११ मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले निर्माणाधीन बीपी राजमार्ग निर्माण निर्धारित समयमै सक्न निर्देशन दिएका छन् ।
सभापति गजुरेलको नेतृत्वमा आज सांसद सृष्टि भट्टराई, सडक डिभिजन प्रमुख अभिमन्यु मुल्मी र इन्जिनियर शंकर खनालबीच राजमार्गको हालसम्मको निर्माण प्रगति, निर्माण क्रममा देखिएका समस्या तथा आगामी कार्ययोजनाबारे छलफल भएको छ ।
छलफलमा सभापति गजुरेलले निर्माण कार्य समयमै सक्न आवश्यक जनशक्ति, निर्माण सामग्री तथा प्राविधिक व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिए । उनले निर्माण कार्यको गति बढाउँदै गुणस्तरमा समेत विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
हालै सडक डिभिजन प्रमुखका रूपमा सरुवा भई आएका अभिमन्यु मुल्मीलाई राजमार्ग निर्माणको जिम्मेवारीलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी निर्माण कायर्मा तीव्रता दिन सभापति गजुरेलले आग्रह गरे ।
सभापति गजुरेलले बीपी राजमार्ग सिन्धुली, काभ्रेपलाञ्चोक तथा आसपास क्षेत्रका नागरिकको आवागमन, व्यापार, पर्यटन र आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण सडक पूर्वाधार भएकाले यसको निर्माणमा अनावश्यक ढिलाइ हुन नदिन आग्रह गरे ।
निर्माण कार्य प्रभावकारी अघि बढाउन सरकारका तर्फबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरणका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले निर्माण क्रममा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरे ।
बीपी राजमार्ग निर्माण कार्य समयमै सम्पन्न हुँदा नागरिकको सुरक्षित र सहज आवागमन सुनिश्चित हुनुका साथै स्थानीय आर्थिक गतिविधि, व्यापार तथा पर्यटन प्रवर्द्धन र समग्र पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा छ ।
प्रतिक्रिया 4