+
+
Shares

निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानुनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल

निर्वाचन आयोगले सरोकारवालाहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पोखरेलले एआईको दुरुपयोगलाई कानुनी दायरामा ल्याएर प्रभावकारी नियमन गर्न अब ढिलाइ गर्न नहुनेमा जोड दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १६:३३

११ मंसिर, ललितपुर । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग गरी फैलाउन सकिने भ्रामक प्रचार रोक्न एआईबाट निर्मित सामग्रीमा वाटरमार्क अनिवार्य गर्नुपर्ने र दुरुपयोग गर्नेलाई कडा जरिवाना तोक्नुपर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा निर्वाचन आयोगले सरोकारवालाहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पोखरेलले एआईको दुरुपयोगलाई कानुनी दायरामा ल्याएर प्रभावकारी नियमन गर्न अब ढिलाइ गर्न नहुनेमा जोड दिए ।

‘निर्वाचनमा पनि एआईको दुरुपयोग गरी हुने प्रचारको चुनौती छ । एआईलाई अब कानुनी रूपमा व्यवस्थित गर्दै लैजानुपर्छ,’ पोखरेलले भने, ‘वाटरमार्कहरू सबै राख्नेदेखि कडा जरिवाना गर्ने व्यवस्था गर्नुपर्छ ।’

एआईबाट तयार पारिएका सामग्रीको पहिचान सहज बनाउन प्राविधिक संयन्त्र नै विकास गर्नुपर्ने उनको सुझाव छ । एआई टुल्सकै प्रयोगमार्फत अनुसन्धान केन्द्र र प्रयोगशालाबाट गलत तथा भ्रामक सामग्री छुट्याउने प्रणाली निर्माण गर्नुपर्ने उनले उल्लेख गरे ।

‘एआई टुल्सलाई समेत प्रयोग गरेर रिसर्च सेन्टर र ल्याबहरूबाट कस्ता सामग्री गलत हुन् भनेर पहिचान गर्नुपर्छ,’ उनले भने, ‘त्यसभित्र एआईको कस्तो भूमिका छ भन्ने पत्ता लगाउन नमुना परीक्षण गरेर प्रयोगमा ल्याउनुपर्छ ।’

प्रविधिको दुरुपयोग रोक्न कानुनी कडाइसँगै डिजिटल साक्षरता र शिक्षालाई पनि प्राथमिकता दिनुपर्ने पोखरेलको भनाइ छ । बेलायतजस्ता विकसित देशमा पूर्वप्राथमिक तहदेखि नै डिजिटल शिक्षा दिन थालिएको उदाहरण दिँदै उनले यसको प्रभावकारी नियमन कसरी गर्न सकिन्छ भन्ने विषयमा नेपालले पनि अध्ययन र खोज गर्नुपर्ने बताए ।

‘कतिपय सम्पन्न देशले, जस्तै इङ्ग्ल्यान्डले प्रि–स्कुलदेखि नै डिजिटल एजुकेसन दिन थालेको छ,’ उनले थपे, ‘यसलाई कसरी नियमन गर्न सकिन्छ, यसबारे हामीले खोज्नुपर्छ ।’

छलफलका क्रममा पोखरेलले निर्वाचन शिक्षालाई अझै विस्तार गर्दै लैजानुपर्ने र निर्वाचन व्यवस्थापनको विकेन्द्रीकरणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । निर्वाचन व्यवस्थापनको विकेन्द्रीकरण अहिलेको निर्वाचन रणनीतिमा समेत समेटिएको जानकारी उनले दिए ।

यसैगरी, निर्वाचन सुरक्षाको जिम्मेवारी सुरक्षा निकाय र राजनीतिक दलहरू स्वयम्‌ले लिनुपर्ने धारणा राख्दै पोखरेलले निर्वाचन खर्चको व्यवस्थापन सङ्घीय, प्रदेश र स्थानीय तहबाटै गर्नेगरी अघि बढ्नुपर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?