१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन शाह ‘बालेन्द्र’को भारत भ्रमणका क्रममा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएको सीमा मुद्दाले अपेक्षित प्राथमिकता नपाएको भन्दै सरकारसँग जवाफ मागेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री शाहको भारत भ्रमणबारे निर्णय गर्दै सीमा विवादलाई उच्चस्तरीय कूटनीतिक संवादमा प्राथमिकताका साथ उठाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
कांग्रेसले प्रधानमन्त्री शाहको विगतका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास रहेको टिप्पणीसमेत गरेको छ ।
बैठकको निर्णयमा भनिएको छ, ‘प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि भारतसँगको सम्बन्ध, विशेष गरी सीमाका विषयमा जसरी उहाँले अपरिपक्व तथा उत्तेजक कार्य र अभिव्यक्ति दिँदै लोकप्रियता प्रदर्शन गर्नुभएको थियो, पछि जब कूटनीतिक संवादमार्फत त्यो विषयलाई निर्णायक रूपमा उठाउने अवसर आयो, तब उक्त विषयलाई प्रवेश नै नगराई फर्किनुले उहाँको दोहोरो चरित्र उदाङ्गो भएको छ ।’
कांग्रेसले बोली र व्यवहारबीचको विरोधाभासले कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वता उजागर गरेको जनाएको छ । कांग्रेसले भ्रमणका क्रममा भएका सहमति र उपलब्धिलाई सकारात्मक रूपमा लिए पनि संयुक्त वक्तव्य जारी हुनुलाई मात्रै ऐतिहासिक उपलब्धि मान्न नसकिने स्पष्ट पारेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले विगतका सरकारले जारी गर्न नसकेको संयुक्त वक्तव्य यसपटक जारी हुनुलाई ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गरेको प्रसंग उल्लेख गर्दै कांग्रेसले उपलब्धिको मूल्याङ्कन त्यसमा समेटिएका विषयवस्तु र राष्ट्रिय हितको सम्बोधनका आधारमा हुनुपर्ने बताएको छ ।
निर्णयमा भनिएको छ, ‘संयुक्त वक्तव्य वा दूरदृष्टि पत्र जारी हुनु आफैंमा मात्र उपलब्धिको पर्याप्त आधार होइन । त्यसमा समेटिएका विषयवस्तु, राष्ट्रिय हितको सम्बोधन र त्यसबाट प्राप्त हुने परिणामका आधारमा उपलब्धिको मूल्याङ्कन गरिनुपर्दछ ।’
सीमा विवाद समाधानका लागि आवश्यक उच्चस्तरीय कूटनीतिक संवादलाई प्राथमिकता नदिएको कांग्रेसको निष्कर्ष छ । उसले सरकारसँग भ्रमणका क्रममा सीमासम्बन्धी विषयमा भएको छलफल र आगामी दिनमा कुन संयन्त्रमार्फत कूटनीतिक पहल अघि बढाइन्छ भन्नेबारे संसद् र आमनागरिकलाई स्पष्ट पार्न माग गरेको छ ।
कांग्रेसले प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका केही सहमतिलाई भने सकारात्मक उपलब्धिका रूपमा लिएको छ । भैरहवा हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति, भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछिको पुनर्निर्माणका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग तथा शिक्षा, प्रविधि, स्टार्टअप, नवप्रवर्तन, खेलकुद र जलवायु उत्थानशीलताका क्षेत्रमा सहकार्य विस्तार गर्ने पहललाई स्वागत गरेको छ ।
तर, सहमतिहरू कार्यान्वयनमा नजाँदासम्म पूर्णउपलब्धि मान्न नसकिने कांग्रेसको भनाइ छ । कांग्रेसले भैरहवा हवाई मार्ग सञ्चालनको स्पष्ट समयसीमा, विकास सहयोगको पारदर्शिता, सहुलियतपूर्ण ऋणका सर्त र लगानीको प्रतिफलबारे सरकारले जानकारी दिनुपर्ने माग गरेको छ ।
कांग्रेसले भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयनमा रचनात्मक निगरानी राख्ने र राष्ट्रिय हितका संवेदनशील विषयमा सरकारलाई खबरदारी गर्ने जनाएको छ ।
बैठकको निर्णयमा भनिएको छ, ‘भएका सहमतिहरूलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न नेपाली कांग्रेसको रचनात्मक निगरानी निरन्तर रहनेछ भने राष्ट्रिय हितका संवेदनशील विषयमा सरकार जहाँ–जहाँ चुकेको छ, त्यहाँ–त्यहाँ हाम्रो सशक्त खबरदारी रहनेछ ।’
नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, सार्वभौम समानता, आपसी विश्वास र साझा हितका आधारमा अघि बढाउन कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै राष्ट्रिय हितका विषयमा सरकारका सकारात्मक प्रयासमा साथ दिने तर आवश्यक कूटनीतिक पहल गर्न नसकेको अवस्थामा संसद् र सार्वजनिक मञ्चबाट प्रश्न उठाउने निर्णय गरेको छ ।
प्रतिक्रिया 4