+
+
Shares

कञ्चनपुरमा स्कुटरसहित ५ लाख बढीको अवैध सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १०:२५

१२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली नेपाल भित्र्याइएका इभी स्कुटरसहित ५ लाख १७ हजार ५६० बराबरका अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलका विभिन्न टोलीले कञ्चनपुरका छुट्टाछुट्टै सीमा क्षेत्रबाट ईभी स्कुटर, युरिया मल, सुर्ती, प्याज, बिडी, फोटो फ्रेम, किराना सामान, पेय पदार्थ, विद्युतीय सामग्री, पर्दा र पटाका बरामद गरेका हुन् ।

सशस्त्र प्रहरी बलका अनुसार सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक चुनराज थापाको कमान्डमा खटिएको पाँच सदस्यीय मोबाइल गस्ती टोलीले भीमदत्त नगरपालिका-१० भन्सार रोड क्षेत्रबाट भन्सार मूल्य १ लाख ५० हजार रुपैयाँ बराबरको ईभी स्कुटर बरामद गरेको थियो । उक्त स्कुटर आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा मुद्दा नम्बर ३२७ अन्तर्गत दाखिला गरिएको छ ।

त्यस्तै, कात्तिक ९ गते बिहान ६ बजे सशस्त्र प्रहरी बलको बीओपी पचुईबाट सशस्त्र प्रहरी नायब निरीक्षक गणेश कामीको कमान्डमा खटिएको पाँच सदस्यीय पैदल गस्ती टोलीले बेलौरी नगरपालिका–१० दिपाघाट सीमा क्षेत्रबाट ४४ हजार ५०० बराबरका युरिया मल, सुर्ती, प्याज र बिडी बरामद गरेको थियो । भारतबाट अवैध रूपमा नेपाल भित्र्याए बेवारिसे अवस्थामा राखिएका ती सामान भन्सार बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी, दोधारा चाँदनी नगरपालिका–१ स्याउले टोल सीमा क्षेत्रबाट ३८ हजार ५६० बराबरका फोटो फ्रेम, किराना सामान र माउन्टेन ड्यु बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बलको बीओपी बयलबन्दबाट सशस्त्र प्रहरी नायब निरीक्षक प्रेमसिंह धामीको कमान्डमा खटिएको पाँच सदस्यीय पैदल गस्ती टोलीले ती सामान बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा मुद्दा नम्बर ३२८ अन्तर्गत दाखिला गरिएको छ ।

सशस्त्र प्रहरीको एफओबी कुमासैनाबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुरजबहादुर देउवाको कमान्डमा खटिएको पाँच सदस्यीय पैदल गस्ती टोलीले भीमदत्त नगरपालिका–९ ब्रह्मदेव सीमा क्षेत्रबाट ६४ हजार बराबरका विद्युतीय सामान र पर्दा बरामद गरेको थियो ।

भारतबाट अवैध रूपमा नेपाल भित्र्याई बेवारिसे अवस्थामा राखिएका ती सामान कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा मुद्दा नम्बर ३२९ अन्तर्गत दाखिला गरिएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहतका बीओपी भुमिराजटोल र बीओपी बयलबन्दबाट खटिएका संयुक्त पैदल गस्ती टोलीले दोधारा चाँदनी नगरपालिका–१ स्थित फोरलेन पुल सडकखण्डको बाँध क्षेत्रमा ३ लाख ७० हजार बराबरका ७ हजार ४०० प्याकेट पटाका बरामद गरेको छ ।

बीओपी भुमिराजटोलबाट सशस्त्र प्रहरी नायब निरीक्षक कर्णबहादुर बोहराको कमान्डमा पाँच जना र बीओपी बयलबन्दबाट सशस्त्र प्रहरी सहायक निरीक्षक खगेन्द्रबहादुर शाहीको कमान्डमा चार जना गरी नौ सदस्यीय टोलीले उक्त पटाका बरामद गरेको हो । बरामद पटाका नष्ट गर्ने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार, कञ्चनपुरका विभिन्न सीमा क्षेत्रमा गरिएको कारबाहीका क्रममा बरामद सामानको कुल भन्सार मूल्य ६ लाख ३७ हजार ६० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?