८ मंसिर, कञ्चनपुर । कञ्चनपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले धान खरिदमा ढिलाइ गर्दा किसान समस्यामा परेका छन् ।
खाद्यले धान खरिदका लागि पाएको कोटाअनुसार दुई साताअघि ३०० किसानलाई टोकन वितरण गरेको थियो । टोकन पाएका किसानले पनि धान बिक्री गर्न पाएका छैनन् ।
कम्पनीले ३०० किसानलाई टोकन वितरण गरे पनि कोटा नबढेसम्म धान खरिद नगर्ने निर्णय भएपछि किसानहरू समस्यामा परेका छन् ।
खाद्यले ढिलो गरी धान खरिद गर्दा आफुहरु व्यापारीसँग सस्तोमा धान बिक्री गर्न बाध्य भएको यहाँका किसान हिरुलाल चौधरीले बताए ।
‘हामीसँग धान भण्डारण गरेर राख्ने ठाउँ छैन खाद्यले खरिद नगर्दा समस्या भएको छ’, उनले भने, ‘बाहिर व्यापारीसँग सस्तोमा धान बिक्री गर्नुपर्ने बाध्यता छ ।’
अर्का किसान वीरेन्द्र जोशीले खाद्यबाट धान खरिद नहुँदा भण्डारणमा समस्या हुने गरेको बताए । उनले भने, ‘ धान बिक्रीबाट आएको पैसाले गहुँखेती गर्न लगानी गर्छौँ । भण्डारणको पनि समस्या पछि धान बिग्रिने समस्या हुन्छ खाद्यले समयमै खरिद गरिदिए किसानलाई राम्रो हुन्थ्यो ।’
किसानबाट धान बिक्रिका लागि माग बढेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले धान खरिद पक्रिया रोकेको जनाएको छ ।
कार्यालयले चालु आर्थिक वर्षमा किसानबाट आठ हजार क्वीन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेको थियो । तर निर्धारित कोटाभन्दा बढी धान बिक्री गर्न किसान आएपछि खरिद प्रक्रिया रोकिएको कम्पनीको शाखा कार्यालय महेन्द्रनगरका प्रमुख प्रकाश न्यौपानेले जानकारी दिए ।
‘हामीले धान खरिदका लागि पाएको कोटाभन्दा बढी किसान धान बिक्रीका लागि आएपछि खरिद प्रक्रिया रोकिएको हो,’ उनले भने, ‘केन्द्रसँग थप २० हजार क्वीन्टल धान खरिदका लागि माग गरेका छौँ । त्यसको निर्णय भएपछि मात्रै किसानबाट धान खरिद सुरु हुन्छ ।’
कम्पनीले किसानबाट प्रतिक्वीन्टल तीन हजार ६६० रुपैयाँका दरले धान खरिद गर्ने मूल्य तोकेको छ । कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर ४.२५ मेट्रिक टन रहेको छ ।
प्रतिक्रिया 4