९ मंसिर, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकारसँग भएको सहमतिविपरीत छानबिन समिति गठन गरिएको भन्दै त्यसको कार्यक्षेत्र तत्काल सच्याउन माग गरेका छन् ।
२५औं सत्याग्रहका क्रममा गत कात्तिक २१ गते सरकारसँग भएको सहमतिको १८ दिनपछि शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिको कार्यक्षेत्र सहमतिको मर्म र उद्देश्यभन्दा फरक रहेको उनको आरोप छ ।
प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले सहमति कार्यान्वयनमा सरकारले आलटाल गरेको र आफूहरूले सिफारिस गरेका चिकित्सा शिक्षाका विज्ञलाई समितिमा नसमेटेको भन्दै आपत्ति जनाएका छन् । समिति गठन गर्न झन्डै तीन साता लगाएको सरकारले छानबिनका लागि एक सातामात्र कार्यावधि तोक्नुले पनि सरकारको गैरजिम्मेवारी देखिएको उनको भनाइ छ ।
सरकारसँग भएको सहमतिको बुँदा नम्बर १ मा चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन अनुमति तथा सिट निर्धारण र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सिट वृद्धि गर्दा निर्धारित मापदण्ड पालना भए/नभएको छानबिन गर्ने उल्लेख छ ।
त्यस्तै, मापदण्ड उल्लङ्घन वा स्वार्थको द्वन्द्व भएको पाइएमा संलग्न पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउने र छानबिन प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्ने सहमति भएको थियो ।
तर, मन्त्रालयले गठन गरेको समितिलाई ती संस्थाको स्थलगत अनुगमन गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्षम भए/नभएको मूल्याङ्कन गर्ने कार्यक्षेत्र मात्र दिइएको डा. केसीले बताएका छन् । यसले सहमतिमा उल्लेख भएको निर्णय प्रक्रिया, मापदण्डको पालना, स्वार्थको द्वन्द्व र जिम्मेवार पदाधिकारीको जवाफदेहितासम्बन्धी विषयलाई समेट्न नसकेको उनको भनाइ छ ।
संस्थाको सञ्चालन क्षमता परीक्षण गर्नु र निर्णय प्रक्रिया तथा मापदण्ड उल्लङ्घनको छानबिन गर्नु फरक विषय भएको उल्लेख गर्दै उनले स्थलगत अनुगमन छानबिनको एउटा माध्यम हुन सक्ने तर सहमतिले तोकेको मूल उद्देश्यको विकल्प बन्न नसक्ने बताएका छन् ।
आफूहरूको माग कुनै व्यक्ति वा संस्थालाई पूर्वाग्रहपूर्ण ढङ्गले दोषी ठहर गर्नु नभई निर्णय प्रक्रियाको निष्पक्ष छानबिन, मापदण्डको पूर्ण पालना, स्वार्थको द्वन्द्वको पहिचान र जिम्मेवार पदाधिकारीको जवाफदेहिता सुनिश्चित गर्नु रहेको उनले स्पष्ट पारेका छन् ।
डा. केसीले सहमतिको बुँदा नम्बर १ अनुरूप समितिको गठन र कार्यक्षेत्र तत्काल सच्याउन तथा छानबिनका सिफारिस इमानदारीपूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।
यसैगरी, सहमतिको बुँदा नम्बर ४ बमोजिम गठित सहमति कार्यान्वयन अनुगमन कार्यदलको सोमबार बसेको बैठकमा कार्यदलका सदस्य डा. बद्री रिजाल, विजय बाबु शिवाकोटी र डा. अमृत जैसीलाई सहभागी नगराइएकोप्रति पनि उनले विमति जनाएका छन् । यसले सरकारी पक्षको बदनियत देखाएको उनको आरोप छ ।
सरकारसँग भएका सहमतिका अन्य बुँदा पनि तत्काल कार्यान्वयन गर्न माग गर्दै डा. केसीले सहमति औपचारिकतामा सीमित गर्न खोजिए सत्याग्रहलगायत आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन् । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने उनको भनाइ छ ।
प्रतिक्रिया 4