काठमाडौँ – नेपाल र दक्षिण कोरियाको संयुक्त सहकार्यमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ का लागि खुला अडिसन आह्वान गरिएको छ । निर्माण पक्षले इच्छुक कलाकार तथा नयाँ प्रतिभालाई अडिसनमा सहभागी हुन आमन्त्रण गरेको हो।
बोकल्ट फिल्म्स र काठमाडौँ फिल्म्सको संयुक्त निर्माणमा बन्न लागेको यो फिल्म बोइम ह्वाङको लेखन तथा निर्देशनमा फिल्म निर्माण हुँदैछ ।
खुला अडिसन मंसिर १२ गते शनिबार काठमाडौँस्थित ओस्कार इन्टरनेसनल कलेजमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने बताइएको छ ।
नेपाल र दक्षिण कोरियाबीचको सांस्कृतिक तथा सिर्जनात्मक सहकार्यलाई फिल्ममार्फत अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यले फिल्म निर्माण गर्न लागिएको हो ।
यो रोमान्टिक कमेडी तथा सुपरनेचुरल विधामा आधारित फिल्म हो । के-ड्रामाको स्वादसमेत रहने फिल्मले पूर्व कोरियाली के-पप स्टार र एक युवा नेपाली गुरु तथा होटल सञ्चालकबीच विकसित हुने अनपेक्षित प्रेम सम्बन्धको कथा प्रस्तुत गर्नेछ ।
फिल्ममा नेपाली अभिनेतामध्ये अरुण क्षेत्री पुरुष मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। उनको जोडीका रूपमा दक्षिण कोरियाली अभिनेत्री रहनेछिन्, जसको नाम निर्माण पक्षले पछि सार्वजनिक गर्ने जनाएको छ । फिल्ममा प्रेम, हास्य र रहस्यका साथै आधुनिक सेलिब्रेटी संस्कृति, नेपालको आध्यात्मिक परिवेश, पहिचान र बाहिरी देखावट तथा वास्तविकताबीचको भिन्नतालाई रोचक ढङ्गले प्रस्तुत गरिनेछ।
निर्माण पक्षका अनुसार फिल्मले नेपालको हिमाल र पदयात्राका परिचित दृश्यभन्दा फरक आध्यात्मिक तथा अलौकिक परिवेशलाई प्रेमकथामार्फत अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्य राखेको छ । फिल्मको छायाङ्कन सन् २०२७ फेब्रुअरीदेखि मार्चसम्म नेपालमा गर्ने प्रारम्भिक योजना छ ।
प्रतिक्रिया 4