८ मंसिर, काठमाडौं । सरकारले चालु सिजनका लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ आसपासमा टुंग्याउने तयारी गरेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसान र चिनी उद्योगीसँगको छलफलपछि दुवै पक्षको मध्यविन्दु खोज्दै यही साता मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने तयारी अघि बढाएको हो ।
मन्त्रालयका सूचना अधिकारी डा. मणिरत्न अर्यालले मूल्य निर्धारण प्रक्रिया अन्तिम चरणमा पुगेको र एक–दुई दिनमै टुंग्याएर मन्त्रिपरिषद् पठाइने जानकारी दिए ।
तर, मन्त्रालयले वार्ता निष्कर्ष नजिक पुगेको दाबी गरिरहँदा उखु उत्पादक किसानले भने माग पूरा नभए चिनी मिल नै सञ्चालन हुन नदिने चेतावनी दिएका छन् ।
‘६४० र ६७० बीचको मध्यविन्दु खोज्दैछौं’
मन्त्रालयका सूचना अधिकारी अर्यालका अनुसार गत बिहीबार किसानसँगको वार्ता र उद्योगीहरूसँगको छलफलपछि अब मूल्यको मध्यविन्दु (मिड प्वाइन्ट) तय गर्ने काम भइरहेको छ ।
छलफलमा किसान पक्ष प्रतिक्विन्टल ६ सय ७० रुपैयाँसम्म मान्न तयार रहेको र उद्योगी पक्ष ६ सय ४० रुपैयाँसम्म जान तयार देखिएको उनले दाबी गरे ।
‘हामी मूल्यको विषय टुंग्याउन लागिराखेका छौं, अब अन्तिम निर्णय हुन मात्रै बाँकी छ,’ सूचना अधिकारी अर्यालले अनलाइनखबरसँग भने, ‘किसान पक्षबाट अहिले ६ सय ७० रुपैयाँसम्म भन्नुभएको छ, तर मूल्य दिने मन्त्रालयले होइन, किन्ने उद्योगीले हो, उद्योगीसँग छलफल हुँदा उहाँहरू ६ सय ४० सम्म जान सकिन्छ भन्दै हुनुहुन्छ ।’

दुवै पक्षको अडानबीच ६ सय ५० रुपैयाँको आसपासमा सहमति खोजिँदै गरेको उनको भनाइ छ । ‘हामीबीचको मिड प्वाइन्ट खोज्दैछौं, त्यही ६ सय ५० आसपासको मोडालिटीमा छलफल गर्दैछौं,’ अर्यालले थपे ।
मन्त्रालयले एक–दुई दिनमा विषय टुंग्याएर यो साता बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पठाउने तयारी गरेको छ । त्यसअघि सरकारले किसानलाई दिने प्रोत्साहन अनुदानका लागि अर्थ मन्त्रालयसँग सहमति लिने प्रक्रिया चलिरहेको अर्यालले बताए ।
‘प्रधानमन्त्रीज्यू पनि फर्किसक्नुभएको छ, एक–दुई दिनमा टुंग्याएर यो हप्ता क्याबिनेटमा पठाउँछौं,’ उनले भने, ‘त्यसअघि प्रोत्साहन अनुदानका लागि अर्थ मन्त्रालयसँग सहमति लिने प्रक्रिया चलिरहेको छ ।’
किसान भन्छन्- ६७० मा हामी सहमत छैनौं, हाम्रो अडान १ हजार २५ नै हो
मन्त्रालयले किसान पक्ष ६ सय ७० रुपैयाँसम्म लचक भएको दाबी गरिरहँदा उखु उत्पादक महासंघ अध्यक्ष श्यामबाबु रायले सरकारी प्रस्ताव आफूहरूले ठाडै अस्वीकार गरिसकेको बताए ।
बिहीबार मन्त्रालयमा भएको छलफलमा उद्योगीहरू २० रुपैयाँभन्दा धेरै नबढाउने अडानमा रहेको र कृषि मन्त्रालयका सचिवले १० रुपैयाँ थपेर अघिल्लो वर्षको ६ सय २० मा जम्मा ३० रुपैयाँ वृद्धि गरी ६ सय ५० पुर्याउन सकिने प्रस्ताव राखेको रायको भनाइ छ ।
‘उद्योगीहरू २० रुपैयाँभन्दा धेरै नबढाउने, अनि कृषि मन्त्रालयका सचिवज्यूले १० रुपैयाँ थपेर गत साल ६ सय २० थियो, ३० रुपैयाँ बढाएर ६ सय ५० सम्म गर्न सकिन्छ भन्नुभयो,’ अध्यक्ष रायले भने, ‘हामीले मानेनौं, तपाईं सिफारिस गर्नुस्, हामीलाई मतलब छैन, हामी मिलमा आन्दोलन गर्छौं भनेर हिँड्यौं ।’
अध्यक्ष रायले सरकारी अनुदान सहित उखु मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ हुनुपर्ने बटमलाइनबाट आफूहरू पछि नहटेको बताए ।

बजारमा चिनी प्रतिकिलो १ सय २० देखि १ सय ३० रुपैयाँमा बिक्री भइरहेको र भारतमा समेत चिनीको भाउ बढेको अवस्थामा किसानलाई ३० रुपैयाँ मात्रै बढाउनु अन्यायपूर्ण भएको उनको तर्क छ ।
भारत सरकारको उपभोक्ता मामिला विभागको २३ नोभेम्बर २०२६ को आधिकारिक तथ्यांकले पनि भारतमा चिनीको मूल्य एक वर्षमै करिब एक तिहाइले बढेको देखाउँछ ।
विभागको मूल्य अनुगमन महाशाखाका अनुसार भारतमा चिनीको औसत खुद्रा मूल्य प्रतिकिलो ६०.८५ (नेरु ९७.३६) र थोक मूल्य प्रतिकिलो ५६.४५ (नेरु ९०.३२) पुगेको छ ।
गत वर्ष यही समयमा भारतमा चिनीको औसत खुद्रा मूल्य ४६.०८ र थोक मूल्य ४३.०१ रहेकोमा एक वर्षमा खुद्रा मूल्य ३२.०५ प्रतिशत र थोक मूल्य ३१.२५ प्रतिशत वृद्धि भएको छ ।
चिनीको मूल्य नियन्त्रण र उखुको भाउबीच सन्तुलन मिलाउन आपूर्ति मन्त्रालयलाई समेत बैठकमा राख्न आग्रह गर्दा कृषि मन्त्रालयले बेवास्ता गरेको रायले आरोप लगाए ।
‘मैले आपूर्ति मन्त्रालयलाई पनि बैठकमा राख्नू न त भनेँ, तर राख्नै खोजिएन,’ उनले भने, ‘यो देशमा सब सेटिङ नै हो, किसानलाई कसरी मार्ने भन्ने खेल भइरहेको छ ।’
किसानका समस्या सुनाउन खोज्दा कृषिमन्त्री गीता चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट समेत भेट नपाएको रायको गुनासो छ ।
‘रवि लामिछानेज्यूसँग पनि भेट गर्न समय मागेका थियौं, दिनुभएन, प्रधानमन्त्री भेट्ने कुरै छोडिदिनुस्, कृषिमन्त्री त हामीसँग भेट गर्नै खोजिरहनुभएको छैन,’ उनले भने ।
उद्योगी र किसानलाई सँगै राखेर छलफल नभएको बताउँदै रायले आउने मन्त्रिपरिषद् बैठकको निर्णय पर्खेर आन्दोलन कार्यक्रम घोषणा गर्ने चेतावनी दिए ।
‘आज पश्चिम कञ्चनपुरमा पनि साथीहरूको बैठक बसिरहेको छ,’ उनले भने, ‘अब हुने क्याबिनेट निर्णय पर्खिन्छौं, किसानको माग अनुसार रेट नतोकेसम्म हामी उद्योग चल्न दिँदैनौं, मिल सञ्चालन हुन दिँदैनौं ।’
मन्त्रालयले यस वर्षदेखि उखुको जात (भेराइटी) अनुसार छुट्टै थप रकम दिने विषयमा समेत छलफल अघि बढाएको छ । सूचना अधिकारी अर्यालका अनुसार हाल मिलले सिफारिस गरेको उन्नत जातको उखु लगाउँदा प्रतिक्विन्टल १५–२० रुपैयाँ थप दिने अभ्यास छ ।
यसपालि मिलहरूले कम्तीमा २५ रुपैयाँ थप्ने प्रस्ताव गरेका छन् भने उत्पादकले ५० रुपैयाँ माग गरिरहेका छन् ।
यस वर्षलाई आधार मानेर अर्को वर्षदेखि दुई वटा मूल्यमा जाने मन्त्रालयको योजना छ ।
गत भदौमै थालिएको मूल्य निर्धारण गृहकार्य अन्तर्गत कृषि विभागले तराई–मधेसका ११ जिल्लामा स्थलगत अध्ययन गरी प्रतिक्विन्टल ६ सय २८ रुपैयाँ खरिद मूल्य प्रस्ताव गरेको थियो ।
अघिल्लो वर्ष उद्योगीको ६ सय २० र सरकारी अनुदान ७० गरी ६ सय ९० रुपैयाँ तोकिएकोमा जम्मा ८ रुपैयाँमात्रै बढाउन खोजिएको भन्दै किसानले पहिलो चरणको बैठक बहिष्कार गरेका थिए ।
त्यसपछि मन्त्रालयले बिहीबारका लागि पुन: वार्ता बोलाएको थियो ।
प्रतिक्रिया 4