+
+
Shares
धरमराउँदा घरहरू :

सहरमा आलिसान भवन छ, विदेशमा ‘रेन्ट’ मा बसेको छ

न जन्मघर, न बिहेपछिको घर; दुवैले तान्दैन कतिलाई । कतिपय त खुलेरै भन्छन्– जाने ठाउँ कहीं छैन मेरो । कसैले घर कहिले जाने ? भन्ने प्रश्न गर्‍यो भने नराम्ररी घोच्छ उनीहरूलाई ।

गणेश खनिया गणेश खनिया
२०८३ मंसिर १२ गते १०:०५

घरभन्दा पर रहेकालाई सोधिने एउटा प्रश्न छ– घर नजाने ?

घरमै रहेकालाई यही कुरा यसरी सोधिन्छ– घर आउँदैनन् तिनीहरू ?

यी त भए चाडपर्वको छेकमा उब्जिने उत्सुकता ।

अनि गाउँघरबाट अन्तै पर सहरमा लामै समय बसिरहनुभएको छ भने सोधिने अर्को प्रश्न हो– घर छ सहरमा ?

छैन भन्ने थाहा छ भने अर्को सवाल आउँछ तपाईंलाई– घर कहिले बनाउने त ?

यस्ता सवाल अलग स्वरूपमा अलगअलग स्थानमा झेलिरहनुहुन्छ तपाईं ।

घर अपनत्वको स्थल, घर न्यानोपनको स्थायी आभास ठान्नुहुन्छ भने जहाँ हुनुहुन्छ– स्थायी/अस्थायी आवास– त्यही किन घर हुन सकेन ?

अस्थायी आवासलाई किन अलग आँखाले हेर्नु ? किन हेलाहोचो र विभेद गर्नु ?

घर– मात्र दुई अक्षरको शब्द छ । तर यही संक्षिप्त शब्दले धेरैलाई धेरै किसिमबाट गिजोलिरहेको छ, पिरोलिरहेको छ ।

खासमा घर केलाई भन्ने ? निर्दिष्ट भूमिमा बनेको एउटा संरचना न हो यो । तर यति विघ्न घर विमर्श यत्रतत्र किन ? अनि यही विमर्शको अर्को पाटो पनि छ । गाउँमा ठूलो घर छ, सहरमा अस्थायी आवास । सहरमा आलिसान भवन छ, विदेशमा गएर ‘रेन्ट’ मा बसेको छ । यसरी परिवेशअनुरूप बदलिन्छ घर अनि घरसँगै हैसियत पनि । होइन र ? स्थायी नरहने हैसियत कायम गर्न किन गर्नु मरिहत्ते ? मानवशास्त्री सुरेश ढकालका तलका पंक्तिमा यस्तै भाव महसुस हुन सक्छ तपाईंलाई पनि ।

जब म यो ठाउँ छोडेर हिँड्ने छु,

न यो मेरो ठाउँ हुनेछ, न म यो ठाउँको हुनेछु,

न मलाई सम्झेर यो ठाउँ रुनेछ, न म यो ठाउँ सम्झेर रुनेछु ।

तर ढकालले यसो भनेता पनि घर सम्झेर रुनेहरू छन् । परदेशमा छ काम, चाडपर्वको छेकमै घर छोडेर जानु छ– वैदेशिक रोजगारीमा । कोही त एक पटकसमेत घर आउन पाएका छैनन्, परदेशमा श्रम पसिना बगाइरहेछन् । भक्कानिन्छ यस्ता मन विशेष गरी चाडपर्वको संघारमा ।

यस्तै केही पढेको सम्झन्छु कतै– आफ्नी हजुरआमाका बारेमा क्यारिबियन मूलका आख्यानकार भी.एस. नायपालले लेखेको । बँधुवा मजदुर बनाएर उनीहरूलाई ट्रिनिडाड एन्ड टोबागो पुर्‍याउने भएपछि उनकी हजुरआमाले हतारमा उस्तो केही लान सकिनन् साथमा । सम्भव पनि थिएन । तर एउटा सानो ढुङ्गा लगिन् र उता पुगेपछि प्रत्येक बिहान त्यही ढुङ्गालाई आफ्नो घर अर्थात् भारत देश मानेर पुजिरहिन्, सम्झिरहिन् ।

लैङ्गिक आलोकमा घर

हाम्रो किशोर बेलाका कुरा हुन् । दिदीभाइ सँगसँगै छन् । उही घर । तर छोरीलाई बिहे गरिदिने हो भन्ने बुझाइएको छ । खस्रामस्रा सबै काम गर्न लगाइन्छ उनैलाई । भाइ घुमेर अबेर फर्किन्छ, उसलाई त्यसो गर्न छुट छ । तिमीले घर गरी खानुपर्छ पछि– यही कोचिङ दिइएको छ छोरीलाई । तिम्रै हो यो सब सिरीखुरी– छोरालाई यसरी हुर्काइन्छ । यही सोचअनुरूप ‘पाले पुण्य, मारे पाप’ को उद्‍गारसहित छोरी केटापक्षलाई जिम्मा लगाउने चलन चलिरह्यो समाजमा ।

छोरीबाट छुटकारा खोज्दै वस्तुसरह ठानेर बिहेमा कन्यादान गराउने परम्परामा परिवर्तन त के, पुनर्विचार गर्ने जमात पनि खासै बनेको छैन अझै । यही अलग व्यवहार र विभेदका कुरा व्यक्त गरेकी छिन् मेक्सिकाली मूलकी अमेरिकी लेखक सान्द्रा सिस्नेरोसले । नब्बेको दशकमा लेखिएको उनको निबन्ध ‘वन्ली डटर’ मार्फत । ६ दाजुभाइबीच उनी अस्तित्वविहीन बाँचिरहेकी हुन्छिन्, उनका बाबाको विभेदपूर्ण व्यवहारका कारण ।

अर्को छन् छिमेकी देशका नागरिक, नेपालमा व्यापार छ । नेपाली नै छन्, धेरै कामदार, कर्मचारी । राम्रै छ कमाइ अनि अपार्टमेन्टको छ बसाइ ।

परिवेश त उस्तै छैन अब । पछिल्लो समय एउटै छोरीमा ‘सेटल’ हुने परिवारसमेत बढ्न थालेका छन् । कतिपय डिस्कोर्स असान्दर्भिक भइसके । नयाँ पुस्ताको सोच बदलिएको छ केही । तर अघिल्ला पुस्ताको विभेदी सोचको जाँतोमा पिसिने महिलाहरू छन् अहिले पनि । चाडपर्वको छेउछाउ घर जाने कुरा सोच्दा त्यति मन रमाउँदैन भन्छन्– महिला आफन्त र साथीहरू अझै पनि । घरमा जमघट त हुन्छ, सहजता र शान्ति हराउँछ ।

न जन्मघर, न बिहेपछिको घर; दुवैले तान्दैन कतिलाई । कतिपय त खुलेरै भन्छन्– जाने ठाउँ कहीं छैन मेरो । कसैले घर कहिले जाने ? भन्ने प्रश्न गर्‍यो भने नराम्ररी घोच्छ उनीहरूलाई, जसरी यतिखेर घोचिरहेछ रसुवा बाढीबाट पीडित घरवारविहीन नागरिकहरूलाई । ठट्टास्वरूप ‘दसैंमा घर जान यति दिन बाँकी’ भनी फेसबुकमा राखिएका पुरुष मित्रहरूका स्टाटसमा समेत विषाक्त पितृसत्ताको गन्ध आउँछ उनीहरूलाई ।

बिहेपछि घर घरजस्तो बन्न किन सकेन आजसम्म धेरै महिलाहरूका लागि ? त्यही भएर लिन बेनेटको अनुसन्धानपरक संग्रह ‘डेन्जरस वाइभ्स एन्ड सेक्रेड डटर्स’ अझै सान्दर्भिक देखिन्छ । तर पनि कथित उच्च जातका परिवारमा गरिएको बेनेटको अध्ययनको निष्कर्ष नेपाली समाजका सबै जातजातिमा उस्तै र उत्तिकै त छैन, पक्कै।

घुमन्तेका घर

विदेशी हो ऊ । बर्सेनि केही महिना छोड्छ देश । देशदेशावर घुम्छ । जहाँ पुग्छ, उहीं रमाउँछ । ‘मल्टिपल’ घर बनेको छ उसको मस्तिष्कमा । ताए सेलासी त्यस्तै विदेशी हुन् । घाना हो उनको उद्‍गम घर । बाबा कामको सिलसिलामा पुगे नाइजेरिया । नाइजेरियामै बिहेवारी भयो बाबाआमाबीच । पछि व्यापार बढाउँदै उनीहरू पुगे लन्डन । सेलासीको हुर्काइ, बढाइ, पढाइ सबै बेलायतमै । उच्च अध्ययनको क्रममा पुगिन् अमेरिका । उतै भयो बिहे ।

हुर्केका छोरा बस्छन् क्यानडा । अब उनी कहाँकी हुन् त? उनको घर घाना हो कि नाइजेरिया? कि लन्डन हो? अथवा अमेरिका? कि क्यानडा? सोधिन्छ उनलाई सधैं– तपाईं कहाँबाट आउनुभयो (ह्वेर आर यु फ्रम?) यो प्रश्न सहज लाग्दैन उनलाई । विभक्त छ उनको पहिचान अनि आवास । सोही कारण प्रश्नकर्ताहरूलाई उनी अनुरोध गर्छिन्– कृपया अब उप्रान्त मलाई यो प्रश्न नसोध्नुस् । बरु यसरी सोध्नुभए म खुसीसाथ जवाफ दिन्छु– तपाईं कहाँ बढी अपनत्व अनुभव गर्नुहुन्छ (ह्वेर डु यु फिल लोकल)?

अर्को छन् छिमेकी देशका नागरिक, नेपालमा व्यापार छ । नेपाली नै छन्, धेरै कामदार, कर्मचारी । राम्रै छ कमाइ अनि अपार्टमेन्टको छ बसाइ । धेरैले मान गर्छन्, उनको लागि कर्मथलो नै बनेको छ घर । छैन कुनै लघुताभास । कैयौं सन्त छन्, यायावर छन् अनि वितरागी पनि । यी घुमन्तेका लागि जहाँ बस्यो त्यही घर ।

घर/बेघर

नेता छ उ । राजनीतिक मुद्दामा जेल पर्छ बेलाबखत । कहिले अन्य छलछाम, भ्रष्टाचारका मुद्दामा समातिन्छ, कहिले बन्छ प्रतिशोधको सिकार । अधिकांश समय भागेर, लुकेर बस्न बाध्य छ उ । समातिएपछि कोचिने जेलमै हो, उतै बित्छ लामो समय । उसको अस्तित्व नै खण्डित छ । स्थायी बसाइ कहाँ छ? अनि घरका कुरा के गर्नु ?

खाडीमा छ ज्यान । घरको सपनाले निरन्तर लखेटिरहेको छ । सहज छैन काम, राम्रो छैन कमाइ । सानो आफ्नै संसार उभ्याउनु छ सहरमा । बेन्जामिनको ‘खबुज’ उपन्यासले देखाएको दुर्दशा भोग्ने कैयौं यस्ता कामदारहरूको घर सपना पूरा हुने कहिले? भूकम्प, बाढी लगायतका प्राकृतिक विपत्तिमा घरवारविहीन बन्नेमा धनाढ्यहरू पनि देखिए । सडकमा पुग्यो उनीहरूको जीवन । धुलिसात भयो जिन्दगीको नियमित लय । घर अनि स्थायित्व एउटा निर्मम ठट्टा बन्यो उनीहरूको हकमा ।

पृथ्वी मान्छेको साझा घर । गाइया सिद्धान्तले भन्छ– पृथ्वीमा जीवित र निर्जीव प्राणीहरूबीच निरन्तर अन्तर्क्रिया भइरहन्छ ।

आफ्नै घर होस्– राम्ररी सजाउन पाइयोस् आफ्नै फूलबारी, आफ्नै छतमा उमार्न पाऊँ मौसमी/बेमौसमी तरकारी । एक तलामा होस् पुस्तकालय । यही सपना सजाएर बाँच्नेहरू छन् कतै । एक आफन्तले खाई नखाई घर बनाए काठमाडौंमा । केटाकेटी देशबाहिरै छन् । फर्किआउने पत्तो छैन । माथिल्लो तलामा छ बसाइ । भर्‍याङबाट तलमाथि गर्न कठिन हुँदै छ । सीमित छ उनीहरूको बहिर्गमन । घर त छ, खुसी गायब । अनेक चाहना छुटे यो दौरान, सम्झौतामै बित्यो उर्वरकाल । विस्तारै उनीहरू पनि विदेशतिरै लतारिए । अब त्यो घर बन्यो कसका लागि?

‘घर पोली खरानी’ भन्ने एउटा उखान छ । अहिले गाउँघरमा यसको राम्रो अभ्यास भएको देखिन्छ । केही दशकअघिसम्म बाउबाजेको सम्पत्ति सम्हालेर राख्नुपर्छ, बेच्नु पाप हो भन्नेहरू समेत भकाभक यही खरानी ग्याङमा सामेल भइरहेका छन् । कसैलाई सहरमा सर्नुछ, कोही विवश छन् गर्जो टार्न अनि कसैका अतिशय महत्त्वाकांक्षाका पखेटा फटफटाइरहेका छन् । जेजसरी भए पनि कृषियोग्य जमिन खण्डीकरण हुने क्रम व्यापक रूपमा बढ्दो छ । आवादी क्षेत्र कङ्क्रिटको जंगलले ढाकिँदै छ । नयाँ घर ठडिँदै छन् सर्वत्र ।

सहरमा स्थायी बसोवास छ केटाकेटीको । बाउआमा गाउँमा । अकस्मात् बिते बुबा । काजक्रिया, व्यवहार मिलाइवरी सकेपछि आमालाई पनि साथमा लान खोजे सहर । ‘म जाँदिनँ, कर नगर । बुबाले दुःख गरेर बनाको घर हो यो । बुबा बिते पनि म जान्नँ कतै । यहीँ जान्छ मेरो प्राण ।’ आमाको पुकार । असमञ्जसमा छ यो परिवार यतिवेला ।

अर्की छन् राजधानीकी रैथाने साथी । असनमा बिहे भयो । नयाँ बानेश्वरमा रहेछ अर्को घर ।

सहकर्मीलाई सुनाउँदै थिइन् एकदिन– म त गाउँको घर जान्छु आज साँझ ।

कता हो गाउँ ?

नयाँ बानेश्वर ।

पहाडवासीहरूको गाउँ र बेँसीका छुट्टाछुट्टै घरको झल्को दिने यो घर सन्दर्भ मोहक छैन त ?

घरबाहिर घर

कवि, साहित्यकार, संगीतकर्मी, कलाकार– अधिकांश घरबाहिर बिताउँछ समय । घर उसका लागि गुँड त हो तर ऊ निरन्तर चिरबिर चिरबिर गर्दै भौँतारिन्छ बाहिर । पारिवारिक जन्जालमाझ अलिकति पलायन खोज्छ आममान्छे पनि । ‘मी टाइम’ भन्छ । अफिस, बिजनेस, कलेजपछि साथीभाइसँग हराउँछ ।

टेनेसी विलियम्सको नाटक ‘द ग्लास मेनेजरी’को पात्र टमजस्तै । अहिले त राजधानी तथा अन्य सहरमा बग्रेल्ती खुलेका चिया स्टेसनले यसरी नै हराउने सुलभ ठाउँ दिएका छन् युवाहरूलाई । उदार समाजमा बिजनेस, कला, साहित्यका सम्बन्ध र सहकार्यमा कतिपयको ‘क्वालिटी टाइम’ बित्छ यस्तै चिया पसल, क्याफे, होटल, रेस्टुरेन्टमा । यसरी अस्थायी अर्को घर बनिरहेको छ हामीमाझ ।

दीर्घरोगी छ । अधिकांश समय अस्पताल धाउँछ । अस्पतालकै बसाइ छ महिनौं । अस्पतालमै नर्सिङ केयरमा रहेको छ । अधिकांश समय औषधिको ओभरडोजमा लठ्ठ पर्छ । होस आउँदा अगाडि देख्छ– नर्स र सेविकाहरू । अस्पताल नै घर बनिसक्यो विस्तारै । उसको लागि घरको परम्परागत परिभाषा नै भत्किसकेको छ ।

प्रहरी सैनिक पेसामा छ । घरपायक छैन खटाइ । साथीभाइ दौंतरीबीच कट्छ समय । अधिकांश हातहतियार, गोलीगठ्ठाले सुसज्जित छ । निरन्तर रहनु छ चलायमान र चनाखो । उसको घर अनुभूति तपाईं–हाम्रो जस्तो हुन्छ त?

सहरमा होस्टलको संख्या ह्वात्तै बढेको छ । होस्टल जीवन स्वतन्त्रता होला कसैलाई अनि कसैलाई बाध्यता । आमाबाबुबाट टाढिएर बसेका केटाकेटीमा संवेदना हराउने कुरा स्वाभाविक हो । होस्टेलले घरभित्रको पारिवारिक एकता र शान्तिमार्गमा तगारो त तेर्साएन? अर्कोतर्फ बिहे संस्थाको प्रासंगिकता नै सकिएको बहस चल्छ कतै ।

बिहे नगरी एकसाथ बस्ने, निकै ढिला गरी बिहे गर्ने अनि बिहेपछि पनि स्वेच्छाले बच्चा नबनाउनेहरूको उपस्थिति स्वाभाविक बन्दै छ । समलिङ्गी, तेस्रोलिङ्गी तथा अन्य लैङ्गिक अल्पसंख्यकका जीवन पनि गोचर बन्दैछन् आजको समाजमा । उनीहरूबीचको सहजीवनले अरू विषयझैं सम्मानजनक विमर्श मागिरहेको छ । बिहेकेन्द्रित यी बदलावले पक्कै पनि परम्परागत घर र परिवारको बनोटलाई चुनौती त पेस गरेकै छ।

आप्रवासीको घर

सोमाली मूलकी बेलायती कवि वार्सन सिरेको एउटा कविता छ– घर । यसको प्रारम्भमा उनी लेख्छिन्:

कसैले पनि आफ्नो घर छोड्दैन
जबसम्म त्यो घर सार्क माछाको मुख बन्दैन ।

…………………..

तपाईं त्यतिखेर मात्र घर छोड्न विवश हुनुहुन्छ
जब घरले तपाईंलाई बस्नै दिँदैन ।

घरले लखेटेपछि अनिश्चित भविष्यको काखमा पुग्छ मान्छे । सिरिया, इराक, अफगानिस्तान, लिबियाजस्ता देशबाट चुनौती मोलेर शरणार्थी बन्न लर्को लागिरहेछन् मान्छेहरू । राजनीतिक अशान्तिपछि देश छोड्नेको घर कहाँ छ ? तिनीहरूको लागि घर के हो ? युक्रेनी द्वन्द्वले त्यहाँका नागरिक पनि आफ्नै घरमा ‘घुटन’मा बाँचिरहेका छन् । सक्नेहरू अलि सुरक्षित आप्रवासनमा जान्छन् ।

प्यालेस्टाइन पीडा त जगजाहेर छ । देशविहीन छन् उनीहरू– अस्तित्व, सुरक्षा सबै सबै धरापमा छ उनीहरूको । घर सधैं एउटा टाढाको सपना बनेर बिझिरहेको हुन्छ उनीहरूको मनमस्तिष्कमा ।

उपत्यकाका थापाथली लगायत ठाउँबाट हालसालै हटाइएकाहरूमा कोही सरकारकै दाबीअनुरूपका हुकुम्बासी थिए होलान्, मानौं । उनीहरूका त आआफ्ना घर होलान्, उतै गए सायद । तर जसको कहीं केही छैन, ती त सरकारी कदमको निर्ममताको सिकार बने नै । संख्या न्यून भए पनि उनीहरूलाई त फेरि बेघरवार बनाइयो । अनि कति थिए त यस्ता मान्छेहरू, कुनै लेखाजोखा नगरी लखेटियो । आफ्नै देशमा प्यालेस्टिनी दुर्दशा भोग्न बाध्य पारियो । यी र यस्ता साँच्चिकै सुकुम्बासी र घरवारविहीनका हकमा ‘घर जाने भाष्य’ कहाँनेर मेल खाला त?

साझा घर

पृथ्वी मान्छेको साझा घर । गाइया सिद्धान्तले भन्छ– पृथ्वीमा जीवित र निर्जीव प्राणीहरूबीच निरन्तर अन्तर्क्रिया भइरहन्छ । यसै अन्तर्क्रियाबाट स्वचालित, अन्तर्सम्बन्धित प्रणालीको विकास हुन्छ । यही प्रणालीले पृथ्वीमा जीवजन्तुका लागि अनुकूल परिवेश कायम राख्न सघाउँछ । तर मानव घरझैं पृथ्वी घर पनि सन्तुलन गुमाउँदै छ । जीवित प्राणी मानवका चरम उपभोगी व्यवहारले यो घर धरासायी बन्दै छ । जलवायु संकट चुलिँदो छ । बाढीपहिरो, अनेक बेमौसमी संकट । धरमराउँदो अवस्थामा पुग्दै छन् दिनानुदिन– यी दुवै थरी घरहरू ।

अन्त्यमा, पृथ्वीमा मान्छेको क्षणभंगुर उपस्थितिलाई सम्झाउँदै भियतनामी लेखक ओसन भुवङले लेखेका यी हरफहरू– ‘पृथ्वीको सापेक्षमा हेर्ने हो भने एकजना मान्छेको जीवन असाध्यै छोटो छ, निमेषभरको मात्र हुन्छ । त्यही भएर बाँचुन्जेल आफूलाई भव्य केही ठान्नु पनि असाध्यै क्षणिक कुरा हो ।’ (अन अर्थ वी आर ब्रिफ्ली गर्जस्)

सप्ताहान्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?