+
+
Shares

रसुवा बाढी : साढे दुई सय शवको डीएनए आफन्तसँग मिल्ने प्रारम्भिक संकेत

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको डीएनए शाखा प्रमुख निराजन थापाका अनुसार नेपाल प्रहरी र प्रयोगशालामा गरिएका परीक्षणको एकीकृत तथ्यांकअनुसार करिब साढे दुई सय जनाको डीएनए मिल्ने प्रारम्भिक संकेत देखिएको छ । यद्यपि, यो अन्तिम भने होइन ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८३ असोज २६ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीमा ज्यान गुमाएकामध्ये करिब साढे दुई सय जनाको डीएनए आफन्तसँग मिल्ने प्रारम्भिक संकेत देखिएको छ ।
  • पहिचान यकिन गर्न डीएनए, औँठाछाप, दन्त परीक्षण र पोस्टमार्टम विवरण एकीकृत रूपमा मिलाउने काम भइरहेको छ ।
  • बाढीमा १ हजार ४५७ शव फेला परेकामा ११२ वटाको सनाखत भएको छ र १ हजार ३४५ शव जमिनमुनि गाडिएका छन् ।
  • डीएनए परीक्षणका लागि करिब दुई हजार आफन्तले मात्रै रगतको नमुना दिएका छन्, जबकि पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता छन् ।

२६ भदौ, काठमाडौं । रसुवा बाढीमा ज्यान गुमाएकामध्ये करिब साढे दुई सय जनाको डीएनए प्रारम्भिक रूपमा आफन्तसँग मिल्ने संकेत देखिएको छ । उनीहरूको पहिचान यकिन गर्न र शव हस्तान्तरणको प्रक्रिया अघि बढाउन थप जाँच भइरहेको छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको डीएनए शाखा प्रमुख निराजन थापाका अनुसार नेपाल प्रहरी र प्रयोगशालामा गरिएका परीक्षणको एकीकृत तथ्यांकअनुसार करिब साढे दुई सय जनाको डीएनए मिल्ने प्रारम्भिक संकेत देखिएको छ । यद्यपि, यो अन्तिम भने होइन ।

‘सफ्टवेयरबाट स्क्रिनिङ गर्दा करिब साढे दुई सय जनाको डीएनए मिल्ने देखिएको छ । तर एउटै व्यक्तिका हड्डीका दुई–तीन टुक्रा फरक–फरक ठाउँमा भेटिएर परीक्षण भएको हुनसक्छ । फाइलअनुसार विवरण भिडाएपछि मात्रै वास्तविक संख्या यकिन हुन्छ,’ थापाले अनलाइनखबरसँग भने ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ५ हजारभन्दा बढी बेपत्ता छन् । पछिल्लो तथ्यांकअनुसार १ हजार ४५७ शव फेला परेका छन् । तीमध्ये ११२ वटाको मात्रै सनाखत गरी आफन्तलाई बुझाइएको छ । पहिचान हुन नसकेका १ हजार ३४५ शव भने जमिनमुनि गाडिएका छन् ।

थापाका अनुसार प्रारम्भिक रूपमा मिलेको देखिएका नमुनाको विस्तृत परीक्षण र अभिलेख भिडाउने काम भइरहेको छ । त्यसका लागि आफन्तले हराएको व्यक्तिबारे दिएको विवरण, डीएनए परीक्षणका लागि आफन्तले उपलब्ध गराएको रगतको नमुना र शवको पोस्टमार्टम गर्दा फोरेन्सिक चिकित्सकले उल्लेख गरेका विवरण एकअर्कासँग मिलाउनुपर्ने हुन्छ ।

अहिलेसम्म पहिलो तहका नातेदार अर्थात् बाबु–छोरा, आमा–छोरी वा आमा–छोराबीचको सम्बन्धका आधारमा डीएनए मिलाउने काम गरिएको छ । आवश्यकताअनुसार दाजुभाइ तथा दिदीबहिनीबीचको नाता भिडाएर थप परीक्षण गर्नुपर्ने थापाले बताए । त्यसपछि चरणबद्ध रूपमा डीएनएको म्याचिङ हुने थापाको भनाइ छ ।

‘अहिले देखिएको संख्या प्रारम्भिक हो । हरेक फाइल छुट्टाछुट्टै हेर्नुपर्छ । डीएनए मिलेको देखिँदैमा सम्बन्धित शव यही व्यक्तिको हो भनेर तत्काल निष्कर्ष निकाल्न मिल्दैन,’ थापा भन्छन् ।

विपद्मा मृत्यु भएकाहरूको पहिचानका लागि डीएनए परीक्षण मात्रै पर्याप्त हुँदैन । त्यसका लागि दन्त परीक्षणको अभिलेख, औँठाछाप, पोस्टमार्टमबाट प्राप्त विवरण र डीएनए परीक्षणको नतिजालाई एकीकृत रूपमा विश्लेषण गर्नुपर्छ ।

यसका लागि विपद् व्यवस्थापनअन्तर्गत विपद्पीडित पहिचान टोली (डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन (डीभीआई) गठन गरिएको छ । फरेन्सिक चिकित्सकको नेतृत्वमा रहेको उक्त टोलीले विभिन्न स्रोतबाट प्राप्त विवरण भिडाएर मृतकको पहिचान यकिन गर्नेछ ।

पहिचान यकिन भएपछि डीभीआईबाट मृत्यु प्रमाणपत्र जारी गर्ने र शव परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढ्ने छ । त्यसका लागि प्रयोगशालाको प्रतिवेदन, पोस्टमार्टम विवरण र अन्य प्रमाण डीभीआई टोलीले एकीकृत रूपमा हेरेपछि मात्रै शव हस्तान्तरण हुनेछ ।

 धेरै आफन्तले दिएनन् रगतको नमुना

बाढी-पहिरोमा बेपत्ता भएका व्यक्तिको संख्याको तुलनामा परीक्षणका लागि आफन्तले दिएको रगतका नमुना आधाभन्दा कम छ ।

करिब पाँच हजारभन्दा बढी हराएको अनुमान गरिए पनि डीएनए परीक्षणका लागि करिब दुई हजार आफन्तले मात्रै रगतको नमुना उपलब्ध गराएका छन् ।

‘हराएका सबै व्यक्तिका परिवारबाट नमुना आएको छैन । कतिपय परिवारले शव नभेटिएपछि पनि आफ्नै तरिकाले दाहसंस्कार गरिसकेका छन् । त्यसैले सबै परिवार पुनः नमुना दिन आएका छैनन्,’ थापा भन्छन्, ‘करिब दुई हजार जनाको मात्रै नमुना लिएर भिडाउँदा थोरै संख्यामा मात्रै डीएनए मिलको छ ।’

सबै शव पूर्ण अवस्थामा नभेटिएकाले एउटा व्यक्तिका शरीरका विभिन्न भागलाई छुट्टाछुट्टै नमुनाका रूपमा परीक्षण गरिएको हुनसक्ने सम्भावना छ ।

‘शव र आफन्तको नमुना बराबर छैन । कतिपय परिवारले नमुना नै दिएका छैनन् । त्यसैले अहिलेको परीक्षणबाट सबै हराएका व्यक्तिको पहिचान खुल्छ भन्ने अवस्था छैन,’ थापाले भने ।

डीनएन म्याचिङको लागि अत्याधुनिक सफ्टवेयरको प्रयोग भइरहेको छ । सफ्टवेयरले एउटा अज्ञात डीएनएसँग कुन–कुन आफन्तको नमुना बढी सम्बन्धित हुनसक्छ भनेर सम्भावित क्रम निकाल्ने छ । यसका लागि छुट्टाछुट्टै डेटाबेस तयार गरिन्छ । एउटा डेटाबेसमा बेपत्ता व्यक्तिका आफन्तबाट संकलन गरिएका डीएनए नमुना राखिन्छ भने अर्को डेटाबेसमा शवबाट प्राप्त डीएनए नमुना राखिन्छ ।

त्यसपछि सफ्टवेयरले शवबाट प्राप्त डीएनए नमुनालाई आफन्तका नमुनासँग तुलना गरी कुन नमुना सबैभन्दा बढी मिल्ने सम्भावना छ भन्ने गणना गर्छ । त्यसका आधारमा सम्भावित पारिवारिक सम्बन्ध पहिचान गर्न सकिन्छ ।

त्यसपछि विज्ञहरूले आमाबुबा तथा दाजुभाइ–दिदीबहिनीको सम्बन्ध लगायतको सांख्यिकीय विश्लेषण गरेर पहिचान टुंग्याउने छन् ।

थापाका अनुसार डीएनए म्याचिङका लागि ‘कम्बाइन्ड डीएनए इन्डेक्स सिस्टम (कोडिस) सफ्टवेयर प्रयोग हुन्छ । यो प्रणाली अमेरिकाको एफबीआईले अपराध अनुसन्धानमा व्यक्तिको पहिचान तथा फेमिलियल सर्चिङका लागि प्रयोग गर्दै आएको छ ।

औँठाछापको अभिलेख पनि संकलन

डीएनए परीक्षणसँगै अन्य पहिचानका प्रमाण पनि संकलन भइरहेको छ । नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार शवबाट करिब ३०० को हाराहारीमा औँठाछाप (फिंगर प्रिन्ट) लिइएको छ । प्रहरीले डीएनए परीक्षणसँगै फिंगर प्रिन्टका आधारमा पनि शव पहिचान गर्ने प्रयास गरिरहेको छ ।

ती फिंगर प्रिन्टलाई मृतकले जीवित छँदा विभिन्न निकायमा उपलब्ध गराएका विवरणसँग मिलाउने प्रयास भइरहेको छ । नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लगायतका निकायमा उपलब्ध फिंगर प्रिन्ट र विदेशी नागरिकको हकमा अध्यागमनमा संकलित फिंगर प्रिन्टसँग तुलना भइरहेको काफ्लेले बताए ।

तर, अहिलेसम्म फिंगर प्रिन्टका आधारमा कुनै शवको पहिचान भएको छैन ।

‘करिब ३०० जनाको फिंगर प्रिन्ट निकालेका छौं । सम्बन्धित व्यक्तिले पहिले कतै फिंगर प्रिन्ट दिनुभएको थियो भने त्यससँग मिल्छ कि भनेर प्रयास गरिरहेका छौं,’ काफ्लेले भने, ‘अहिलेसम्म फलानो शवको फिंगर प्रिन्ट फलानो व्यक्तिसँग मिल्यो भन्ने नतिजा आएको छैन ।’

फिंगर प्रिन्ट मिलेको अवस्थामा डीएनए परीक्षणबाट पहिचान पुष्टि गर्ने प्रक्रियामा सहयोग पुग्नेछ । यद्यपि, अहिले फिंगर प्रिन्टको नतिजा नआएकाले शव पहिचानका लागि डीएनए परीक्षण र अन्तिम म्याचिङलाई नै मुख्य आधार बनाइएको छ ।

डीएनए परीक्षण, औँठाछाप, दन्त परीक्षण र पोस्टमार्टमबाट प्राप्त विवरणलाई एकै ठाउँमा राखेर विश्लेषण गरेपछि मात्रै मृतकको पहिचान यकिन गर्ने प्रक्रिया अघि बढाउने काफ्लेले बताए ।

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?