News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढी पीडित व्यवस्थापन, राहत, खोज तथा उद्धार र पुनर्स्थापनाका लागि संसद् सुचारु गर्न आवश्यक रहेको बताएका छन्।
- उनले नागरिकलाई सरकारप्रति विश्वास दिलाउन र राज्य जवाफदेही छ भन्ने अनुभूति गराउन संसद सञ्चालन अपरिहार्य रहेको बताए।
- राईले संसद् सुचारु गरेर राहत वितरण र पुनर्संरचनाका लागि उच्चस्तरीय संयन्त्र गठन गर्न सरकारसँग आग्रह गरे।
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले नागरिकलाई सरकारप्रति विश्वास दिलाउन संसद् सुचारु गर्न आवश्यक रहेको बताएका छन् ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बाढी पीडितहरूको व्यवस्थापन तथा पुनर्स्थापना लगायतका विषयमा छलफल गर्न संसद सुचारु गर्न आवश्यक रहेको बताए ।
नागरिकलाई सरकारप्रति विश्वास दिलाउन र राज्य जवाफदेही छ भन्ने अनुभूति गराउन संसद सञ्चालन आवश्यक रहेको उनको भनाइ छ ।
‘यो विपत्ति सरकारलाई मात्र आएको होइन, हामी सबैलाई आएको हो । त्यसैले यो विपत्तिमा एकजुट हुनुपर्ने स्थिति छ । तर त्यसको समन्वयकारी भुमिका मुख्यत: सरकारले नै गर्नुपर्छ । सरकारले यो बेलामा सदनलाई पनि सुचारु गर्नुहुन्छ भन्ने लागेको थियो,’ सांसद राईले भने, ‘किनभने यो बेला जवाफदेहीता अत्यन्त धेरै चाहिएको छ । नागरिकलाई विश्वास चाहिएको छ । नागरिकमाथि तपाईंको सरकार छ भन्नेकुराको आभास चाहिएको छ ।’
संसद् सुचारु गरेर राहत वितरण, खोज तथा उद्धार, पुन:स्थापना र पुनर्संरचनालगायतका काम निष्पक्ष र प्रभावकारी ढंगले अघि बढाउन उच्चस्तरीय संयन्त्र गठन गर्न आग्रह गरे ।
संसद्मा विपत्तिसँग सम्बन्धित विषय उठ्ने र ती विषयका आधारमा सरकार समाधानतर्फ अघि बढ्नुपर्ने उनको भनाइ छ ।
‘एकद्वार प्रणाली राहत वितरणको कुरा भएको छ । पुन:स्थापना कुराको कुरा भएको छ । सँगै तपाईंको अन्य जति पनि काम भइरहेको छ, त्यो निष्पक्ष ढंगबाट गर्नको लागी सरकारले पक्कै पनि उच्चस्तरीय समिति गठन गर्नेछ । सदनलाई पनि सुचारु गर्नेछ र सदनमा यस विषयमा तपाइँको थुप्रै कुराहरू उठ्नेछन्, ती उठेका कुराहरूलाई सरकार समाधान तिर लाग्नेछ भन्ने हामीलाई आशा छ, तर हामी परिपक्व पनि छौं,’ उनले भने ।
प्रतिक्रिया 4