१३ मंसिर, मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य सुरु हुनसकेको छैन ।
२०७९ साल फागुनमा कोरलानाका क्षेत्रमा भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा पोस्टलगायतका संरचना निर्माण गर्ने उद्देश्यले सरकारले डिपिआर सर्भे गरेको थियो । त्यसअघि नै नाकाको नेपालतर्फ करिब एक हजार रोपनी जग्गा भन्सारलगायतका संरचना निर्माणका लागि नेपाल सरकारका नाममा प्राप्ति गरिएको थियो ।
चीनसँगको व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले गरिएको सर्भे दुई महिनासम्म सञ्चालन भएको थियो । सो क्रममा प्रस्तावित पूर्वाधार निर्माणस्थलको भौगर्भिक अवस्था र माटो परीक्षणसमेत गरिएको थियो । तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिको योजनाअनुसार भन्सारसहितका आवश्यक संरचना निर्माणका लागि डिपिआर तयार गरिएको थियो ।
सितारा इन्टुसीप–फुलराइट जेभीले एक करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी डिपिआर सर्भे सम्पन्न गरेको थियो । प्रतिवेदन सरकारलाई बुझाइएको लामो समय बितिसक्दासमेत पूर्वाधार निर्माणको काम सुरु नहुनु दुःखद् भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए ।
चीनसँग सीमा जोडिएका नाकामध्ये कोरलानाका महत्वपूर्ण वैकल्पिक व्यापारिक नाकाका रूपमा स्थापित भइसके पनि आवश्यक पूर्वाधार नहुँदा निकासी तथा पैठारी व्यापार व्यवस्थापन र पारवहन नाकाका रूपमा विकास गर्न समस्या भइरहेको अध्यक्ष विष्टको भनाइ छ ।
नेपाल–चीन उत्तरी कोरलानाका उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको तीन वर्ष भइसकेको छ भने वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको पनि दुई वर्ष बितिसकेको छ । गत वर्ष यस नाकाबाट रु छ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ ।
पछिल्लो समय कोरलानाकाबाट दैनिक ६० देखि ७० वटासम्म कन्टेनर र करिब १०० विद्युतीय गाडी नेपाल भित्रिने गरेका छन् । तर, आवश्यक भौतिक पूर्वाधार नहुँदा नाकाको सञ्चालन तथा सवारी व्यवस्थापनमा समस्या देखिएको छ ।
तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द रहेको अवस्थामा नेपाल–चीन जोड्ने कोरलानाकामा व्यापारिक चहलपहल बढेको छ । बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै दैनिक सयौँ कन्टेनर तथा विद्युतीय सवारीसाधन आवतजावत गरिरहेका छन् । नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि लोमान्थाङ–४ न्हेचुङस्थित भन्सार यार्डमा कन्टेनर र विद्युतीय सवारीको चाप बढेको छ । सडकका तीन लेनसम्म ढाकिने गरी कन्टेनर पार्किङ गर्दा कोरलानाका जाने मुख्य सडकमा यातायात आवागमन प्रभावित हुने गरेको छ ।
सुक्खा बन्दरगाह नहुँदा कन्टेनर सडकमा अव्यवस्थित रूपमा रोक्नुपर्ने अवस्था रहेको र विद्युतीय गाडीसमेत खोला किनार तथा भिरको छेउमा असुरक्षित रूपमा राख्नुपर्ने बाध्यता रहेको बिवाइडी गाडी आयातकर्ता साइमेक्स इङ्कका प्रतिनिधि धर्मवीर मण्डलले बताए । नाकामा आवश्यक पूर्वाधार र चार्जिङ स्टेसन नहुँदा थप समस्या भइरहेको उनको भनाइ छ ।
कोरलानाकाको अवलोकनमा सङ्घ तथा प्रदेशका मन्त्री र विशिष्ट व्यक्तिहरू पुग्ने गरे पनि पूर्वाधार निर्माणका लागि आश्वासनबाहेक ठोस काम अघि बढ्न नसकेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । गण्डकी प्रदेशको आर्थिक गतिविधि र व्यापारका लागि महत्वपूर्ण मानिएको यस नाकाको पूर्वाधार निर्माणमा ढिलाइ गर्न नहुने उनीहरूको माग छ ।
यसै साता कोरलानाकाको अवलोकनमा पुगेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीसँग पनि स्थानीय जनप्रतिनिधिले नाकाबाट राजस्व सङ्कलनमा मात्र नभई आवश्यक पूर्वाधार निर्माणमा समेत ध्यान दिन आग्रह गरेका थिए । समितिका सभापति आशिष गजुरेलसमक्ष उनीहरूले कोरलानाकाको पूर्वाधार निर्माण र पहुँचमार्गको सडकलाई जतिसक्दो छिटो सहज बनाउन माग गरेका थिए ।
कोरलानाका क्षेत्रमा मात्र नभई मुस्ताङ भन्सार कार्यालय रहेको लोमान्थाङ–४ न्हेचुङमा पनि सरकारी निकायका लागि विसं २०७५ मै जग्गा उपलब्ध गराइएको थियो । कोरलानाकास्थित लोमान्थाङ क्षेत्रमा विभिन्न सरकारी निकायका लागि एक हजार ४३६ रोपनी जग्गा उपलब्ध गराइएको थियो । त्यस्तै, नेपाली सेनालाई लोमान्थाङको थुर्लुङ फाँटमा एक हजार २७१ रोपनी जग्गा उपलब्ध गराइएको थियो ।
न्हेचुङमा भन्सार कार्यालयका लागि १०९ रोपनी, अध्यागमन कार्यालयका लागि १२ रोपनी, नेपाल प्रहरीका लागि १३ रोपनी र सशस्त्र प्रहरीका लागि ३३ रोपनी जग्गा उपलब्ध गराइएको थियो । उपलब्ध गराइएको जग्गामध्ये सशस्त्र प्रहरीले भवन निर्माण गरिसकेको छ भने नेपाल प्रहरीले हालै भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ । भन्सार र अध्यागमन कार्यालयका भवन भने अझै निर्माण हुन सकेका छैनन् । भन्सार कार्यालयको स्तरोन्नति कार्य भने आंशिक रूपमा क्रमागत रूपमा भइरहेको छ ।
प्रतिक्रिया 4