+
+
Shares

मेलानको अध्यक्षमा कृष्णप्रसाद रिजाल चौथोपटक निर्विरोध निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १८:०३

१० मंसिर, काठमाडौं । मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) को अध्यक्षमा कृष्णप्रसाद रिजाल चौथोपटक निर्विरोध निर्वाचित भएका छन् । सुर्खेतमा सम्पन्न संस्थाको पाँचौँ राष्ट्रिय सम्मेलनले रिजालको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

निर्वाचन समितिका संयोजक गुणनिधि खनालका अनुसार नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शंकर पौडेल, उपाध्यक्षमा रमेश खड्का, सूर्य पोखरेल र दयाराम पंगाली चयन भएका छन्। त्यस्तै, महासचिवमा रमेश अधिकारी, कोषाध्यक्षमा गोपाल थापा तथा सचिवमा रोशन परियार र रुद्रबहादुर कार्की निर्वाचित भएका छन्।

केन्द्रीय कार्यसमिति सदस्यमा महिला समूहबाट सम्झना श्रेष्ठ, तिब्रता शर्मा र विमला शर्मा न्यौपाने चयन भएका छन् । प्रदेशगत प्रतिनिधित्वका आधारमा कोशी प्रदेशबाट अंशु ठाकुर, कुलदीप चौरी र लोकनाथ पौडेल, मधेश प्रदेशबाट विजयकुमार यादव र सुमितकुमार पाण्डे तथा बागमती प्रदेशबाट मणिराम महतो, पुष्कर सत्याल, शंकर शाही र रोहित रानामगर केन्द्रीय सदस्यमा चयन भएका छन्।

त्यसैगरी लुम्बिनी प्रदेशबाट नारायण पौडेल, प्रेमकुमार क्षेत्री र केशव ज्ञवाली, गण्डकी प्रदेशबाट काशीराम सुवेदी, कर्णाली प्रदेशबाट भुवन भारती र पूर्णप्रसाद गैरे तथा सुदूरपश्चिम प्रदेशबाट सर्जनबहादुर शाही केन्द्रीय सदस्यमा चयन भएका छन्।

यसअघि मेलानको नेतृत्व लामो समयसम्म राजेन्द्र खड्काले सम्हाल्दै आएका थिए। सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा मुख्यमन्त्री शाहीले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार गर्ने क्रममा प्रयोगशाला सेवालाई पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

कोरोना महामारीपछि स्वास्थ्य क्षेत्रमा प्रयोगशालाको महत्त्व थप स्पष्ट भएको उल्लेख गर्दै उनले निजी क्षेत्रका प्रयोगशालाकर्मीलाई नयाँ प्रविधिसम्बन्धी तालिम प्रदान गरी गुणस्तरीय सेवा विस्तार गर्नुपर्ने बताए।

कार्यक्रमका विशिष्ट अतिथि कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले निजी क्षेत्रका स्वास्थ्य संस्थालाई गुणस्तरीय सेवा प्रवाहका लागि सञ्चालन अनुमतिपत्र लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरे। अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियामा रहेका संस्थालाई आफूले आवश्यक सहयोग गर्ने उनको भनाइ थियो।

सम्मेलनमा स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका निर्देशक करुणा भट्टराई, कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक प्रकाशचन्द्र कार्की, कर्णाली प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक कमलकुमार थापा तथा मेलानका संरक्षक कृष्ण रिजाललगायतले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका थिए।

संस्थाका अध्यक्ष राजेन्द्र खड्काले आगामी कार्ययोजनासहितको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष पिताम्बर पन्थले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बन्दसत्रले दुवै प्रतिवेदन पारित गरेको थियो। सम्मेलनमा देशभरबाट करिब १५० प्रतिनिधि र ५० पर्यवेक्षक सहभागी भएको जनाइएको छ।

मेलान नेपालमा स्वास्थ्य प्रयोगशाला सेवालाई गुणस्तरीय, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यले स्थापना भएको प्रयोगशालाकर्मीहरूको पेसागत संस्था हो। यसले मेडिकल ल्याबोरेटरी क्षेत्रमा कार्यरत जनशक्तिको पेसागत हकहित संरक्षण, क्षमता विकास तथा स्वास्थ्य प्रयोगशाला सेवाको सुधारका विषयमा पैरवी गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?