९ मंसिर, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेत एवं केन्द्रीय सदस्य निश्कल राईले आम देशवासीले नेपाली कांग्रेस भनेर सभापति गगन कुमार थापा नेतृत्वको पार्टीलाई मात्रै चिनेको जिकिर गरेका छन् ।
बुधबार केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले अब छिट्टै गाउँगाउँमा पुग्ने बताए ।
‘अब छिट्टै गाउँगाउँमा टोल टोलमा पुगेर कांग्रेस तयार छ भन्ने सन्देश दिन्छौं । हामी कांग्रेसमा आबद्ध हुन आउने सबैलाई समेटेर जाने हो । अहिले आम देशवासीले नेपाली कांग्रेस भनेर चिनेको सभापति गगनकु्मार थापा नेतृत्वको नेपाली कांग्रेस हो,’ राईले भने, ‘यदि त्यसो होइन हाम्रो पार्टीको झण्डा र रुख चिन्ह प्रयोग गरेर कुनै कार्यक्रम आयोजना हुन्छ भने हामीले भन्दा पनि निर्वाचन आयोगले जान्ने कुरा हो ।’
संविधान र लोकतान्त्रिक व्यवस्था संरक्षणका लागि नागरिकको विश्वास जित्न कांग्रेस तयार रहेको सन्देश तल्लो तहमा पुर्याउनुपर्ने विषयमा केन्द्रित भएर सदस्यहरुले कुरा राखिरहेको बताए ।
नेपाली कांग्रेस पार्टीमा आबद्ध हुन चाहाने सबैलाई समेटेर अघि बढ्ने समेत उनले बताए । उनले पार्टीको आधिकारिकताको विवाद समाप्त भइसकेको समेत दाबी गरे ।
‘बैठकमा कांग्रेस तयार छ भन्ने अभियान कसरी अगाडि बढाउने र उक्त अभियानलाई कसरी ग्रासरुटसम्म पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । र केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राख्ने कार्य जारी छ । नेपाली कांग्रेस अगामी दिनमा हुने स्थानीय र प्रदेश निर्वाचनको लागि तयार छ,’ उनले भने ।
उनका अनुसार बैठकमा सहभागी केन्द्रिय सदस्यहरूले पार्टीको संगठनात्मक अवस्था, समसामयिक राजनीतिक परिस्थिति र पार्टीले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा आ–आफ्ना धारणा प्रश्तुत गरिरहेका छन् ।
बैठक बिहीवार बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रतिक्रिया 4