१२ मंसिर, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्रले मासिक सरदर ६२ हजार क्युआर–कोडसहितको स्मार्ट लाइसेन्स छापिरहेको जनाएको छ ।
केन्द्रले देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गतका कार्यालयबाट प्राप्त विवरणका आधारमा लाइसेन्स छापिरहेको जनाएको छ । चालु आर्थिक वर्षको साउनयता केन्द्रले दुई लाख ५० हजार लाइसेन्स छापिसकेको छ ।
केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार यातायात व्यवस्था विभागअन्तर्गतका कार्यालयबाट इमेलमार्फत प्राप्त छपाइ अनुरोध र विवरणका आधारमा दैनिक लाइसेन्स छाप्ने काम भइरहेको छ । छपाइ भएको परिमाणअनुसार सम्बन्धित कार्यालयबाटै भुक्तानी हुने व्यवस्था रहेको उनले बताए ।
क्युआर–कोडसहितको स्मार्ट लाइसेन्स छपाइ सुरु गरेदेखि गत असार मसान्तसम्म केन्द्रले २७ लाख ४७ हजार लाइसेन्स छापेर सम्बन्धित कार्यालयमा पठाएको छ ।
यातायात व्यवस्था विभाग र केन्द्रबीच गत वैशाख ४ गते क्युआर–कोडसहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएपछि सोही गुणस्तरको लाइसेन्स छाप्ने काम सुरु भएको हो ।
विभागसँगको पहिलो चरणको सम्झौताअनुसार १२ लाख थान लाइसेन्स छापिएको थियो । त्यसपछि गत असार मसान्तसम्म थप १५ लाख ४७ हजार लाइसेन्स छापिएको तिमिल्सिनाले बताए । लाइसेन्स छपाइसँगै केही संख्यामा ब्याकलग लाइसेन्स पनि छाप्ने गरिएको उनले बताए ।
केन्द्र र विभागबीच पहिलो चरणमा २०८२ कात्तिक १२ गते ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छाप्ने सम्झौता भएको थियो । केन्द्रले निर्धारित समयभन्दा अगाडि नै उक्त काम सम्पन्न गरेको थियो । दोस्रो चरणमा गत वैशाख ४ गते थप १५ लाख ४७ हजार लाइसेन्स छाप्ने सम्झौता भएको थियो ।
गत आर्थिक वर्षमा केन्द्रले हुलाक सेवा विभागसँगको सम्झौताअनुसार करिब ९० लाख थान हुलाक टिकट पनि छापेको थियो ।
२५ कर्मचारी लाइसेन्स छपाइमा
सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइका लागि नौ जना इन्जिनियर र १६ जना प्राविधिक गरी २५ कर्मचारी खटिएका छन् । केन्द्र परिसरमा निर्माणाधीन बहुउद्देश्यीय भवनको काम पनि अन्तिम चरणमा पुगेको छ ।
सूचना–प्रविधि पार्क (आईटी पार्क)का लागि निर्माण गरिएका भौतिक पूर्वाधार प्रयोगविहीन भएपछि सरकारले उक्त पार्कलाई छ वर्षअघि सुरक्षण मुद्रण केन्द्रमा परिणत गरेको थियो ।
केन्द्रमा राहदानी, बैंक नोट, चालक अनुमति पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकर र सिमकार्डलगायत सुरक्षित रूपमा छाप्न सकिने पूर्वाधार छन् ।
पार्क परिसरमा खानेपानीका लागि एक लाख लिटर क्षमताका दुई ट्यांकी, छापाखाना सञ्चालनका लागि चार ठूला जेनेरेटर र तीन लाख लिटर क्षमताको भूमिगत डिजेल ट्यांकी निर्माण गरिएको छ ।
प्रेस पूर्ण रूपमा सञ्चालनमा आए सुरक्षित मुद्रणका लागि नेपालबाट वार्षिक रूपमा बाहिरिने करिब १० अर्ब रुपैयाँ जोगिने अपेक्षा गरिएको छ ।
विसं २०५७ मा निर्माण सुरु भएको आईटी पार्कको काम सम्पन्न भएपछि २०६१ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
कुल २५७ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा दुई ठूला व्यापारिक तथा प्रशासनिक भवन, भण्डारण भवन र चार सुविधासम्पन्न आवासीय भवनसहित १० भवन छन् ।
दक्षिण एसियाकै नमुना र ठूलो मानिएको उक्त पार्क सञ्चालनमा आउन नसक्दा लामो समय जीर्ण अवस्थामा रहेको थियो ।
प्रतिक्रिया 4