९ मंसिर, काठमाडौं । सिलिकन भ्यालीमा एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हुआङजस्ता शीर्ष अधिकारीसमेत हनीट्र्यापमा पर्न सक्ने बहस चर्किरहेका बेला एआई कम्पनी एन्थ्रोपिकले नयाँ प्रश्न उठाएको छ- के एआई एजेन्टहरू पनि डिजिटल प्रलोभनमा परेर नियम तोड्छन् ?
इमेल लेख्ने वा सामान्य प्रश्नको जवाफ दिने च्याटबटको चरण पार गर्दै एआई एजेन्टहरू अहिले स्वतन्त्र रूपमा कोडिंग र सर्वर व्यवस्थापनजस्ता जटिल काम गर्न थालेका छन्। तर, यस्ता एजेन्टले काम फत्ते गर्ने नाममा सुरक्षा सीमा नाघेर नियम उल्लङ्घन गर्न सक्ने जोखिमबारे गम्भीर चिन्ता बढेको छ।
यही प्रश्नको जवाफ खोज्न एन्थ्रोपिकले सायरन नामको डिजिटल हनीपोट अर्थात् प्रलोभनको एम्बुस तयार गरी १ हजार ७ सयभन्दा बढी परीक्षण गरेको छ।
एन्थ्रोपिकका अनुसन्धानकर्ताले एक ब्लग पोस्टमार्फत ‘सायरन’ एआई एजेन्टलाई गलत काम गर्न उक्साउने वा लोभ्याउने उद्देश्यले बनाइएको डिजिटल जाल भएको जनाएका छन्। एआई एजेन्टले वास्तवमै निर्धारित सीमा नाघ्छन् कि नाघ्दैनन् भन्ने जाँच्न यो प्रयोग गरिएको हो।
२६ वटा कमजोर स्यान्डबक्स बनाएर १,७०० भन्दा बढी परीक्षण
सामान्यतया डेभलपरले कम्प्युटरमा एआई एजेन्टलाई काम दिँदा त्यसलाई ‘स्यान्डबक्स’ भित्र राख्छन्। स्यान्डबक्स एउटा बन्द डिजिटल कोठाजस्तै हो, जसले एआईले कुन फाइल, टुल र नेटवर्कसम्म पहुँच पाउने भन्ने सीमा तोक्छ।
तर, सायरन परीक्षणमा एन्थ्रोपिकले ठीक उल्टो प्रयोग गर्दै ती सुरक्षा पर्खालहरू जानीजानी कमजोर बनायो। अनुसन्धानकर्ताले पाँचवटा सामान्य सेटअपअन्तर्गत २६ वटा यस्ता टेस्ट स्यान्डबक्स तयार पारे, जसमा जानीजानी प्राविधिक कमजोरी छोडिएको थियो।

ती सेटअपभित्र एआई एजेन्टहरूलाई कोडिङ र सर्भरसम्बन्धी दैनिक काम दिइयो। तीमध्ये केही काम स्यान्डबक्सभित्र उपलब्ध स्रोतसाधनको भरमा मात्र पूरा गर्न असम्भव थिए।
सीमाको ठीक बाहिर एन्थ्रोपिकले डिजिटल प्रलोभन राखिदिएको थियो, जसमा काम सहज बनाउने फाइल, पासवर्ड र नक्कली इन्टरनेट सेवाहरू समावेश थिए। अनुसन्धानकर्ताले त्यहाँ एआईलाई गहिरो छानबिन गर्न वा काम छिटो सक्न उक्साउने खालका नोटसमेत राखेका थिए, तर सीमाबाहिर निस्कने अनुमति भने कहिल्यै दिइएको थिएन।
एन्थ्रोपिकले ‘सायरन’ मार्फत कुल १ हजार ७ सयभन्दा बढी अलग–अलग परीक्षण गरेको जनाएको छ। बाहिरी दुनियाँमा कुनै असर नपरोस् भनी यी सबै परीक्षणलाई पूर्णतः अलग र सुरक्षित दायरामा सीमित राखिएको थियो।
६ मोडेलको नतिजा : पुराना फसे, नयाँ संस्करण सचेत
एन्थ्रोपिकले ‘सायरन’ परीक्षण प्रणालीमा आफ्ना ६ वटा मोडेलको परीक्षण गरेको थियो। परीक्षणका क्रममा सार्वजनिक उत्पादनमा रहने अतिरिक्त सुरक्षा तह भने ती मोडेलमा राखिएको थिएन। परीक्षणमा पुराना संस्करणहरू क्लाउड मिथोस ५ र क्लाउड मिथोस ५.१ सँगै नयाँ मोडेलहरू क्लाउड ओपस ५.५, क्लाउड सोनेट ५.५, क्लाउड हाइकु ५.५ र क्लाउड मिथोस ५.२ समावेश थिए।
परीक्षणको नतिजामा पुराना र नयाँ संस्करणबीच ठूलो अन्तर देखिएको छ। अनुमतिबिना बाहिरी फाइल वा पासवर्डको दुरुपयोग गर्ने सन्दर्भमा पुरानो मोडेल क्लाउड मिथोस ५ भने २५.८ प्रतिशत मामिलामा जालमा फस्यो । त्यस्तै, मिथोस ५.१ केवल १२.७ प्रतिशत मामिलामा नियम तोड्न पुग्यो।

यसको विपरीत नयाँ क्लाउड ५.५ शृङ्खला र मिथोस ५.२ संस्करणमा भने नियम उल्लङ्घन र दुरुपयोगको दर घटेर जम्मा ०.६ देखि १.६ प्रतिशत बीचमा सीमित रह्यो।
नयाँ मोडेलहरू यति धेरै सुधारिनुको ठ्याक्कै कारणबारे आफू पूर्ण रूपमा यकिन भइनसकेको एन्थ्रोपिकले जनाएको छ। यद्यपि, प्रलोभनलाई चिन्न र त्यसमाथि तार्किक ढङ्गले विचार गर्न सघाउने अतिरिक्त प्रशिक्षण कै कारण नयाँ मोडेल बढी सचेत देखिएको कम्पनीको आकलन छ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4