+
+
Shares
कविता :

लैङ्गिक हिंसाका काँडाहरू

चन्द्रकुवेर खापुङ चन्द्रकुवेर खापुङ
२०८३ मंसिर ११ गते १७:५८

एकदिन बाउले बाजे सँग
के–के गुनासो पोख्दै थिए,
बाजेले बाउलाई झपारे—
‘आइमाई जस्तो कुरा गर्छस् ?’

खेल्दाखेल्दै एकदिन भाइ
लडेर सुँकसुकाउँदै थियो,
आमाले भाइलाई ढाडस दिँदै भनिन्–
‘धत् लाटा, केटी जस्तो रुने हो ?’

डाँडा घर कि फुपूले
केटा मान्छेजस्तै कपाल ठुटो पारेर
सर्ट पाइन्ट लाएर हिँड्छिन रे,
चर्चा सुरु भयो कस्ती नक्कली !!

छोराले के गर्ने,
छोरीले के गर्ने ?
कसरी खाने, कसरी बोल्ने, हाँस्ने ?
कसरी हिँड्ने, कसरी उभिने, बस्ने ?
कस्तो रङको लुगा लाउने,
के खाने, कसरी चपाउने ?
लाग्छ– दैवले नै थिति बाँधेका छन्।

छोरी मान्छेले –
बेलुका जुठो भाँडो, चुलोचौको
सबै सकेर मात्र सुत्नू,
बिहान उज्यालो भुइँमा नखस्दै उठ्नू,
अनि घर–आँगन बढारेर
कम्तीमा जस्केलो पोत्नू ।

छोरा मान्छेले –
गर्ने होइन घरका ‘आइमाई’ काम
बेलैमा खाने, छिटो सुत्ने ,
हलो जोत्ने, रुख चढ्ने ।
खेल्ने, कुद्ने, उफ्रने
अनि ध्यान दिएर पढ्ने।

छोरी- सहनशीलताको ढुङ्गा बन्नू,
पत्थरजस्तै लोग्नेको कुरा सुन्नु,
आवाज भित्ता बाहिर नजाओस्,
हाँसो शीतको थोपाझैँ ओठमा रहोस्,

छोरा- छातीभित्र ज्वालामुखी नै विस्फोट भए नि
आँसुका थोपाले परेलाको डिल ननाघोस,
बोलीको किल्ला कस्नू,
जोइटिङ्ग्रेको छाप नलागोस् ।

यस्तै स–साना ‘थिति’ र ‘मर्यादा’ को
मलिलो पृष्ठभूमिमा
झन् झन् तिखारीइ रहेछन्,
घर–घरमा लैङ्गिक हिंसाका काँडाहरू।

लेखक
चन्द्रकुवेर खापुङ

खापुङ  नेपाल प्रहरीको महानिरीक्षक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?