११ मङ्सिर, वेलिङ्टन । न्युजिल्यान्डको आमनिर्वाचनको अन्तिम मतपरिणामले प्रारम्भिक समीकरण उल्ट्याइदिएपछि प्रधानमन्त्री क्रिस्टोफर लक्सनको संसदीय बहुमत एक सिटले गुमेको छ ।
शुक्रबार सार्वजनिक अन्तिम नतिजाअनुसार लक्सन नेतृत्वको दक्षिणपन्थी गठबन्धन बहुमतभन्दा एक सिट कममा सीमित भएपछि सरकार टिकाउन अब मध्यमार्गी ‘अपर्चुनिटी’ पार्टीको समर्थन अनिवार्य बनेको छ ।
नोभेम्बर ७ को प्रारम्भिक मतपरिणामले गठबन्धनलाई बहुमत दिएको देखिए पनि अन्तिम गणनामा नेसनल पार्टीले दुई सिट गुमाएसँगै न्युजिल्यान्डको राजनीतिक समीकरण एकाएक बदलिएको हो ।
नयाँ सरकार गठनका लागि हुने वार्ता चुनौतीपूर्ण र समय लाग्ने खालको हुन सक्ने प्रधानमन्त्री लक्सनले स्वीकार गरेका छन् । दलहरूबीच सहमति जुट्न नसके देशमा पुनः निर्वाचन हुन सक्ने सम्भावनासमेत देखिएको छ ।
यो राजनीतिक मोडसँगै ३८ वर्षीया क्युला वोङ नेतृत्वको मध्यमार्गी ‘अपर्चुनिटी’ पार्टी सरकार गठनको निर्णायक शक्ति बनेको छ । गत वर्ष अगस्टमा करिब एक प्रतिशत मतमा सीमित रहेको पार्टीको नेतृत्व सम्हालेकी वोङ अहिले न्युजिल्यान्डको सत्ता समीकरणको केन्द्रमा उदाएकी छन् ।
प्रधानमन्त्री लक्सन र विपक्षी लेबर पार्टीका नेता क्रिस हिप्किन्स दुवैले उनीसँग छलफल गरिसकेका छन् ।
अपर्चुनिटी पार्टीले सबैभन्दा धेरै सिट प्राप्त गर्ने दलसँग सहकार्य गर्ने जनाएको छ । तर, जलवायु परिवर्तन, जीवनयापन खर्च र राजनीतिक शुद्धतासम्बन्धी आफ्ना आधारभूत अडानमा कुनै सम्झौता नगर्ने वोङले स्पष्ट पारेकी छन् ।
उनले पनि अर्को निर्वाचनको सम्भावनालाई अस्वीकार गरेकी छैनन् । व्यावहारिक र सहकार्यमा आधारित राजनीतिमार्फत बढ्दो राजनीतिक ध्रुवीकरण कम गर्ने प्रतिबद्धता वोङले जनाएकी छन् ।
यता प्रधानमन्त्री लक्सनले न्युजिल्यान्डवासीलाई स्थिर र पूर्ण कार्यकाल चलाउन सक्ने सरकार आवश्यक रहेको बताएका छन् । सन् २०२३ को निर्वाचनपछि पनि लक्सनलाई ‘न्युजिल्यान्ड फर्स्ट’ र ‘एसीटी’ पार्टीसँग गठबन्धन सरकार बनाउन छ हप्ताभन्दा बढी समय लागेको थियो ।
यसपटकको जटिल अङ्कगणितका कारण नयाँ सरकारको स्वरूप निर्धारण हुन केही हप्ता वा महिना लाग्न सक्ने देखिएको छ ।
राष्ट्रिय प्रसारणकर्ता आरएनजेडका अनुसार गठबन्धन साझेदार ‘न्युजिल्यान्ड फर्स्ट’ ले शुक्रबार समर्थकलाई पठाएको सन्देशमा निर्वाचनको नतिजाले मुलुकलाई आवश्यक निश्चितता दिन नसकेको जनाएको छ । एएफपी
प्रतिक्रिया 4