्थागत क्षमता नभएका देशलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

सम्मेलनमा बार्बाडोसकी प्रधानमन्त्री मोटलीले एआई प्रणाली विकास गर्ने कम्पनीलाई त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित क्षतिप्रति जवाफदेही बनाउनुपर्ने बताए। एआई प्रणालीले व्यक्ति वा संस्थालाई जोखिममा पारेको अवस्थामा सरकारले आवश्यक हस्तक्षेप गर्न सक्ने अधिकार सुरक्षित राख्नुपर्नेमा पनि उनले जोड दिए ।

सम्मेलनको मुख्य उद्देश्य एआईका जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समन्वय बढाउनु र साझा नियम निर्माणका उपायबारे छलफल गर्नु रहेको थियो । एआईको सम्भावनालाई मानवहितमा उपयोग गर्दै यसबाट उत्पन्न हुन सक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्ने विषयमा पनि सम्मेलन केन्द्रित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?