११ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले वित्तीय जानकारी इकाइ (एफआईयू) मा उजुरी गर्ने शङ्कास्पद कारोबार तथा गतिविधिमा १० प्रतिशतभन्दा धेरै हुन्डीसँग सम्बन्धित हुने गरेको देखिएको छ ।
वित्तीय जानकारी इकाइले गरेको अध्ययन अनुसार कुल शङ्कास्पद कारोबारमध्ये १०.६ प्रतिशत हुन्डीसँग जोडिने गरेको देखिएको हो ।
वित्तीय जानकारी इकाइले पुस २०८१ देखि असार २०८३ सम्मका बैंक तथा वित्तीय संस्थाबाट आएको शङ्कास्पद कारोबार प्रतिवेदन विश्लेषण गरेको छ ।
उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाले शङ्कास्पद कारोबार र गतिविधि गरेर १५ हजार ८ सय १५ वटा रिपोर्टिङ इकाइमा आएको थियो । त्यसमध्ये १ हजार ६ सय ७२ रिपोर्टिङ हुन्डी कारोबारसँग जोडिएको इकाइको विश्लेषणमा खुल्न आएको छ ।
हुन्डी अब परम्परागत व्यापार वा विप्रेषण (रेमिट्यान्स) माध्यममा मात्र सीमित नरही अपराधबाट आर्जित सम्पत्ति शुद्धीकरण गर्ने, भन्सार छल्ने, पूँजी पलायन गर्ने तथा अवैध अनलाइन जुवा/क्रिप्टोकरेन्सीे कारोबार मिलाउने संगठित सञ्जालका रूपमा विकास भइरहेको इकाइको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
हुन्डीले वास्तविक पैसाको सीमापार ओसारपसार नगरी ‘नेटिङ’, न्यून बिजकीकरण, नगद कुरियर, म्युल खाता वा भर्चुअल सम्पत्ति मार्फत हिसाब मिलान गर्ने गरेको पनि इकाइको अध्ययनमा खुलेको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अन्तर्गत ‘सम्बद्ध कसुर’ कायम भएपछि इकाइले करिब २० महिनासम्म गोएमएलमा आएका १ हजार ६ सय ७२ शङ्कास्पद कारोबार/गतिविधि प्रतिवेदनमध्ये नमुना छनोटबाट २ सयको गहन विश्लेषण गरेको इकाइले जनाएको छ । साथै, नेपाल प्रहरीको पछिल्लो ५ आर्थिक वर्षको अनुसन्धान तथ्यांक र अन्तर्राष्ट्रिय अध्ययनहरूलाई समेत समेटिएको इकाइले जनाएको छ ।
मुलुकी अपराधसंहिता २०७४ को दफा १२५ ‘क’ ले हुन्डी कारोबारलाई फौजदारी कसुर मानी बिगो जफत र १ वर्षसम्म कैदको व्यवस्था गरेको छ । साथै, विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ र नेपाल राष्ट्र बैंक ऐन २०५८ ले इजाजतपत्रविना विदेशी विनिमय वा विप्रेषण कारोबार गर्न निषेध गरेका छन् ।
इकाइको अध्ययन प्रतिवेदन अनुसार नेपालमा हुन्डी फस्टाउनुमा औपचारिक र अनौपचारिक विनिमय दरको अन्तर, विदेशी मुद्रा सटही सीमा, आयातमा न्यून बिजकीकरण गरी भन्सार छल्ने प्रवृत्ति, कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब ५० प्रतिशत हिस्सा ओगट्ने नगद–आधारित अनौपचारिक अर्थतन्त्र, भारतसँगको खुला सिमाना, वैदेशिक रोजगारीको ठूलो प्रवाह तथा भर्चुअल एसेट्स र अनलाइन बेटिङमाथिको प्रतिबन्ध मुख्य कारक देखिएका छन् ।
हुन्डीसँग सम्बन्धित शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमध्ये सबैभन्दा धेरै वाणिज्य बैंकबाट आएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार हुन्डीसँग सम्बन्धित शङ्कास्पद कारोबारमध्ये ८९.८९ प्रतिशत वाणिज्य बैंक, ७.१८ प्रतिशत विकास बैंक, १.६७ प्रतिशत वित्त कम्पनी, ०.७८ प्रतिशत रेमिट्यान्स कम्पनी र ०.४८ प्रतिशत भुक्तानी प्रणाली तथा सेवा प्रदायकबाट फाइल भएका छन् ।
‘नमूना विश्लेषण गरिएका शङ्कास्पद व्यक्ति/संस्थाका सञ्चालकमध्ये ८४ प्रतिशत पुरुष र १६ प्रतिशत महिला छन्,’ प्रतिवेदनमा छ, ‘उमेर समूहका आधारमा २५–३४ वर्षका ३९ प्रतिशत र ३५–४४ वर्षका २६.५ प्रतिशत गरी २४ देखि ४४ वर्ष उमेर समूहका युवा तथा वयस्कहरूको बाहुल्य (६५.३ देखि ६५.५ प्रतिशत) छ, त्यसमा पनि विद्यार्थी ९ प्रतिशत र गृहिणी ५.५ प्रतिशत समेत शङ्कास्पद सूचीमा देखिनुले तेस्रो पक्ष वा ‘म्युल खाता’ को प्रयोग भएको संकेत गर्छ ।’
प्रतिवेदन अनुसार शङ्कास्पद व्यक्ति वा फर्मको दर्ता/ठेगानामध्ये करिब ५३ प्रतिशत मधेस प्रदेशका छन्, त्यसपछि कोशी १६ र लुम्बिनीका १२.५ प्रतिशत छन् ।
जिल्लागत हेदाृ सिरहा १०.५, सप्तरी १०, सुनसरी ९, धनुषा ८ र महोत्तरी ७.५ प्रतिशत अगाडि छन् । वैदेशिक रोजगारीमा जाने ठूलो संख्या र खुला भारतीय सिमानासँगको निकटता यसका प्रमुख कारण हुन् ।
हुन्डीमा संलग्न फर्ममध्ये खुद्रा व्यापार ४३ र रेमिट्यान्स सबएजेन्ट ४१.५ गरी दुई क्षेत्रको हिस्सा ८४ प्रतिशत छ । रेमिट्यान्स सबएजेन्ट नगद भित्र्याउने र बाहिर निकाल्ने माध्यम भएकाले उच्च जोखिममा देखिएको अध्ययनको निष्कर्ष छ । हुन्डीसम्बन्धी प्रतिवेदन परेका खातामध्ये करिब ४० प्रतिशत खाता खोलिएको एक वर्षभित्र रिपोर्टिङमा परेका छन् भने तीन–चौथाइभन्दा बढी खाता आर्थिक वर्ष २०७८/७९ पछि खोलिएका छन् । यसले हुन्डीकै प्रयोजनका लागि नयाँ वा म्युल खाता खोलिने प्रवृत्ति देखिएको अध्ययनको निष्कर्ष छ ।
नेपालमा हुन्डीका ८ प्रमुख प्रवृत्ति पहिचान गरेको अध्ययनले देखाएको छ । कम साक्षर वा अस्थिर आम्दानी भएका युवाका नाममा खाता खोली वा प्रयोग गरी रकम ओसारपसार गर्ने गरेको अध्ययनले औँल्याएको छ ।
‘एउटा घटनामा ५२ वटा बैंक खातामार्फत करिब १.०३ देखि १.०४ अर्ब रुपैयाँ घुमाइएको देखियो,’ प्रतिवेदनमा छ, ‘सीमाभन्दा कम रकमको खण्डित नगद जम्मा र दैनिक १० लाख रुपैयाँको थ्रेसहोल्ड छल्न विभिन्न शाखा र खातामा थोरै–थोरै नगद जम्मा गर्ने र कनेक्ट आइपीएस मार्फत तुरुन्तै धेरै खातामा पठाउने गरेको अध्ययनले पहिल्याएको छ ।’
प्रतिवेदनका अनुसार वैध व्यापारको आवरण दिन फ्रन्ट/शेल कम्पनी खोल्ने र ठूलो रकम घुमाउने बाटोबाट परिचालन गर्ने गरेको पहिचान भएको छ । अन्तरदेशीय हिसाब मिलान छिटो गर्न र कागजी प्रमाण मेट्न स्टेबलक्वाइन लगायत भर्चुअल एसेट्स प्रयोग भएको छ ।
खुला सिमानाको फाइदा उठाउँदै नगद कुरियर मार्फत नेपाली वा भारतीय रुपैयाँ ओसारपसार गर्ने तथा डिजिटल समन्वय र ह्वाट्सएप जस्ता इन्क्रिप्टेड म्यासेजिङ एप वा नोटको सिरियल नम्बरलाई कोड बनाएर समन्वय गर्ने गरेको अध्ययनले औँल्याएको छ ।
तर, रकम भुक्तानी/मिलान भने परम्परागत वा नगद/वस्तुमार्फत नै हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । औपचारिक विप्रेषण भुक्तानीको आवरणमा हुन्डीको रकम वितरण/संकलन गर्ने, सुन तस्करीसँगको साँठगाँठ, विदेशमा संकलित वैदेशिक मुद्रा उतैबाट तस्करीको सुन आपूर्तिकर्तालाई तिर्ने र नेपालमा सुन बिक्रीबाट उठेको नगद हुन्डी सञ्जाल मार्फत परिचालन गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल प्रहरीले सुरु गरेका हुन्डीसम्बन्धी अनुसन्धान २०७८/७९ मा १८ वटा रहेकामा २०८१/८२ मा बढेर ६० पुगेको छ । पछिल्लो ५ आर्थिक वर्षमा कुल १ सय ९७ अनुसन्धान सुरु भएकामा १ सय ९० मुद्दा अदालतमा दायर भएका छन् र १ सय ३ मुद्दामा अन्तिम फैसला भएको प्रतिवेदनमा छ ।
पछिल्लो ५ आर्थिक वर्षमा कुल ३ अर्ब ८७ करोड रुपैयाँ बिगो दाबी गरिएकामा ३ अर्ब ८६ करोड बरामद भएको प्रतिवेदनमा उल्लेख छ । सोही अवधिमा १६ करोड ४४ लाख रुपैयाँ रोक्का र २ अर्ब ७३ करोड जफत भएको प्रतिवेदनमा छ ।
बैंक, वित्तीय संस्था, भुक्तानी प्रणाली वा सेवा प्रदायक र रेमिट्यान्स कम्पनीको निरन्तर अनुगमन गर्ने, खाता खोल्दा र कारोबारमा कडा ग्राहक पहिचान लागु गर्ने, डिभाइस/जिओलोकेसन ट्र्याक गर्ने, म्युल खाता र थोरै रकमको शङ्कास्पद नगद जम्मा पहिचान गर्ने काम गर्नुपर्ने अध्ययनले सुझाएको छ ।
उच्च जोखिमयुक्त क्षेत्रका रूपमा रहेको सीमा क्षेत्रका सुनचाँदी, आयात–निर्यात, मनि चेन्जर, रेमिट्यान्स एजेन्ट, सहकारी र डिजिटल वालेटमा लक्षित अनुगमन बढाउन अध्ययनले सुझाएको छ ।
प्रतिक्रिया 4