News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार नागरिकको जीवन रक्षाभन्दा सामाजिक सञ्जाल व्यवस्थापनमा मात्र केन्द्रित भएको आरोप लगाएका छन्।
- उनले सरकारले नीति निर्माण गर्दा तल्लो तहका र विपन्न नागरिकको हितलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता औँल्याएका छन्।
- गृहमन्त्रीले आत्मदाहको घटनापछि पीडितसँग जाँदा युट्युबरलाई साथमा लगेको विषयलाई लिएर उनले सरकारको गम्भीरतामाथि प्रश्न उठाएका छन्।
२६ असार, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार नागरिकको जीवन र पीडाप्रति संवेदनशील हुनुको साटो सामाजिक सञ्जाल व्यवस्थापनमा मात्र केन्द्रित भएको आरोप लगाएका छन् ।
शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको कार्यशैली र नीति निर्माण प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका हुन् ।
हालै भएको गणेश नेपालीको आत्मदाहको घटनाप्रति दु:ख व्यक्त गर्दै सचेतक राईले नीति निर्माण गर्दा तल्लो तहका र विपन्न नागरिकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।
घटनापछि गृहमन्त्रीको सक्रियताप्रति टिप्पणी गर्दै राईले सरकारमा संवेदनशीलताको कमी देखिएको जिकिर गरे ।
‘हामीले बनाउने नीतिले मध्यमवर्गीय र निमुखा नागरिकको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने हेक्का नहुँदा आज यस्तो दु:खद् स्थिति सृजना भएको हो । संसद्मा नीति निर्माण गर्दा सत्ता र प्रतिपक्षभन्दा माथि उठेर आम नागरिकको हित हेर्न जरुरी छ,’ उनले भने, ‘गृहमन्त्री पीडितकहाँ जानु सकारात्मक भए पनि युट्युबरहरू सँगै लिएर जाने र लाइभ गर्ने कार्यले उहाँको गम्भीरतामाथि प्रश्न उठाएको छ । सरकार नागरिकको जीवन रक्षाभन्दा पनि सोसल मिडिया म्यानेजमेन्टमा बढी व्यस्त देखिएको छ ।’
यातायात नियमावलीमा जरिवाना वृद्धिको तयारी भइरहेको चर्चाप्रति असन्तुष्टि जनाउँदै राईले पूर्वाधारको विकास नगरी जरिवाना मात्र बढाउनु अव्यावहारिक हुने बताए ।
प्रतिक्रिया 4