+
+
Shares

लिबरल छाडेर सिनेटेर लिआ ब्लिथ वान नेशन पार्टीमा प्रवेश

अस्ट्रेलियाको प्रमुख विपक्षी दल लिबरल पार्टीकी छाया मन्त्रिपरिषद् सदस्य एवं सिनेटर लिआ ब्लिथले पार्टी परित्याग गर्दै पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टीमा प्रवेश गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १६:३६

११ मंसिर, क्यानबेरा । अस्ट्रेलियाको प्रमुख विपक्षी दल लिबरल पार्टीकी छाया मन्त्रिपरिषद् सदस्य एवं सिनेटर लिआ ब्लिथले पार्टी परित्याग गर्दै पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टीमा प्रवेश गरेकी छन् । दक्षिण अस्ट्रेलियाको प्रतिनिधित्व गर्ने ब्लिथको यस कदमले अस्ट्रेलियाको सङ्घीय तथा विपक्षी राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ ।

बिहीबार सार्वजनिक भएको निर्णयसँगै ब्लिथ दक्षिण अस्ट्रेलियाबाट वान नेशनको प्रतिनिधित्व गर्ने पहिलो सङ्घीय सिनेटर बनेकी छन् । उनको प्रवेशपछि अस्ट्रेलियाको माथिल्लो सदन सिनेटमा वान नेशनका सदस्यको सङ्ख्या पाँच पुगेको छ ।

लिबरल पार्टीका नेता एङ्गस टेलरको छाया मन्त्रिपरिषद्मा रहेकी ब्लिथले पार्टी नेतृत्वप्रतिको असन्तुष्टिलाई दल परिवर्तनको मुख्य कारण बताएकी छन् । प्रधानमन्त्री एन्थोनी अल्बानिजी नेतृत्वको सरकारको आलोचना गर्दै आए पनि लिबरल पार्टीले देशलाई आवश्यक परिवर्तनको नेतृत्व गर्न सक्ने विश्वास आफूमा नरहेको उनको भनाइ छ ।

विशेषगरी आप्रवासन नियन्त्रण, सरकारी खर्च व्यवस्थापन र ऊर्जा नीतिजस्ता विषयमा लिबरल पार्टीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै ब्लिथले अब नयाँ राजनीतिक दलमार्फत अस्ट्रेलियाको भविष्यका लागि काम गर्ने बताएकी छन् ।

ब्लिथको प्रवेशलाई वान नेशनकी नेता पाउलिन ह्यान्सनले स्वागत गरेकी छन् । लिबरल पार्टीबाट निराश भएका मतदातालाई आफ्नो पार्टीले प्रतिनिधित्व गर्ने अवसर यसबाट अझ बढेको ह्यान्सनको भनाइ छ ।

तर, नेसनल्स पार्टीका नेता म्याट क्यानाभानले भने ब्लिथको दल परिवर्तनप्रति असन्तुष्टि जनाएका छन् । निर्वाचित प्रतिनिधिले व्यक्तिगत राजनीतिक स्वार्थका लागि दल परिवर्तन गर्नु उचित नभएको क्यानाभानको टिप्पणी छ ।

यसअघि दक्षिण अस्ट्रेलियाको लिबरल पार्टीकी अध्यक्षसमेत रहिसकेकी ब्लिथ सन् २०२५ मा सिनेटर साइमन बर्मिङ्घमले पद छाडेपछि रिक्त स्थानमा नियुक्त भएकी थिइन् । आगामी निर्वाचनमा लिबरल पार्टीबाट पुनः उम्मेदवारी पाउने सम्भावनाबारे अनिश्चितता बढिरहेका बेला उनले दल परिवर्तन गरेकी हुन् ।

यसअघि सन् २०२५ मै पूर्वउपप्रधानमन्त्री बार्नाबी जोयसले पनि लिबरल–नेसनल गठबन्धन छाडेर वान नेशनमा प्रवेश गरेका थिए । ब्लिथको प्रवेशसँगै वान नेशनमा आबद्ध हुने सङ्घीय राजनीतिका प्रमुख व्यक्तिहरूको सङ्ख्या थपिएको छ ।

यो घटनाक्रमले अस्ट्रेलियाको विपक्षी राजनीतिमा दलहरूबीचको सम्बन्ध, नेतृत्वप्रतिको विश्वास र आगामी निर्वाचनको रणनीतिबारे नयाँ बहस सुरु गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?