+
+
Shares
पुस्तक–समीक्षा :

‘अ–विधवा’ र सात कथाको एक विहङ्गावलोकन

समग्रमा, सर्सर्ती पढ्दा ‘अ–विधवा’ किताबमा सङ्कलित कथाहरू भाषागत रूपमा सरल छन्, सहज छन्, सरस छन् ।

जयदेव गौतम जयदेव गौतम
२०८३ मंसिर १२ गते ६:३९

आफ्ना लामा कथाहरूको पहिलो सङ्ग्रह ‘गन्तव्य गणबहाल’ निकालेको ठ्याक्कै दश वर्षपछि सक्रिय वाङ्मयकर्मी गोविन्द गिरी प्रेरणा त्यस्तै लामा कथाहरूको दोश्रो सङ्ग्रह लिएर साहित्यको बगैंचा–बजारमा देखा परेका छन् । र, सात ओटा नयाँ लामा कथा समावेश गरेर निकालेको आफ्नो यस नयाँ सङ्ग्रहको शीर्षक उनले राखेका छन्, ‘अ–विधवा’, (पहिलो सङ्ग्रहमा आठ ओटा लामा कथा थिए) । यी बाहेक पनि प्रेरणाका पाँच ओटा कथा–सङ्ग्रह प्रकाशित छन् ।

त्यसो त लामा कथा भन्नुको महत्व र उपादेयताबारे बेग्लै बहस गर्न सकिन्छ, किनभने कथा साना वा लघु अनि औसत लम्बाइ र औसतभन्दा अझ धेरै लामा हुन सक्छन् । त्यसमा पनि लामा कथा नै लेख्छु भनेर सिर्जना गर्नु र लेख्दा–लेख्दै कथा लामो भइजानु अलग कुरा हो । विश्वेश्वर कोइरालाले लामा कथा लेख्ने भनेर ‘श्वेत भैरवी’ कथा–सङ्ग्रह छपाएका होइनन्, त्यस सङ्ग्रहमा भएका कथाहरू लेख्दा–लेख्दै लामा भएका हुन् ।

डा.अर्चना थापाले निकालेको ‘कठपुतला’ सङ्ग्रहमा भएका सबै कथा लामा छन्, तर कथाकार थापाले कतै पनि आफ्ना कथाहरूलाई ‘लामा कथा’ भनेर लेखेको वा सम्बोधन गरेको पाइँदैन । कुमार नगरकोटीले लामा कथा लेख्छु भनेर लेखेका होइनन्, उनले लेख्दा–लेख्दै उनका कथा लामा भएका हुन् र ‘मोक्षान्त फीभर : काठमाण्डू’ कथा–सङ्ग्रह बनेर बजारमा आएका हुन् । तर कलमकार प्रेरणाले घोषित तवरले नै आफ्ना कथा र ती कथाको सङ्ग्रहलाई ‘लामा कथा’ भनेका छन् । त्यसकारण यो सङ्ग्रहलाई त्यही रूप र त्यही बान्कीमा हेर्नु पर्दछ ।

पछिल्लो एक दशक लामो समयावधिमा आख्यानकार प्रेरणामा, उनको वैचारिकीमा र उनको भाषामा परिपक्वता थपिएर होला शायद, उनको दोश्रो सङ्ग्रहका लामा कथाहरू ‘गन्तव्य गणबहाल’ मा समावेश भएका कथाहरू भन्दा बढी पठनीय छन् । यद्यपि नयाँ र पुरानो दुवै सङ्ग्रहको मूलभूत विशेषता वा चासोका रूपमा यौन–जीवन, यौनाकर्षण र यौन–सम्बन्ध नै प्रमुख रूपले अभिव्यक्त भएको पाइन्छ, तापनि पछिल्लो सङ्ग्रहका कथाहरू समयको सुनामीले सामाजिक जीवनमा ल्याएका परिवर्तनहरूलाई समेत न्यून मात्रामा भए पनि अभिव्यक्त गर्न पछि परेका छैनन् ।

प्रेरणाको यस नयाँ सङ्ग्रहको शीर्षकले नै सर्वप्रथम पाठकको ध्यान आकर्षित गर्छ, के कति कारणले र किन यस्तो शीर्षक राखेको होला ? किनभने, समाजमा केवल सधवा र विधवा भन्ने शब्द मात्र सुन्दै आइएको यथार्थ अवस्था, भने अ–विधवा भन्ने शब्द नै अक्सर नसुनिएको शब्द हो, नयाँ शब्द हो, चलनचल्तीमा कतै नदेखिएको शब्द हो । अ–विधवा भनेर के भन्न खोजिएको हो, वा, सकारात्मक अथवा नकारात्मक के सन्देश दिन खोजिएको हो ?

सङ्ग्रहको पहिलो कथा यही ‘अ–विधवा’ शीर्षकमा छ । तर कथामा नै पनि यो शब्द केवल चार–पाँच पटक मात्र उच्चरित भएको छ– शुरूमा संवादको क्रममा, र त्यसपछि, आत्मालापको स्वरूपमा । यसरी कथाकारले यो शब्दलाई केवल साङ्केतिक रूपमा मात्र उल्लेख गरेका छन्, र विस्तृत रूपमा बुझ्न पाठकलाई नै स्वतन्त्र छाडीदिएका छन् ।

इम्प्रिन्ट पब्लिशर्स प्रा.लि., काठमाडौंले पुस २०८२ मा पहिलो पटक प्रकाशित गरेको ‘अ–विधवा’ २६० पृष्ठसम्म लम्बिएको छ । र, यस सङ्ग्रहका समग्र कथाहरूमा थुप्रै पात्र छन् । ती सबै पात्रले एक अर्काभन्दा फरक र आ–आफ्नै जीवन बाँचेका छन् । तर पात्रहरूको जीवन भोगाइमा भने यस्तो वा उस्तो किसिमको एक प्रकारको समानता भेटिन्छ ।

किताबमा अटाएका सात कथामध्ये पहिलो र सङ्ग्रहकै मूल शीर्षक पनि रहेको कथा हो ‘अ–विधवा’ । छब्बीस पृष्ठ लामो यो कथा पढ्दा कतिपय पाठकलाई झ्वाट्ट वी.पी.कोइरालाको उपन्यास ‘तीन घुम्ती’ र त्यसकी मूलपात्र इन्द्रमायाको जीवन सम्झना भएर आउँछ । ‘अ–विधवा’ कथाकी मूलपात्र म अर्थात् मृदुलाको जीवनले तीन घुम्ती पार गर्नु त पर्दैन तापनि जीवनमा तीन पटक विधवापनरूपी अनिच्छित अवस्थाको अनुभव भने गर्नु पर्दछ ।

विवाह गरेका प्रथम दुई लोग्नेको दुर्घटनामा अकाल मृत्यु हुनु र तेश्रो विवाह गर्न तम्तयार भइरहेको बेला तेश्रो पुरुषको पनि अप्रत्याशित निधन हुनुले पहिलो पति जनकबाट एक छोरा सन्तान रोहितकी आमा भएकी मृदुला फेरि अर्को विवाह नगरी अ–विधवाका रूपमा रहने स्व–निर्णयमा पुगेकी देखाइएको छ । यो कथा पढीसक्दा रचनाकार प्रेरणाले मौन सन्देश दिँदै भन्न खोजेको प्रतीत हुन्छ, लोग्ने दिवङ्गत भएपछि अर्को विवाह गर्नुभन्दा बरु नयाँ विवाह नगरीकन बस्नु र त्यसरी जिन्दगीका दिनहरू बिताउँदै गर्दा सामाजिकताको आवरणमा आफ्नो स्वच्छन्द यौन जीवनलाई पनि निरन्तर कायम राख्दा अन्यथा हुँदैन ।

सङ्ग्रहको दोश्रो कथा चौंतीस पृष्ठ लामो ‘जुनू भाउजू’ हो जसको मूल पात्र गोपालले प्रथम पुरुष शैलीमा आफ्नो किशोर वयको यौन मनोविज्ञानजन्य स्मृति–अनुभूति भनेको छ । सेन्ट–अप परीक्षा उत्तीर्ण गरेपछि एस.एल.सी. दिने तयारीका लागि हेटौंडा शहरको एक घरमा ‘पेइङ गेष्ट’ भएर बस्न पुगेको गोपाल नामधारी किशोर र त्यही घरकी युवा बुहारी ‘जुनू भाउजू’ बीचको अज्ञात एवं काल्पनिक यौन–सम्बन्ध नै यस कथाको आधारभूमि हो ।

सुत्ने कोठाबाट राति घरबाहिरको शौचालय गएर फर्किंदा उसले जुनू भाउजू सुत्ने कोठामा बत्ती बलिरहेको र झ्यालमा रहेको सानो प्वालबाट बत्तीको उज्यालो बाहिरसम्म आइरहेको देख्छ । किशोरसुलभ जिज्ञासाले डोरिएर गोपालले त्यही प्वालबाट चियाएर हेर्छ, दिनहूँ हेर्छ र भित्र जुनू भाउजूको कहिले अर्धनग्न शरीर त कहिले भित्री पहिरन धेरै माथिसम्म सरेको देख्छ । उसलाई सधैँ यसै गरी जुनू भाउजू सुतेको हेर्न रुचिकर लाग्छ । त्यसरी हेरेर भित्र आफ्नो ओछ्यानमा सुतेपछि उसलाई स्वप्नदोष हुन्छ र सपनामै ऊ स्खलित हुन्छ ।

कथाको अन्त्यतिर, पारिवारिक एवं जागीरे जीवन बिताइरहेको गोपालले कुनै एउटा भोजको अवसरमा अप्रत्याशित रूपमा जुनू भाउजूले आफूलाई बोलाएको सुन्छ । दुवै जनामा ढल्कँदो उमेरको छाप स्पष्ट देखिएको हुन्छ, उनीहरूबीच सामान्य कुराकानी हुन्छ, र गोपालले उहिल्यै रातिको अँध्यारोमा ढोकाको प्वालबाट चियाएर जुनू भाउजू सुतेको हेर्ने गरेको सम्झिन्छ । जुनू भाउजू उसको मनोदशाप्रति निस्पृह छिन्।

सङ्ग्रहको तेश्रो कथा ‘भिनाजुको काख’ ले छत्तीस पृष्ठसम्म लडीबुडी गर्दै सात जना पात्रको कहानी भन्छ । त्यसो त यो कथा पढ्नुअघि नेपाली कथाका नियमित पाठकहरूले पुराना कथाकार पोषण पाण्डेको चल्तीको कथा ‘भिनाजूको स्वीटर’ को सम्झना गर्न सक्छन्, तापनि दुवै कथाको मूल चरित्र यौन मनोविज्ञान भए पनि नेपाल र अमेरिका गरी द्विदेशीय परिवेशको चित्रण भएको यसको कथानक फरक छ । बाह्र वर्ष अमेरिकामा बसेर पनि रित्तो हात स्वदेश फर्केका मदनले सुकुमारी कन्या मीरासँग विवाह गर्छ । पतिले आफूलाई पनि अमेरिका लैजान्छ भन्ने सपना मीराले पालेकी हुन्छे । तर त्यही बीचमा मीराकी बहिनी (र, मनोजकी साली) समीरालाई अमेरिका बस्न जाने डीभी चिठ्ठा पर्छ । र, चलाखीपूर्वक सबैलाई विश्वस्त तुल्याई समीरासँग कृत्रिम एवं कागजी विवाह गरी मनोज फेरि अमेरिका पुग्छ । यता नेपालमा बसेकी मीरा आफ्नो लोग्ने सालीसँग सल्किएको, उनीहरूबीच यौन समागम हुने गरेको र समीरा गर्भवती समेत भइसकेको आदि जस्ता मनोतर्कनाको भुमरीमा जेलिएर बसेको देखाइएको छ ।

सङ्ग्रहको चौथो कथा ‘पूर्वप्रेमिकासँग एक साँझ’ पनि पहिलो कथा जस्तै छब्बीस पृष्ठसम्म तन्केको छ र यसले गोपाल नाम भएको पुरुष ‘म’ पात्र र महिला पात्र रूपाबीच विवाहेतर यौन–सम्बन्धबारे बोलेको छ । शैलीगत रूपमा यो कथा धेरैजसो फ्ल्याशब्याक ढाँचामा अगाडि बढेको छ ।

सङ्ग्रहको पाँचौं कथा ‘सङ्क्रान्ति बजार होटल एन्ड लज’ ले बत्तीस पृष्ठसम्म खेल्ने अवसर पाएको छ । यस कथामा पनि मूल पात्र गोपाल नाम भएको (‘म’ पात्र) पुरुष नै देखाइएको छ र कथाले भने शीर्षक अनुकूल नै तेह्रथुम जिल्लाको सङ्क्रान्ति बजारको आधारभूमि बोकेको छ । तेह्रथुम पुगेको बेला गोपाल त्यहाँको चर्चित मदन मेला भर्न पुग्छ र तीन पाने रक्सीको नशामा झाडीतिर पुगेर कुनै अज्ञात युवतीसित सहवास गर्छ । धेरैपछि राजधानी काठमाडौंको परिवेशमा कथा अगाडि बढ्दै जाँदा बालाजु क्षेत्रमा खोलिएको ‘सङ्क्रान्ति बजार होटल एण्ड लज’ को चर्चा हुन्छ । त्यस लजकी अविवाहित साहुनी ‘साहिँली’ उही सङ्क्रान्ति बजार मेलाको बेला झाडीमा सहवास भएकी युवती भएको यथार्थ गोपाललाई थाहा हुन्छ । रक्सी, बियर, तोङ्बा, सितन र यौन यस कथाका सहायक पात्र हुन् ।

छैटौं कथा ‘सुनसान बस्तीमा अन्तिम संवाद’ सङ्ग्रहकै सबभन्दा छोटो कथा हो । जम्मा बाइस पृष्ठ लामो यो कथा यस सङ्ग्रहकै श्रेष्ठ कथा पनि हो । प्रस्तुत कथा अलि बढी वैचारिक, अलि बढी गहन र अलि बढी प्रभावोत्पादक हुन सकेको भए यो कथा मुलुकको सशस्त्र–द्वन्द्वकालीन सामाजिक चित्रणको श्रेष्ठतम कथा हुन सक्ने सम्भावना थियो । यस कथामा मूलतः दुई पात्र छन्, ‘म’ (सदानन्द माड्सापको छोरा) र ‘डल्ले’ वा ‘अनाम मान्छे’ (स्कूलको पियन डल्ले थापा मगर) । कथाको नायक म पात्र हो र कथा उसँगै अगाडि बढ्छ, भने डल्ले सह–नायक हो र कथालाई अगाडि बढाउने कार्य उसैले गरिरहेको हुन्छ । विगत र वर्तमानका तमाम घटना–श्रृङ्खला उजागर गरेको भए पनि कथा भने केवल एक रातको परिभ्रमण हो ।

तीस वर्षपछि आफ्नो गाउँबस्ती हेर्न–घुम्न निस्केको म पात्र अन्तिम चौतारी नाघेर गाउँ प्रवेश गर्न लाग्दा डल्ले भेट हुन्छ र उसैले गाउँ घुमाउन थाल्छ । डल्लेले घर–बस्ती मात्र देखाउँदैन, सबैको पृष्ठभूमि र कथा पनि भन्दै जान्छ, जतिबेला म पात्रले सुन्ने र सोध्ने गरिरहन्छ । यसरी कथाभित्र द्वन्द्वकालसँग जोडिएका –माओवादीको चन्दा आतङ्क, त्रास, हत्या, लूट, यौन–दुव्र्यवहार, र सरकारी आतङ्क एवं दमन आदि– तथ्यहरू उपकथा बनेर आएका छन् । कथामा बस्ती र बस्तीवासीहरूको दुःख छ, पीडा छ, आर्तनाद छ, र मार्मिक चित्कार पनि छ ।

कथाका अन्य पात्रमा हेडसर पीताम्बर सरको कुरा छ जसले ‘दुई र दुई जोड्दा चार हुन्छ, दुईले दुईलाई गुणा गर्दा पनि चार नै हुन्छ’ भनेर सिकाउने गर्थे, पाले आले दाइ, माया सुँडेनी, पूर्णमान साहु र श्रीमती छममाया, माइजू टेलर्स, पूर्ण वैद्य बाको मेडिकल, प्रणिता आदिआदि अनेक पात्र छन् । अन्य पात्र र गाउँबारे बताउने सन्दर्भमा एक पटक डल्लेले भनेको हुन्छ, ‘यो गाउँमा जिम्दा मान्छे कोही छैनन् । यो गाउँ विनाश भयो । मानिस सारा विनाश भए । जो बचेका थिए, तिनीहरू पनि यो गाउँ छाडेर गए । यो गाउँको नाउँ नै त्यसपछि विनाशपुर भयो । कसैकसैले निर्जनपुर पनि भन्छन् ।… म यो गाउँको पाठशालाको पाले थिएँ । अहिले गाउँको भग्नावशेषको पाले भएको छु ।’ (पृ.१८९) ।

कथामा यस्ता पङ्क्तिहरू अरू पनि छन्, जसले पाठकको मन छुने सबल सम्भावना छ ।किताबको अन्तिम तथा सातौं कथा ‘स्वप्नवत्’ सङ्ग्रहकै लामो कथा पनि हो, जुन उनन्पचास पृष्ठसम्म लम्बिएको छ । यस कथाले पञ्चायतकालीन राजनीति बोलेको छ, खासगरी वि.सं.२०३६–२०३७ सालको जनमत–सङ्ग्रह समयावधिको । सामान्य परिवारकी कामिनी भन्ने युवती पद्मकन्या क्याम्पसमा पढ्ने गर्छे, समयक्रममा उसको भेट राजतीतिमा सक्रिय कुलीन घरानाकी सहारा शाहसँग हुन्छ ।

सहाराले कामिनीलाई उपहार दिने, पैसा दिने र अन्य सहयोग गर्दै राजनीतिमा लाग्न प्रेरित गरिरहेकी हुन्छे, तर खासमा सहारा समलिङ्गी हुन्छे र कामिनीलाई आफ्नो समलिङ्गी साथी बनाउँछे । पछि एकपटक सहारा कामिनीलाई आफ्नो घरमा बस्न–सुत्न अह्राएर पोखरा गएकी हुन्छे । त्यही बेला सहाराका दाइ मोहन शाहले कामिनीलाई फकाई–फुल्याई–धम्क्याई सहवास गर्छ । यसरी राजनीतिमा लाग्न खोजेकी कामिनी कुलीन घरानाका दाइ र बहिनीको यौन–खेलौना बन्न पुग्छे ।

उता मन्त्री बन्ने लालसामा दौडीरहेकी सहारा मन्त्री बन्न असफल हुन्छे । कामिनीको विषयलाई लिएर दाइ–बहिनीबीच वादविवाद हुन्छ, गोली हानाहान हुन्छ, र दुवैको मृत्यु हुन्छ । सहाराको राजनीति अकाल मृत्युमा सकियो । सहारा र मोहन शाहबाट टाढिन पुगेकी कामिनी आफ्नै मामा शङ्करबाट पनि सम्पत्तिमा नराम्ररी ठगिन्छे, छलिन्छे । र, केही समयपछि उसको सहवास अर्को पुरुषसँग हुन्छ । अन्ततः कामिनीको राजनीति पनि असफलतामा सकिएको हुन्छ तर उसले मोहन शाहबाट पाएको छोरा मृदुललाई राजनीतिमा लागेको सपना र कल्पना गर्न छाडेकी हुँदिन ।

कथाको संसारबाट निस्केर भाषागत रूपमा दृष्टिपात गर्दा, ‘अ–विधवा’ मा सङ्कलित कथाहरू यद्यपि केही ठाउँमा शब्द–प्रयोग वा शब्द–विन्यास कदाचित् असजिलो महसुस हुन्छ । जस्तो, ‘दूध उम्लियो र अलिकति भाँडोबाट बाहिर गयो ।….. अनि कफीको बट्टा निकालेर कपमा राखें…. चम्चाले कफी घोलेर सानो किस्तीमा राखें ।…’(पृ.४७), ‘स्वयम्भू देखियो । तिनका जोर आँखा पनि देखिए ।…’ (पृ.४९), ‘…पिठ्युँमा राख्ने झोला बोकेर (पृ.१५७) (झोला पनि कहाँकहाँ राख्ने हुन्छ र ?).., खानापछि हामी आफ्नो गन्तव्यका लागि आआफ्नो कुटुरो, ब्याग, झोला बोकेर हिँड्यौं (पृ.१५९)।

(केही दिनको भ्रमणमा हिँडेका यात्रीहरूको झोला पनि कत्रा र कस्ता कस्ता ?)…, उसले अलि स्वर सानो पारेर भन्यो...(पृ.१८८)…, त्यो मानिस मलाई ट्वाल्ल हेर्दै बूढो सल्लाको रुख सुसौ झैं बोल्यो…(पृ.१८९)…, उनको गजबको अनौठो बानी थियो, उनले रिसाउन जानेकै थिएनन्…(पृ.१९२)…,रेलको टिकट घोटेर ख्वाउँथिन् (पृ.१९५)…मैले पनि धारामा गएर पानी पिएँ…. मैले पनि अँजुलीले पानी खाएँ...(पृ.१९८)…, माइजू एक्लो भएपछि गाउँ फर्किन् र टहरो बनाएर त्यहीँ टेलर खोलिन्… (पृ.२०१)…गालामा चाउरी परे (पृ.२०५)...विमानमा उद्घोषण भएको आवाजले कामिनी ब्यँुझिएकी थिई… (पृ.२२३)…, सूर्यनाथ तीन दिनसम्म कतै निस्किएन । मोटा–मोटा दर्शनशास्त्र र इतिहासका पुस्तकमा डुबिरह्यो… (पृ.२५२)...।।। आदि आदि ।

कतिपय ठाउँमा कथा त्यसैत्यसै लामो बनाउन खोजेको, अथवा, बलपूर्वक लम्याउन खोजेको जस्तो महसुस हुन्छ । आश्चर्यचकित भएको भाव व्यक्त गर्न ‘म छक्क पर्छु, म ताज्जुब मान्छु, म अचम्म पर्छु, म आश्चर्य मान्छु, म विस्मित हुन्छु’ भने झैं एउटै कुरा या वस्तुस्थिति भन्नलाई धेरै वाक्य प्रयोग गरिएको छ । अझ, केही ठाउँमा उही पात्रको नाम नै पनि फरक हुन गएको छ (जस्तो, मोहन राजाको ठाउँमा श्याम राजा) ।

सारमा, यी तथ्यहरूले किताब छाप्नुभन्दा पहिले कथाहरूको परिमार्जन र सम्पादन गर्नेतिर समुचित ध्यान नदिइएको अनुमान गर्न दुई पटक सोच्न पर्दैन । केही कुरा भूमिकाबारे पनि भन्नुपर्ने हुन्छ । सङ्ग्रहको गुणकथन जस्तो अनुभूत भइरहने भूमिका प्रा.डा.लक्ष्मणप्रसाद गौतमले लेखेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागमा प्राध्यापन गरेका डा.गौतमको पच्चीस पृष्ठ लामो भूमिका उच्च प्राज्ञिक शब्द–शब्दावलीले भरिभराउ छ, र त्यस कारण, कथा पढ्न रुचाउने अनि पढ्ने आम पाठकको बुझाइको परिधिभन्दा लगभग बाहिर छ ।

लामा कथाहरूको भूमिका लेखेको भए पनि उनले वी.पी.कोइराला, डा.अर्चना थापा वा अविनाश श्रेष्ठका लामा कथाहरूको उल्लेख नै गरेका छैनन् । के रमेश विकल र नारायण ढकाल वा अन्य कथाकारका कुनै पनि कथा लामा कथाको श्रेणीमा पर्दैनन् ? यो पक्षमा उनी दिशाहारा देखिन्छन् ।

प्रा.डा.गौतम मात्र होइन, वाङ्मय क्षेत्रमा बलियो गरी स्थापित अन्य अनेक लेखकजन पनि लामा कथा (र, लघु–उपन्यास) बारे प्रष्ट नभएको र नरहेको देखिन्छ । खासमा लामा कथा भन्ने कुरा नै लेख्ने–लेखाउने र छाप्ने–छपाउने सवाल नै अलि पेचिलो कुरा हो । जुनकुनै पत्रिकामा आठ–दस हजार शब्द लामा कथा छाप्न स्थानकै अभाव हुन्छ, भने अनलाइनहरूमा पनि यति लामो रचना पढ्न पाठकले द्यौ मान्ने बलियो सम्भावना हुन्छ । सशक्त रचना छ र पाठकको ध्यान निरन्तर तान्न सफल छ भने त लामो भए पनि पढ्न त्यति कष्टकर होवोइन, अन्यथा त छापिने स्थानको अर्थहीन ओगटाई मात्र ठहरिन्छ ।

देशका कतिपय स्वनामधन्य कलम–पण्डित चीनियाँ लेखक लू शूनको रचना ‘आह क्यूको साँचो कथा’, भारतीय लेखक फणीश्वरनाथ रेणुको ‘तीसरी कसम’ (यसको शीर्षक ‘मारे गए गुलफाम’ पनि हो), रुसी लेखक फ्योदोर दोस्तोएभस्कीको ‘नोट्स फ्रम अन्डरग्राउन्ड’, जर्मनभाषी लेखक फ्रान्ज काफ्काको ‘मेटामर्फसीस’, अमेरिकी लेखिका अदिता मोरिसको ‘फ्लावर्स अफ हिरोशिमा’ (नेपालमा यो पुस्तक ‘हिरोशिमा के फूल’ शीर्षकमा हिन्दी अनुवादमा उपलब्ध हुन्थ्यो), त्यस्तै अर्का अमेरिकी लेखक अर्नेष्ट हेमिङ्ग्वेको ‘द ओल्ड म्यान एण्ड द सी’ आदि अनेक कृतिहरूलाई लामा कथा हुन् भनेर पण्डित्याइँ बघार्छन् ।

यथार्थ त के हो भने ती रचनाहरू लामा कथा होइनन्, लामा कथाको श्रेणीमा पनि आउँदैनन् । बरु ती सबै उपन्यास हुन्, भलै विस्तार र पृष्ठको सन्दर्भमा छोटा नै किन नहून्, र, त्यस कारण, उपन्यासिका वा नोभेला कहलिन्छन् । ठीक त्यसरी जसरी बी.पी.कोइरालाको ‘मोदीआइन’ लामो कथा होइन, उपन्यास हो, र, ठीक त्यसरी जसरी पारिजातको ‘शिरीषको फूल’, ‘अन्त्यहीन’ र ‘तोरी बारी, बाटा र सपनाहरू’ अनि लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ अनि शङ्कर कोइरालाको ‘खैरिनीघाट’ अनि वानीरा गिरिको ‘कारागार’ आदि लामा कथा नभएर लघु–उपन्यास हुन् ।

जेहोस्, लामो कथाको लेखन परम्परालाई अगाडि बढाउने हो यदि भने कथाकार, समालोचक, समीक्षक र सचेत पाठकहरू सबैले गहन एवं तार्किक छलफल गर्नुपर्ने आवश्यकता छ ।

समग्रमा, सर्सर्ती पढ्दा ‘अ–विधवा’ किताबमा सङ्कलित कथाहरू भाषागत रूपमा सरल छन्, सहज छन्, सरस छन् र पढ्नका लागि सुललित पनि छन् । शैलीमा गद्य र पद्यको मीठो सन्तुलन छ भने व्याख्यानमा कतै दुरूहता वा कृत्रिमता छैन, कुनै गूढता देखिँदैन ।

यसो भए तापनि यी कथामा जीवन्तता छैन, जीवनको सङ्घर्षशील गीत छैन, जीवनको सुखानुभूति जगाउने गहिराइ छ्रैन, जीवनको सङ्गीत सुन्न सकिँदैन, बरु केवल एउटा पक्ष यौन–भावनालाई कथाको प्रमुख आधार अनि मुख्य सम्बल बनाइएको छ । र, स्पष्ट छ, केवल भाषाले मात्र कथाहरूमा दूरगामी प्रभाव दिन सकिँदैन ।

साहित्य लेख्नु भनेको समाजशास्त्र होइन, न हो इतिहास, भूगोल वा विज्ञान । खासमा साहित्य लेखन त कला हो, जसमा अनुभव, कल्पना र यथार्थको सुन्दर मिश्रण हुन्छ । आफ्नो कथा–सङ्ग्रह ‘अ–विधवा’ मा प्रेरणाले पनि यही यथार्थ र कल्पनाको सुन्दर मिश्रण गरेका छन् । उनले यथार्थमा आधारित काल्पनिक कथा पस्केका छन्, र त्यसका लागि उनका पात्रहरू काल्पनिक नै भए पनि ती सबै पात्र वास्तविक जीवनबाटै लिएका छन् । यसो भएर पनि सरल भाषा र सपाट कथानक भएका यी कथा पढेर पाठकले वैचारिक कशमकश अनुभव गर्न भने पाउँदैनन् बरु आफू बौद्धिक विलास गर्नबाट वञ्चित हुनुपरेको नीरस अनुभूति भने गर्ने नै छन् ।

लेखक
जयदेव गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?