११ मंसिर, काठमाडौं । प्रहरी हिरासतमा रहेका इनम सापकोटाले आफ्नो ज्यानको सुरक्षाको माग गर्दै मानव अधिकार आयोगमा पेस गरेको उजुरीमा आफूमाथि जबर्जस्ती गरिएको दाबी गरेका छन् ।
उनको तर्फबाट श्रीमति कविता पाण्डेले दिएको उजुरीमा आफूमाथि जबर्जस्ती विभिन्न व्यक्तिका नाममा बयान गर्न लगाइएको उल्लेख गरेका छन् । प्रहरीले पक्राउ गरी के आफूमाथि के कसो गर्यो भन्नेबारे उनले विस्तृतमा निवेदनमा खुलाएका छन् ।
आयोगमा दर्ता भएको निवेदन अनुसार इनम सापकोटाले उल्लेख प्रसंग यस्ता छन् :
१. विमानस्थलबाट नियन्त्रण र आँखामा पट्टी
मिति २०८३/०६/१४ गते दिनको करिब १०:३० बजे नयाँदिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको, बोर्डिङ पास लिएपछि २ वटा मोबाइल फोन खोसेर लिई गाडीमा राखी आँखामा पट्टी लगाएर लगेको र १४ गतेदेखि १५ गते साँझसम्म अज्ञात स्थलमा कालो पट्टीमै राखेको।
२. विशिष्ट व्यक्तिहरूविरुद्ध बयान र प्रमाण दिन धम्की
सोधपुछका क्रममा ‘तिम्रो विरुद्ध हाम्रो व्यक्तिगत केही छैन’ भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, उनका भाइ तथा छोरा, गगन थापा, उमेश श्रेष्ठ, मीनबहादुर गुरुङ, नवीन तुलाधर र सर्वोच्च अदालतमा कार्यरत केही श्रीमान्हरूविरुद्ध प्रमाण र बयान दिए छाड्ने, नत्र आफू मात्र होइन परिवारसमेतलाई नराम्रो हुने धम्की दिएको।
३. झुट्ठा मुद्दा र मानसिक यातना
आफूलाई जानकारी नै नभएको र परिवारकै जिउज्यानमा खतरा पर्ने गरी अरूविरुद्ध बोल्न नसक्ने बताउँदा लामो समय जेल बस्ने गरी झुट्ठा मुद्दा लगाउने तथा एकतिरको आँखाको पट्टी खोल्ने भन्दै फकाउने, तर्साउने र मानसिक यातना दिएको।
४. लेखेका कुरा पढ्न लगाइयो
प्रहरीले ‘धेरै कुरा बोल्न पर्दैन, हामीले यहाँ लेखेको पढ्नुस् अनि माथि सारी सबैले सुन्ने गरी पढ्नुस्’ भनेअनुसार पढेको र पछि तिनै कुरा उल्लेख गरिएको कागजमा सही गर्न भन्दा मलाई थाहै नभएका झुट्ठा कुरामा सही गर्न सक्दिनँ भनी दस्तखत गर्न इन्कार गरेको।
५. आँखामा पट्टी र चश्मा लगाई भद्रकाली पुर्याएको
सही गर्न नमानेपछि ‘अब यसलाई यत्तिकै छाड्ने होइन, मुद्दा लगाएर खोरभित्र हाल्नुपर्छ’ भन्दै आँखामा पट्टी र त्यसमाथि अर्को चश्मा लगाउन लगाई गाडीमा हालेर साँझ जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुर्याएको, खल्तीमा २ वटा कागज हालिदिएको र थुनामा राखेको।
६. घर खानतलासी र सुटकेसको पैसा घरमा फेला परेको मुचुल्का
भोलिपल्ट १६ गते बिहान करिब ८:३० बजे हथकडी लगाएर पानीपोखरी हाइट्स होम्स अपार्टमेन्टमा लगेको, खानतलासीमा खासै केही नभेटिएपछि सुटकेसको साइड ब्यागबाट निकालिएको विदेशी मुद्रासमेत घरमा फेला परेको भनी मुचुल्का बनाएको तथा श्रीमतीको दस्तखत पहिले नै खाली पेजमा गराइएको
७. झुट्ठा बेहोरामा म्याद थप र सम्पत्ति शुद्धीकरण मुद्दा
विमानस्थलको सडकमा महिला तथा सर्वसाधारणमाथि अभद्र व्यवहार गरेको भनी गलत म्याद थप गरिएको, कानुन व्यवसायीले राष्ट्र बैंकको परिपत्रअनुसार डलर राख्न पाइने कानुनी व्यवस्था देखाएपछि सम्पत्ति शुद्धीकरण मुद्दा थपेर झुट्ठा मुद्दा सिर्जना गरी थुनामा राख्ने प्रवृत्ति देखाएको।
८. पढ्न लगाइएका कुरा रेकर्ड र अडियो काँटछाँट गरी सार्वजनिक
पक्राउ परेको दिन पढ्न लगाइएका कुरा (कांग्रेसको आधिकारिकता विवाद, न्यायाधीशहरूको सेटिङ जस्ता विषय) रेकर्ड गरिएको, अडियो परीक्षणका नाममा काँटछाँट गरी सार्वजनिक गरिएको र सोही अडियोका आधारमा बयान दिन मानसिक दबाब र यातना दिइएको।
९. मोबाइल अनाधिकृत व्यक्तिलाई दिई छेडखानी र एआई कागजात
आफ्नो मोबाइल २ दिनसम्म अन्य अनाधिकृत व्यक्तिलाई दिई नियन्त्रणमा रहँदा छेडखानी गरिएको, हुँदै नभएका प्रमाण सिर्जना गरिएको र एआईबाट सिर्जित कागजातसमेत प्रमाणका रूपमा प्रस्तुत हुन थालेको।
१०. मौलिक हक हनन
आरोप प्रमाणित नहुँदै देशकै सबैभन्दा ठूलो बिचौलिया, फिक्सर जस्ता उपनाम दिई मिडिया ट्रायल गरिएको, श्रीमतीले कागज गर्न जाँदा समेत प्रहरीको फन्दामा परेको जस्ता शब्द लेख्न लगाई बदनाम गराइएको तथा संविधानको धारा २० र धारा २८ विपरीत मौलिक हकमाथि आघात पुर्याएको ।
प्रतिक्रिया 4