११ मंसिर, काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर शुक्रबार साँझ साढे ६ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।
दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडा निवासी ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु भएको छ ।
दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४का २१ वर्षीय नवीन बोहरासहित पाँच जना घाइते भएका छन् ।
घाइते हुनेमा जगन्नाथ गाउँपालिका–३ की ४० वर्षीया बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षीया संगीता शाही र ५२ वर्षीया रामशरा देवी सिंह रहेका छन् । घाइतेमध्ये संगीता शाही र रामशरा देवी सिंहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चालक बोहरा र अन्य दुई घाइतेको अवस्था मध्यम छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी जुड्डी र इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी टोली राति ९ बजे घटनास्थल पुगेको थियो ।
घाइतेहरूलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4