+
+
Shares
रसुवा बाढी :

तीन महिनादेखि शवको प्रतीक्षामा आफन्त : डीएनए मिल्यो, शव पाएनन्

डीएनए मिलेका शवसमेत कसको हो भन्ने व्यक्तिगत पहिचान गर्नुपर्ने भएपछि शव हस्तान्तरण प्रक्रिया लम्बिएको छ ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ मंसिर १० गते १८:४३

१० मंसिर, काठमाडौं । रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको तीन महिना बित्यो । तर परिवारले मृतकको शव पाउन सकेका छैनन् ।

बाढीमा बेपत्ता भएका आफन्तको शव पर्खिरहेका परिवारका लागि डीएनए परीक्षणको नतिजा आउनु केही आशा बने पनि त्यसले मात्रै शव बुझ्ने बाटो खुलेको छैन ।

डीएनए मिलेका शवसमेत कसको हो भन्ने व्यक्तिगत पहिचान गर्नुपर्ने भएपछि शव हस्तान्तरण प्रक्रिया लम्बिएको छ ।

गत १० भदौमा आएको भोटेकोशी बाढीपछि विभिन्न जिल्लाका नदी किनारमा फेला परेका शव तथा अवशेषबाट १ हजार ४४५ वटा नमुना संकलन गरिएको थियो । तीमध्ये ११२ वटाको मात्रै सनाखत गरी आफन्तलाई बुझाइएको छ । पहिचान हुन नसकेका १ हजार ३४५ शव भने जमिनमुनि गाडिएका छन् ।

यस्तै, बेपत्ता व्यक्तिका आफन्त तथा परिवारका २ हजार १११ जनाको रगतको नमुना संकलन गरिएको थियो । अधिकांश नमुनाको डीएनए प्रोफाइल तयार भइसकेको छ । ३५० को हाराहारीमा आफन्तसँग डीएनए नमुना मिलेको छ । तर डीएनए मिल्दैमा शव परिवारलाई बुझाउन नसकिने विज्ञ बताउँछन् ।

शव कुन परिवारको हो भन्ने पहिचान हुनु र परिवारको कुन सदस्यको हो भन्ने यकिन हुनु फरक विषय भएकाले अहिले पहिचान प्रक्रिया नै जटिल बनेको छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको डीएनए शाखा प्रमुख निराजन थापाका अनुसार डीएनए परीक्षणबाट आफन्तसँग मिलान भएका नमुना र शवको पहिचानसम्बन्धी अन्य विवरणलाई एकीकृत गरेर व्यक्तिगत पहिचान गर्ने काम भइरहेको छ। यस्तो परीक्षण र विश्लेषण अझै बाँकी छ ।

‘धेरै परिवारले एकभन्दा बढी सदस्य गुमाएका छन् । डीएनए मिल्दा पनि त्यस नुमना परिवारका बेपत्ता सदस्य जो कोहीको हुनसक्छ । डीएनए मिल्दैमा मात्रै शव कसको हो भन्ने खुल्दैन,’ थापा भन्छन्, ‘एउटै परिवारका धेरै सदस्य बेपत्ता भएको अवस्थामा परिवारका सदस्यसँग डीएनए मिल्यो भन्दैमा कुन व्यक्तिको शव हो भनेर छुट्याउन सकिँदैन । त्यसका लागि पोस्टमार्टम रिपोर्ट, शव संकलन गर्दाको विवरण र डीएनए रिपोर्ट सबैलाई एकै ठाउँमा राखेर हेर्नुपर्छ ।’

डीएनए मिले पनि शव बुझाउन थप प्रक्रिया

अहिले डीएनए परीक्षणको नतिजा आइसकेका नमुनाको व्यक्तिगत पहिचान गर्ने काम भइरहेको छ । त्यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको विपद् पीडित पहिचान टोलीकी संयोजक फरेन्सिक विशेषज्ञ डा. सिर्जना कुँवरको नेतृत्वमा छुट्टै टोली बनाइएको छ ।

टोलीमा प्रहरी, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला लगायतका निकायका प्रतिनिधि सहभागी छन् । उक्त टोलीले विभिन्न अस्पतालमा गरिएको पोस्टमार्टमको प्रतिवेदन, शव तथा अवशेष संकलन गर्दाको विवरण र डीएनए परीक्षणको नतिजालाई एकीकृत गरी प्रत्येक शवको छुट्टाछुट्टै व्यक्तिगत फाइल तयार पारिरहेको छ ।

शव फेला परेको स्थान, महिला वा पुरुषको विवरण, पोस्टमार्टम प्रतिवेदन र आफन्तसँगको डीएनए मिलानलाई एकै ठाउँमा राखेर विश्लेषण गरेपछि मात्रै व्यक्तिको पहिचान खुल्ने थापाले बताए ।

यसअघि जिल्लागत रूपमा पहिचान गरेर शव हस्तान्तरण गर्ने विषयमा छलफल भए पनि त्यसमा अर्को समस्या देखिएको उनको भनाइ छ । एउटै व्यक्तिसँग सम्बन्धित अवशेष फरकफरक जिल्लामा फेला परेको हुनसक्ने भएकाले एउटा जिल्लामा भेटिएको अवशेषको डीएनए अर्को जिल्लामा भेटिएको अवशेषसँग पनि मिल्न सक्छ ।

‘धादिङमा भेटिएको अवशेषसँग एउटा व्यक्तिको डीएनए मिलेको छ । तर त्यही व्यक्तिसँग गोरखामा भेटिएको अवशेष पनि मिलेको हुनसक्छ । त्यसैले जिल्लागत रूपमा मात्रै छुट्याएर हस्तान्तरण गर्न खोज्दा समस्या आउन सक्छ,’ थापाले उदाहरण दिदैँ भने, ‘सबै जिल्लाका विवरण एकै ठाउँमा राखेर हेरेपछि मात्रै कुन अवशेष कसको हो भन्ने छुट्याउन सहज हुन्छ ।’

त्यसैले अहिले सबै जिल्लाबाट विवरण संकलन गरी एकीकृत रूपमा विश्लेषण गर्ने काम भइरहेको छ । बाँकी डीएनए मिलान र व्यक्तिगत पहिचानको काम पूरा गर्न १५ दिन लाग्न सक्ने थापाको अनुमान छ ।

डा. कुँवरले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै काम भइरहेको जानकारी दिइन् । उनका अनुसार, अहिले डीएनए म्याचिङ भएका नमुनाहरू र पोस्टमार्टममा भेटिएका विवरण र शवमा भेटिएका पहिचानहरू भिडाउने काम भइरहेको छ ।

‘डीएनए पनि म्याच भयो । पोस्टमार्टम र शव संकलन गर्दाको विवरण पनि मिलेको खण्डमा शवको पहिचान हुनसक्छ । यो शव यसकारणले त्यही व्यक्तिको हो भन्ने प्रमाणित भइसकेपछिमात्रै शव हस्तान्तरण गर्नसक्छौं,’ उनले भनिन्, ‘अबको एक दुई हप्तादेखि नै यो प्रक्रिया सुरू हुन्छ ।’

पहिचान खुलेपछि मात्रै परिवारलाई शव

शवको व्यक्तिगत पहिचान खुलेपछि मात्रै परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढ्ने छ । त्यसका लागि सम्बन्धित टोलीले डीएनए परीक्षणको नतिजासहित पोस्टमार्टम र अन्य विवरणका आधारमा मृत्यु प्रमाणित गर्ने कागजात तयार पार्नेछ ।

त्यसपछि पहिचान खुलेको शव वा अवशेषको विवरणसहित व्यक्तिगत फाइल सम्बन्धित जिल्लामा पठाइने छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको विपद्पछिको शव व्यवस्थापन समितिले परिवारलाई शव हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउने छ ।

अर्थात्, डीएनए मिलानपछि पनि व्यक्तिगत पहिचान, मृत्यु प्रमाणित गर्ने कागजात र जिल्ला तहको हस्तान्तरण प्रक्रिया पूरा गर्नु पर्नेछ। यही प्रक्रियाका कारण डीएनए मिलिसकेका शवसमेत तत्काल परिवारको जिम्मा लगाउन सकिएको छैन ।

थापाका अनुसार सबै विवरणको प्रमाणीकरण र व्यक्तिगत फाइल तयार भएपछि आगामी १५ दिनभित्र शव हस्तान्तरणको काम सुरु हुनसक्ने अनुमान गरिएको छ ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?