+
+
Shares

भूमिप्राप्तिको प्रक्रियाबाट छुट्दै मधेशका भूमिहीन दलित

८८ हजारभन्दा बढी परिवार भूमिहीन भएको समुदायबाट २९ हजारको मात्र निवेदन परेको छ । तर, अचम्म त यो छ कि यसबारे सम्बन्धित निकायहरू बेखबर छन् । न पीडित स्वयंलाई यसबारे हेक्का छ, न त आयोग, समिति, राजनीतिक दल, पालिका सरकार र अधिकारकर्मीहरूलाई नै यति ठूलो सङ्ख्यालाई बाहिरै राखेर भूमिहीनका समस्या समाधान हुन सक्दैन भन्ने नै पत्तो छ ।

भोला पासवान भोला पासवान
२०८३ मंसिर ९ गते १०:०३

नेपालमा एउटा वर्ग छ, जो सुकुमबासीको नामै सुन्न चाहँदैन । त्यो वर्गले सुकुमबासीको न्वारन आफैँ गरिदिएको छ– हुकुमबासी । अनि सुकुमबासीको नाम वा प्रसङ्ग आउनासाथ ऊ अघि सरेर भन्छ– यी त आफ्नो जग्गा बेचेर खानेहरू हुन्, अल्छी हुन्, शहर–बजारको राम्रो जग्गा ओगट्न आएका हुन्, त्यसैले यिनलाई जहाँ देख्यो त्यहीँबाट लखेट्नुपर्छ ।

यस्तो धारणा सुन्दा लाग्छ, नेपालमा सुकुमबासी समस्या कृत्रिम रुपमा उब्जिएको हो । तर, त्यसो होइन । नेपालमा यो समस्या इतिहासदेखि नै थियो । र, दशकौँदेखि भूमिहीनता अन्त्यको प्रयत्न पनि हुँदै आएको छ । भूमिहीनलाई जमिन दिलाउने पहिलो प्रयास विसं २०१३ मा सरकारले प्रादेशिक योजना नियम जारी गरेपछि सुरु भएको थियो । यो नियम बनेपछि आफैँ वन फँडानी गरेर आवाद गरिएका जग्गा जोत्नेलाई नै दिन थालिएको थियो । विसं २०१८ मा भने सुकुमबासीको व्यवस्थापन गर्ने मुख्य उद्देश्यले सरकारले नै पुनर्बास कम्पनी खडा गरेको थियो ।

भूमिहीनलाई जमिन उपलब्ध गराउने कार्यको श्रीगणेश यहाँबाट भए पनि कहिले सुस्त र कहिले अलिक तीव्ररूपमा यो क्रम जारी रहेको देखिन्छ । खासगरी २०४६ सालमा प्रजातन्त्र पुनर्बहालीपछि गठित सरकारहरूले यो समस्यालाई प्राथमिकतामा राखेका पाइन्छ । २०४९ सालमा शैलजा आचार्यको संयोजकत्वमा सुकुमबासी आयोग गठन हुनु यसको प्रमाण हो । यसपछि पनि विभिन्न आयोग गठन भए भूमिहीनलाई व्यवस्थापन गर्नकै लागि । २०८१ मा गठित हरिप्रसाद रिजाल नेतृत्वको आयोगसमेत गर्दा १६ वटा आयोग बनेका छन्।

यीमध्ये सबै आयोगले जग्गा वितरण गरेका भने हैनन् । कतिपय आयोगलाई सुझाव मात्र दिने अधिकार दिइएको थियो भने कतिपयलाई जमिनको स्वामित्व नै हस्तान्तरण गर्न पाउने अधिकार दिइएको थियो । अर्कोतर्फ नेपालमा कुनै पनि सरकार पूरै अवधि टिकेको इतिहास छैन । अझ प्रजातन्त्र पुनर्बहालीपछि त एकाध वर्ष टिक्ने सरकार भेट्न पनि मुस्किल भयो । यस्तो अवस्थामा एउटा सरकारले गठन गर्ने आयोगका काम/कारबाहीलाई पछिल्लो सरकारले अपनत्व लिने र नियमितता दिने कार्य कहिल्यै पनि हुन सकेन । त्यसैले यति धेरै आयोग गठन हुँदा पनि समस्या जस्ताको तस्तै रह्यो ।

वर्तमान सरकारले पनि आयोगको सट्टा भूमि समस्या समाधान समिति गठन गरेर काम अघि बढाएको छ । यी सबै तथ्य र प्रमाण हेर्दा भूमिहीनता नेपालको सन्दर्भमा निको नभएको पिलो जस्तो देखिन्छ, जसले समुन्नत नेपाल निर्माणको सपनालाई वर्षौँदेखि गिज्याइरहेको छ ।

यदि सुकुमबासी थिएनन् भने इतिहासदेखि वर्तमानसम्मका सरकारले किन यो समस्यालाई प्राथमिकता दिँदै आए त ? त्यसैले हुकुमबासीको ट्याग फगत हुनेखाने वर्गको कुतर्क मात्र हो भन्नेमा एकरत्ति पनि शङ्का छैन । सोझै भन्दा सुकुमबासी समस्या नेपालको सामाजिक न्यायले बाटो बिराउँदाको परिणाम हो भन्न कत्ति पनि हिच्किचाउनु पर्दैन ।

मधेशमा भूमि समस्या

६१ वटा पालिकामा निवेदन नै नपर्नुका विविध कारण भेटिन्छन् । निवेदन खुलेको समय भूमिहीनलाई कसैले नभनिदिनु मुख्य समस्या देखिन्छ । थाहा पाउनेले पनि कसरी र कहाँ गएर भर्ने, के लेख्ने, कसलाई लेखाउने जस्ता अन्योलबीच म्याद गुजारेको पाइन्छ । विशेषगरी पालिकाको निष्क्रियता यसका लागि मुख्य जिम्मेवार देखिन्छ ।

यूएनडीपीको एउटा तथ्याङ्क भन्छ– नेपालमा २४ प्रतिशत भूमिहीन छन्। जसमा ४४ प्रतिशत मधेशी दलित छन् । यो तथ्याङ्कलाई मधेशको वास्तविकतासँग तुलना गरौँ। विसं २०७८ मा सम्पन्न राष्ट्रिय जनगणनाअनुसार मधेशमा पहाडी दलित ९ हजार ९ सय ९४ घरधुरी र मधेशी दलित १ लाख ९१ हजार ९सय ८० गरी कुल २ लाख १९ हजार ७४ घरधुरी रहेको छ ।

यसको ४४ प्रतिशत भनेको ८८ हजार ८ सय ६८ परिवार हुन आउँछ । यसरी हेर्दा मधेशमा दलित समुदायका मात्र यति धेरै भूमिहीन छन् । स्मरणीय छ, मधेश प्रदेशको सिरहा र सप्तरी मुलुकमै सबैभन्दा बढी दलित समुदायको बसोबास भएको जिल्ला हुन् । त्यसैले पनि मधेशमा भूमि समस्या एकदमै धेरै हुनु स्वाभाविक हो ।

भूमि समस्या समाधान समितिको तथ्याङ्कअनुसार साउनसम्म भूमि प्राप्तिका लागि देशभर १२ लाख ७७ हजार ३ सय ९९ निवेदन परेको छ । जसमा भूमिहीन दलितको सङ्ख्या एक लाख ७ हजार ७ सय ४७ छ । अर्थात् भूमि प्राप्तिका लागि निवेदनमध्ये दलित मात्र ८.४ प्रतिशत छन् । त्यसैगरी देशभर सुकुमबासीको निवेदन १ लाख ९३ हजार ५० वटा पर्‍यो । यो भनेको १५ प्रतिशत हो । तर विडम्बना, मधेश प्रदेशभर जम्मा निवेदन १ लाख ४३ हजार ६ सय ६३ परिवारको पर्‍यो । जसमा भूमिहीन दलित २९ हजार ४ सय ६३ र भूमिहीन सुकुमबासी ३१ हजार ८ सय २३ छन् ।

८८ हजारभन्दा बढी परिवार भूमिहीन भएको समुदायबाट २९ हजारको मात्र निवेदन किन पर्‍यो ? यो खोजीको विषय हो । तर, अचम्म त यो छ कि यसबारे सम्बन्धित निकायहरू बेखबर छन् । न पीडित स्वयंलाई निवेदन नै नदिएपछि जमिन प्राप्तिको प्रक्रियाबाटै अलग्गिइन्छ भन्ने हेक्का छ, न त आयोग, समिति, राजनीतिक दल, पालिका सरकार र अधिकारकर्मीहरूलाई नै यति ठूलो सङ्ख्यालाई बाहिरै राखेर भूमिहीनका समस्या समाधान हुन सक्दैन भन्ने नै पत्तो छ ।

मधेश प्रदेशमा १३६ पालिका छन्, जसमध्ये ६१ वटामा भूमि प्राप्तिका लागि ‘शून्य’ निवेदन परे । जुनजुन पालिकामा निवेदन परे, त्यहाँ पनि समस्याको तुलनामा निकै कम मात्र परेका छन् । के त्यहाँ समस्या नभएकाले निवेदन नपरेको हो ? वा निवेदनबिनै जमिन पाइन्छ भन्ने ‘कूसूचना’ को कमाल हो ? यतिबेला मधेशको भूमिसम्बन्धी ज्वलन्त समस्या यही हो ।

किन निवेदन दिएनन् मधेशीले ?

भूमिहीनले जमिन पाउने प्रक्रियाको पहिलो खुड्किलो हो– निवेदन । तर ६१ वटा पालिकामा निवेदन नै नपर्नुका विविध कारण भेटिन्छन् । निवेदन खुलेको समय भूमिहीनलाई कसैले नभनिदिनु मुख्य समस्याका रूपमा देखिन्छ । थाहा पाउनेले पनि कसरी र कहाँ गएर भर्ने, के लेख्ने, कसलाई लेखाउने जस्ता अन्योलबीच म्याद गुजारेका पाइन्छ । विशेषगरी पालिकाको निष्क्रियता यसका लागि मुख्य जिम्मेवार देखिन्छ । जनप्रतिनिधि वा पालिकाका सम्बन्धित शाखा/कर्मचारी आदिले यस्ता सूचना पीडितसम्म पुर्‍याउन ठ्याम्मै मतलब नगरेका देखिन्छ । त्यति मात्र होइन, भूमि अधिकारका लागि कार्यरत अधिकारकर्मी र दलका भातृ सङ्गठनहरूले समेत खासै चासो देखाएनन् यस विषयमा ।

यसअघि पनि पटक–पटक फाराम भरेर हैरान भएका पीडितहरू ‘केही हुने हैन’ भनेर निराश भई फाराम नभरेका घटना पनि बग्रेल्ती पाइएका छन् । त्यसबाहेक भरिएका फाराम पालिकाबाट आयोगको प्रणालीमा प्रविष्ट गर्ने प्रक्रियामा पनि हेलचेक्र्याइँ भएको देखिएको छ । आयोगले भूमिहीनका लागि रातो र अव्यवस्थित बसोबासीका लागि सेतो फाराम भर्न सूचित गरेको थियो तर गलत सूचना वा जानकारी र धेरै पाइने लोभमा भर्नुपर्ने फाराम नभरेर अर्को भरेको पनि पाइन्छ ।

यी यावत् समस्याका बाबजुद पीडित स्वयंको पनि कतिपय अवस्थामा कमजोरी देखिएको छ । आफ्नै लागि प्राप्त हुने जग्गा अरूले मेहनत गरेर ल्याइदिनुपर्ने कतिपयको धारणाले पनि यसमा काम गरेको देखिन्छ । जे होस्, यी सबै समस्या समाधानका लागि तातो लगाउनुपर्ने भनेको सरकारले नै हो । तर सरकार चुक्दा त्यसको सोझो असर भने भूमिहीन र त्यसमा पनि दलितमाथि परिरहेको वास्तविकता छर्लङ्गै देखिएको छ ।

गर्ने के त ?

कुनै पनि समस्या समाधानरहित हुन सक्दैन । त्यसैले अहिले मधेश र त्यसमा पनि मधेशी दलित भूमिहीनले भोगिरहेका समस्या समधानका लागि पनि समय गुज्रिसकेको छैन । यसका लागि सरोकारवाला विभिन्न निकायबाट केही काम हुनैपर्ने अवस्था छ । सबैभन्दा पहिले त भूमिहीन सुकुमबासीको परिभाषा नै बदल्नुपर्छ । अहिलेको सरकारी परिभाषाले ३ पुस्तादेखि परिवारका कसैको नाममा जमिन नभएको र आफ्नै सामर्थ्यले किन्न सक्ने अवस्था पनि नरहेकोलाई भूमिहीन भनेको छ । यो परिभाषाअनुसार कसैको एक धुर मात्र जमिन रहेछ भने पनि ऊ ‘जग्गा धनी’ मा गनिन्छ र सुकुमबासी भनेर जमिन दाबी गर्न पाउँदैन ।

एउटा शौचालय पनि बनाउन नपुग्ने जग्गा कथंकदाचित कसैको नाममा छ वा अंशबन्डा गर्दा भागमा आउँछ भने त्यही आधारमा उसलाई जग्गा धनी देख्ने सरकारी परिभाषा नै गलत छ । त्यसैले मधेशका भूमिहीनका समस्या समाधान गर्ने हो भने सुधार परिभाषा सच्याएर थालिनुपर्छ ।

दोस्रो कुरा, मधेशमा दलित समुदायको साक्षरता दर निकै कम छ । दिनभर कमाएर खानुपर्ने भएकाले सूचनाप्रदायक निकायहरूमा उनीहरूको पहुँच पनि हुँदैन । त्यसैले भूमिसँग जोडिएका समस्यासम्बन्धी सूचना सम्बन्धित बस्तीसम्म पुर्‍याउने व्यवस्था खासगरी पालिका र वडा सरकारले गर्नुपर्छ । यिनीहरूले सम्बन्धित बस्तीमा पुगेर फाराम भर्ने शिविर नै राख्ने व्यवस्था मिलाउनुपर्छ । तब मात्र गाउँमा सिंहदरबार आएको महसुस सबैलाई हुन सक्छ ।

तेस्रो कुरा, नागरिकता नभएका कारण पनि धेरैले फाराम भर्न पाएका छैनन् । त्यसैले कि तत्काल नागरिकता बनाइदिने वा नागरिकता नभएमा कोही साक्षी बसेर, धारा/पानी आदिको महसुल तिरेको बिल देखाएर, सामुदायिक वन वा कुनै निकायको सदस्यतापत्र देखाएर वा मतदाता परिचयपत्र जस्ता चिनारी दर्शाउने कागजात देखाएर फाराम अघि बढाउने प्रक्रिया अपनाउनुपर्छ । दल र तिनका भातृ सङ्गठन विशेष सक्रिय हुनुपर्छ किनकि उनीहरूले ‘हामी तपाईंहरूको साथमा छौँ’ भनेर स्थानीय मतदाताको मन जित्ने सुवर्ण अवसर पनि हो यो बेला । जसलाई उपयोग गर्नबाट नचुक्नु त्यस्ता सङ्गठनका लागि दीर्घकालीन लाभको स्रोत बन्ने निश्चित छ ।

यसबाहेक पालिकाहरूले आफ्नो क्षेत्रको भूमि व्यवस्थापनको विषयलाई प्राथमिकतामा राख्नुपर्छ । यसका लागि स्थानीयका समस्या बुझेर गाँठो फुकाउने अर्थात् प्रक्रियालाई सरल र सहज तुल्याउने व्यवस्था मिलाउनुपर्छ । आफ्नोतर्फबाट नभएमा माथिल्लो निकायसँग समन्वय गरेर भए पनि यस्तो कार्य गर्नैपर्छ किनकि आफ्नो क्षेत्रका जनताको सुविधाका लागि लड्ने, बोल्ने र पहल गर्ने काम स्थानीय सरकारको हो । पीडितहरूले फाराम भरे पनि त्यो आयोगसम्म पुग्ने वा नपुग्ने जानकारी फाराम भर्नेलाई हुँदैन । कतिपय अवस्थामा पालिकाका कर्मचारीले प्रविष्टीकरणमा गरिदिने ढिलासुस्ती वा लापरबाहीले पनि भूमिहीन अन्यायमा परिरहेका छन् । त्यसैले प्रविष्टीकरण प्रक्रियालाई सहज र प्रभावकारी बनाउने तथा लापरबाही गरेमा त्यस्ता कर्मचारीलाई हदैसम्मको कारबाही गर्ने व्यवस्था पनि जरुरी छ ।

अन्यथा मधेश प्रदेशका मात्र करिब हजारौँ भूमिहीन दलित परिवार अन्यायमा पर्नेछन् । त्यसबाहेकको ठूलो सङ्ख्या पनि यही पंक्तिमा मिसिने निश्चित छ । पुस्तौँदेखि सुकुमबासी हुँदै आएकाहरू अझै धेरै पुस्ता सुकुमबासी नै हुनेछन् । घरघरै विद्यमान भूमिसम्बन्धी समस्या समाधान गरेर र खासगरी भूमिहीनलाई भूमिको मालिक बनाएर मुलुक समृद्ध तुल्याउने नेपालको सपना सपनामै सीमित हुनेछ ।

किनकि वर्तमान सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले भूमि समस्या ६ सय दिनमा समाधान गर्ने भनेको छ, जबकि यो ६ सय दिन पुग्न अब मात्र ३६० दिन जति बाँकी छ । ‘केलाई हतार गर्नुपर्‍यो, अझै साढे ३ सय दिन छँदैछ नि’ भनेर अहिल्यै जसरी निर्धक्क बस्ने हो भने फेरि पनि समस्या जहाँको तहीँ हुनेछ । अर्थात् भूमिहीनको यस पटकको आशामा पनि तुषारापात हुनेछ ।

लेखक
भोला पासवान

पासवान, दलित अधिकार अभियन्ता तथा अनुसन्धाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?