+
+
Shares

संसद् अधिवेशन छिटो बोलाउन सरकारलाई रास्वपाकै दबाब

मंसिर १४ सम्म पनि सरकारले अधिवेशन बोलाउने मिति तय नगरे थप दबाब सिर्जना गर्ने तयारीमा रास्वपाका नेता तथा सांसदहरू छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ११ गते १६:४९

११ मंसिर, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै नेताहरूले संघीय संसद् अधिवेशन छिटो बोलाउन दबाब बढाएका छन् ।

अधिवेशन नबोलाइँदा संसद्मा कतिपय छलफल र जनसरोकारको विषयमा समेत बहस हुन नसकेको तर्क रास्वपाका पदाधिकारीहरूकै छ ।

‘एकातिर धेरै भन्दा धेरै कानुन बनाउने भनिएको छ । अर्कोतिर जनताका कुरा समेत उठ्न पाएको छैन । यो पृष्ठभूमिमा संसद् अधिवेशन बोलाउनुपर्छ भन्नेमा हामी प्रष्ट छौं’ रास्वपाका एक पदाधिकारीले भने, ‘अब अधिवेशन बोलाउन ढिलो गर्न हुन्न ।’

यही सन्देश पार्टी सभापति रवि लामिछानेलाई दिइएको र यो लगायतका विषयमा सभापति लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग छलफल गरिसकेको ती पदाधिकारीले बताए ।

‘सभापतिज्यूले प्रधानमन्त्रीलाई भेट्नुभयो । लामै समय कुराकानी भएको छ । अरू धेरै कुरा भएको होला । संसद् अधिवेशन कहिलेदेखि बोलाउने भनेर कुरा पक्कै भएको छ’ ती पदाधिकारी भन्छन्, ‘आउँदो सोमबार अर्थात् मंसिर १४ गतेसम्म अधिवेशन बोलाउने विषयमा सरकारले निर्णय गर्ला ।’

मंसिर १४ सम्म पनि सरकारले अधिवेशन बोलाउने मिति तय नगरे थप दबाब सिर्जना गर्ने तयारीमा रास्वपाका नेता तथा सांसदहरू छन् ।

‘कम्तीमा एक साता समय दिएर अधिवेशन बोलाउनुपर्छ । आगामी सोमबारसम्म पनि सरकारले अधिवेशन बोलाएन भने हामी पार्टीमा छलफल गर्छौं र सरकारलाई भन्छौं, ढिलो गर्ने मनसाय भए स्वीकार्य हुन्न ।’

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

संसद् अधिवेशन अधिवेशन छिटो बोलाउन दबाब दिने नेता तथा सांसदहरूले सभामुख र राष्ट्रिय सभाका अध्यक्षको भूमिका के हुन्छ भनेर समेत अनौपचारिक छलफल गरेका छन् ।

‘राजनीतिक रूपमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षले दबाब सिर्जना गर्न सक्ने बाटो हुन सक्छ । वा के हुन सक्छ त्यसमा पनि छलफल भएको छ’ ती अधिकारीले भने ।

संसद्को बर्खे अधिवेशन १६ असोज २०८३ मा अन्त्य भएको थियो ।

संसद्मा कति छ बिजनेस ?

संघीय संसद् सचिवालयका अनुसार संघीय संसद्का दुवै सदनमा गरी हाल ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन् ।

तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेका छन् ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ५ वटा, अर्थ समितिमा ४ वटा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकारमा समितिमा ३/३ वटा विधेयक छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिमा २/२ वटा र कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक विचाराधीन छ ।

राष्ट्रिय सभाका विषयगत समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैन ।

प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी रहेको एउटा मात्रै विधेयक रहेको छ । राष्ट्रिय सेवा दल विधेयकको सन्देश राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी छ ।

यसबीचमा थप ७ वटा विधेयक दर्ता भएका छन् । अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक २०८३ दर्ता भएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेबाट लागु हुनेगरी संघीय संसदको अधिवेशन अन्त्य गरेका थिए ।

संसद् अधिवेशन अन्त्य भएपछि थप छ वटा विधेयक दर्ता भएका हुन् ।

संसद् अधिवेशन बन्द भएपछि दर्ता भएका थप ६ नयाँ विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन (व्यवस्थापन तथा संचालन) (पहिलो संसोधन) विधेयक छ ।

यसैगरी, भवन (दोस्रो संसोधन) विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक दर्ता भएको छ ।

त्यस्तै, सभामा प्रस्तुत भएर मात्रै रहेको एउटा विधेयक छ ।

डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक सभामा विचाराधीन रहेको प्रवक्ता गिरीले जानकारी दिए । उनकाअनुसार समितिमा छलफल भएर प्रतिवेदन तयार भइसकेका दुई वटा विधेयक रहेका छन् ।

संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ को समितिले प्रतिवेदन संसदीय समितिको तर्फबट पेस गरेर सभामा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?