+
+
Shares

दशकौंको लगानीपछि पनि किन सुध्रेन सार्वजनिक शिक्षा, अब के गर्ने ?

पछिल्ला पाँच वर्षमा विद्यार्थी अभावकै कारण सामुदायिक विद्यालयको सङ्ख्या दुई हजारभन्दा बढीले घटेको र करिब आठ सय विद्यालय एकीकरण गरिएको छ । त्यस्तै, आधारभूत तहमा खुद भर्नादर ९७.८ प्रतिशत पुगे पनि माध्यमिक तहमा यो दर ३५.४ प्रतिशतमा सीमित छ ।

दिवाकर भुजेल दिवाकर भुजेल
२०८३ मंसिर १३ गते ८:४८

नेपालको विद्यालय शिक्षाको गुणस्तर र सामुदायिक विद्यालयको अवस्थाबारे देशकौँदेखि बहस  चल्दै आएको छ । शिक्षामा लगानी बढाउनुपर्ने, शिक्षक व्यवस्थापन सुधार गर्नुपर्ने, भौतिक पूर्वाधार सुदृढ बनाउनुपर्ने र सामुदायिक विद्यालयप्रति नागरिकको विश्वास पुनःस्थापित गर्नुपर्ने विषय उठ्दै आएका छन् । तर सुधारका अनेकौँ प्रयास र नीतिगत प्रतिबद्धताका बाबजुद सामुदायिक विद्यालयले अपेक्षित गुणस्तर र विश्वसनीयता हासिल गर्न नसक्नु भने गम्भीर चिन्ताको विषय बनेको छ । राज्यको निरन्तर लगानी र सुधारका प्रयासले पनि विद्यालय तथा विद्यार्थीको सिकाइमा अपेक्षित परिवर्तन किन ल्याउन सकेके  छैन त ?

नेपाल सरकारको आर्थिक सर्वेक्षण २०८२/८३ तथा शिक्षा विभागको शैक्षिक सूचना २०८२ ले विद्यालय शिक्षाको वर्तमान अवस्थाबारे केही महत्त्वपूर्ण संकेत गरेका छन् । देशभरका ३५ हजार ९५१ विद्यालयमा ७० लाख ४० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कुल विद्यार्थीमध्ये करिब ६६ प्रतिशत सामुदायिक तथा परम्परागत विद्यालयमा र ३४ प्रतिशत संस्थागत विद्यालयमा छन् । तर विद्यार्थीको वितरण र विद्यालयको क्षमताबीचको असन्तुलन उल्लेखनीय छ । देशभरका आधाभन्दा बढी सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या एक सयभन्दा कम छ भने केही सयको संख्यामा रहेका विद्यालयमा त पाँच जनाभन्दा पनि कम विद्यार्थी अध्ययनरत छन् ।

पछिल्ला पाँच वर्षमा विद्यार्थी अभावकै कारण सामुदायिक विद्यालयको सङ्ख्या दुई हजारभन्दा बढीले घटेको र करिब आठ सय विद्यालय एकीकरण गरिएको तथ्यले यस समस्याको गम्भीरता देखाउँछ । त्यस्तै, आधारभूत तहमा खुद भर्नादर ९७.८ प्रतिशत पुगे पनि माध्यमिक तहमा यो दर ३५.४ प्रतिशतमा सीमित छ। यसले विद्यार्थीलाई माध्यमिक तहसम्म टिकाइराख्न चुनौती छ भन्ने देखाउँछ।

बुझ्नुपर्ने कुरा, लगानीको परिमाण जति महत्त्वपूर्ण छ, त्यसको उपयोग र प्रतिफल पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । विद्यालयमा भवन बनेका छन्, पाठ्यपुस्तक उपलब्ध गराइएका छन्, शिक्षक तालिमका कार्यक्रम सञ्चालन भएका छन् र विभिन्न शैक्षिक सुधारका योजना कार्यान्वयन गरिएका छन् । तर यी प्रयासको प्रभाव विद्यालयपिच्छे फरक छ । कतै विद्यार्थी सङ्ख्याको तुलनामा कक्षाकोठा र शिक्षक अपर्याप्त छन् भने कतै उपलब्ध संरचना र जनशक्तिको प्रभावकारी उपयोग हुन सकेको छैन । यसले विद्यालय शिक्षाको चुनौती स्रोतको अभावमा मात्र नभई योजना निर्माण, व्यवस्थापन, नेतृत्व र कार्यान्वयनको गुणस्तरमा पनि रहेको पुष्टि गर्छ ।

नेपालको विद्यालय शिक्षाको व्यवस्थापनमा विगत एक दशकको संघीयताको अभ्यासले नयाँ अवसरसँगै केही जटिलता पनि सिर्जना गरेको छ । स्थानीय तहलाई विद्यालय शिक्षाको महत्त्वपूर्ण जिम्मेवारी दिइएको भए पनि सबै स्थानीय तहको संस्थागत र प्राविधिक क्षमता समान छैन ।

शिक्षा व्यक्तिगत उन्नयनको माध्यम मात्र होइन, सामाजिक न्याय, समान अवसर र राष्ट्रिय विकासको आधार हो । नेपालको संविधानले शिक्षालाई मौलिक हकका रूपमा स्थापित गर्दै प्रत्येक बालबालिकालाई शिक्षाको अवसर सुनिश्चित गर्ने दायित्व राज्यलाई सुम्पेको छ । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐनले गरेका व्यवस्थाको मर्म पनि यही नै हो । सामुदायिक विद्यालयहरु यस संवैधानिक प्रतिबद्धतालाई व्यवहारमा उतार्ने प्रमुख सार्वजनिक संस्था हुन् । आर्थिक अवस्था, भौगोलिक अवस्थिति वा पारिवारिक पृष्ठभूमिका कारण कुनै पनि बालबालिका गुणस्तरीय शिक्षाबाट वञ्चित हुनु हुँदैन । संविधान र कानुनको मनसाय यही नै हो । तर वास्तवमा विद्यालयमा भर्ना हुनु र अपेक्षित ज्ञान तथा सीप हासिल गर्नु फरक कुरा हुन् । विद्यार्थी विद्यालय पुगे पनि उसले पढ्न, लेख्न, गणना गर्न, तर्क गर्न र सिकेको ज्ञान व्यवहारमा प्रयोग गर्न सकेन भने शिक्षामा पहुँचको उपलब्धि अपूर्ण नै रहन्छ । त्यसैले विद्यालय शिक्षाको सफलता विद्यार्थीको सिकाइबाट मापन गरिनुपर्छ ।

यसका लागि विद्यालयको वास्तविक अवस्था र आवश्यकता पहिचान गर्नु पहिलो सर्त हो । नेपालका विद्यालयको भौतिक पूर्वाधार, विद्यार्थी सङ्ख्या र भौगोलिक अवस्थितिमा एकरूपता छैनन् । कतिपय विद्यालयमा विद्यार्थीको चापअनुसार कक्षाकोठा, खानेपानी र सरसफाइका सुविधा पर्याप्त छैनन् भने कतिपयमा विद्यार्थी सङ्ख्या घट्दै जाँदा उपलब्ध संरचनासमेत पूर्ण क्षमतामा उपयोग हुन सकेका छैनन् । केही विद्यालय प्राकृतिक विपद्को जोखिममा छन् भने केहीमा अपाङ्गतामैत्री पहुँच र आधारभूत सुविधाकै अभाव छ । यस्तो विविधताबीच सबै विद्यालयका लागि एउटै योजना र लगानीको ढाँचा प्रभावकारी हुन सक्दैन ।

यसै आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा सामुदायिक विद्यालयको पूर्वाधार आवश्यकता नक्साङ्कनका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रिय विद्यालय पूर्वाधार मूल्याङ्कनको प्रक्रिया पनि अघि बढिरहेको छ । विगतमा विद्यालय पूर्वाधार विकासका कतिपय निर्णय तत्कालीन माग, उपलब्ध बजेट वा परियोजनागत प्राथमिकताका आधारमा हुने गरेका थिए । अब आवश्यकतामा आधारित र दीर्घकालीन योजना निर्माण गर्ने अभ्यास स्थापित गर्नुपर्छ ।

यसैगरी, पूर्वाधारसँगै विद्यालय शिक्षाको गुणस्तर निर्धारण गर्ने अर्को निर्णायक पक्ष शिक्षक व्यवस्थापन हो । योग्य र पर्याप्त शिक्षकको उपलब्धता, विषयगत दक्षता, प्रभावकारी शिक्षण विधि र विद्यार्थीको सिकाइप्रतिको संवेदनशीलता गुणस्तरीय शिक्षाका आधार हुन् । शिक्षकको सङ्ख्या र दरबन्दीको व्यवस्था मात्रले प्रभावकारी शिक्षण सुनिश्चित अवश्य पनि गर्दैन । शिक्षक कहाँ आवश्यक छन्, कुन विषयमा जनशक्ति अभाव छ र उपलब्ध शिक्षकको पेसागत क्षमता कसरी अभिवृद्धि गर्न सकिन्छ भन्ने प्रश्नलाई समेत सँगसँगै सम्बोधन गर्नुपर्छ । नियुक्ति, पदस्थापन, सरुवा र दरबन्दी व्यवस्थापन स्पष्ट तथा न्यायोचित मापदण्डका आधारमा हुनुपर्छ । तालिमलाई औपचारिक सहभागिता र प्रमाणपत्रमा सीमित नराखी कक्षाकोठाको आवश्यकता र शिक्षण अभ्यासमा आएको सुधारसँग जोडिनुपर्छ ।

यस विषयमा विद्यालय व्यवस्थापनको प्रशासनिक नेतृत्व र प्रधानाध्यापकको जिम्मेवारी उत्तिकै महत्त्वपूर्ण छ । विद्यालयको शैक्षिक वातावरण निर्माण, शिक्षक परिचालन, शिक्षण सिकाइको अनुगमन, अभिभावकसँगको सहकार्य र शैक्षिक उपलब्धिप्रतिको जवाफदेहितामा प्रधानाध्यापकको नेतृत्व देखिनुपर्छ । सुधारका नीति र कार्यक्रम विद्यालयमा प्रभावकारी बन्न नेतृत्वको क्षमता र संस्थागत संस्कृतिमा परिवर्तन दुवै उत्तिकै आवश्यक हुन्छ । शिक्षकलाई जिम्मेवार बनाउनुका साथै उनीहरूलाई प्रभावकारी रूपमा काम गर्न सक्ने वातावरण र सहयोग उपलब्ध गराउनु पनि विद्यालय नेतृत्वको प्राथमिक दायित्व हो ।

आन्तरिक र अन्तरदेशीय बसाइँसराइ, सहरीकरण र जनसङ्ख्याको बदलिँदो वितरणले विद्यालयको भर्ना प्रवृत्ति र सेवा प्रवाहको आवश्यकतामा परिवर्तन ल्याएको छ । ग्रामीण क्षेत्रमा विद्यार्थी सङ्ख्या घट्दै गएको छ भने सहरी क्षेत्रमा विद्यालय र कक्षाकोठामा चाप बढिरहेको छ । यस्तो अवस्थामा विद्यालयको भौतिक संरचना र शिक्षक दरबन्दीलाई बदलिँदो आवश्यकताअनुरूप पुनःव्यवस्थित गर्नुपर्ने हुन्छ । विद्यालय समायोजन वा एकीकरणलाई केवल लागत घटाउने प्राविधिक उपायका रूपमा मात्र बुझ्नु हुँदैन । विद्यालयसम्मको दूरी, भौगोलिक कठिनाइ, यातायात सुविधा, विद्यार्थीको उमेर र स्थानीय समुदायको आवश्यकतालाई बेवास्ता गरेर गरिने समायोजनले शिक्षामा पहुँच झन् कठिन बनाउन सक्छ । त्यसैले विद्यालय सञ्जालको पुनर्संरचना गर्दा तथ्याङ्क र प्राविधिक विश्लेषणसँगै स्थानीय समुदायको सहभागिता तथा विद्यार्थीको सर्वोत्तम हितलाई उच्च प्राथमिकता दिनुपर्छ ।

नेपालको विद्यालय शिक्षाको व्यवस्थापनमा विगत एक दशकको संघीयताको अभ्यासले नयाँ अवसरसँगै केही जटिलता पनि सिर्जना गरेको छ । स्थानीय तहलाई विद्यालय शिक्षाको महत्त्वपूर्ण जिम्मेवारी दिइएको भए पनि सबै स्थानीय तहको संस्थागत र प्राविधिक क्षमता समान छैन । कतिपयले स्थानीय आवश्यकता पहिचान र विद्यालय व्यवस्थापनमा उल्लेखनीय पहल गरेका छन् भने कतिपयमा आवश्यक जनशक्ति, स्रोत र प्राविधिक दक्षताको अभाव छ । संघीय सरकारले राष्ट्रिय नीति, मापदण्ड, गुणस्तर सुनिश्चितता र स्रोत परिचालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । प्रदेश सरकारले प्राविधिक सहयोग, क्षमता विकास र अन्तरस्थानीय समन्वयमा योगदान दिन सक्छ भने स्थानीय सरकारले विद्यालय सञ्चालन, स्थानीय आवश्यकता पहिचान, अनुगमन र समुदायसँगको सम्बन्धलाई प्रभावकारी बनाउनुपर्छ । अधिकारको हस्तान्तरणसँगै आवश्यक स्रोत, जनशक्ति र कार्यान्वयन क्षमता सुनिश्चित हुन नसके संघीय व्यवस्थाको अपेक्षित लाभ विद्यालय र विद्यार्थीसम्म पुग्न अत्यन्तै कठिन हुन्छ ।

यसै सन्दर्भमा विद्यालय शिक्षा ऐनको मस्यौदा निर्माण प्रक्रिया महत्त्वपूर्ण छ । संघीय संरचनाअनुरूप विद्यालय शिक्षाको अधिकार र जिम्मेवारी स्पष्ट पार्ने, शिक्षक व्यवस्थापन तथा विद्यालय सञ्चालन र नियमनलाई व्यवस्थित गर्ने र शैक्षिक गुणस्तर तथा संस्थागत जवाफदेहिताको आधार निर्माण गर्ने अवसर अहिले हामीसँग छ । यसले आगामी वर्षहरूमा विद्यालय शिक्षाको संस्थागत दिशा र तीनै तहका सरकारबीचको सम्बन्ध निर्धारण गर्नेछ । त्यसैले शिक्षक, अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षाविद् र अन्य सरोकारवालाको सहभागिता आवश्यक छ । कानुनमा अधिकार र जिम्मेवारी स्पष्ट पार्नुका साथै त्यसको कार्यान्वयनका लागि आवश्यक स्रोत र संस्थागत प्रबन्धसमेत सुनिश्चित गरिनुपर्छ । यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न सरोकारवालाहरुसँग व्यापक मात्रामा संचालन गरिरहेको संवाद कार्यक्रमहरुलाई सराहनीय मान्नुपर्छ । यस्ता कार्यक्रमहरुबाट संकलित सल्लाह, सुझाव र पृष्ठपोषणलाई ऐन निर्माणको प्रक्रियामा उच्च महत्व दिए दूरदर्शी र सर्वस्वीकार्य विद्यालय शिक्षा ऐन निर्माण हुन सक्छ।

पाठ्यक्रमको पुनरावलोकन पनि विद्यालय शिक्षाको रूपान्तरणका लागि उत्तिकै आवश्यक छ । पाठ्यक्रम विषयवस्तुको सूची मात्र होइन, यसले विद्यार्थीमा कस्तो ज्ञान, सीप, मूल्य र दृष्टिकोण विकास गर्ने भन्ने निर्धारण गर्छ । बदलिँदो समाज, प्रविधि र श्रम बजारको आवश्यकताका बीच परम्परागत विषयवस्तु र परीक्षाकेन्द्रित सिकाइले मात्र विद्यार्थीलाई भविष्यका लागि तयार गर्न सक्दैन । यसै सन्दर्भमा सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ लाई समयानुकूल बनाउने प्रक्रिया अघि बढाएको छ । यसका लागि गठित कार्यदलले विषयगत अध्ययन तथा सरोकारवालासँग परामर्श गरिरहेको छ । सातै प्रदेशमा शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, स्थानीय सरकार र शिक्षाविदबाट सुझाव सङ्कलन गर्ने प्रक्रियाले पाठ्यक्रम निर्माणमा कक्षाकोठा र समुदायको अनुभव समेट्ने अवसर प्रदान गरेको छ ।

पाठ्यक्रम पुनरावलोकनका क्रममा एआई, सूचना तथा सञ्चार प्रविधि, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, स्थानीय ज्ञान प्रणाली, प्राविधिक तथा व्यावसायिक शिक्षा, नागरिक मूल्य र नैतिक शिक्षाजस्ता विषयलाई महत्त्व दिनुपर्ने आवश्यकता छ । प्रविधिको तीव्र विकाससँगै विद्यार्थीलाई उपकरण प्रयोग गर्न सिकाउनु मात्र पर्याप्त हुँदैन, सूचनाको विवेकपूर्ण मूल्याङ्कन र प्रविधिको जिम्मेवार उपयोग गर्न सक्ने बनाउनु पनि उत्तिकै आवश्यक छ । स्थानीय भाषा, संस्कृति र रैथाने ज्ञानलाई पाठ्यक्रममा उचित स्थान दिन सके विद्यालयको सिकाइ विद्यार्थीको जीवन र समुदायसँग अझ सान्दर्भिक बन्न सक्छ ।

पूर्वाधारको वैज्ञानिक मूल्याङ्कन, शिक्षक व्यवस्थापन, विद्यालय शिक्षा ऐनको निर्माण र राष्ट्रिय पाठ्यक्रम प्रारूपको पुनरावलोकन वर्तमान नेतृत्वका अत्यन्त महत्त्वपूर्ण पहल हुन् । तर यी सबै प्रयासको सफलता तिनको आपसी सम्बन्ध र प्रभावकारी कार्यान्वयनमा निर्भर हुन्छ ।

तर नयाँ पाठ्यक्रमअनुसार पढाउन शिक्षक तयार छन् कि छैनन्, आवश्यक सामग्री र प्रविधि विद्यालयमा उपलब्ध छन् कि छैनन् तथा मूल्याङ्कन प्रणालीले विद्यार्थीको वास्तविक क्षमता मापन गर्छ कि गर्दैन भन्ने प्रश्नलाई पनि सँगसँगै सम्बोधन गर्नुपर्छ । पाठ्यक्रमले सिर्जनशीलता, आलोचनात्मक चिन्तन र समस्या समाधानको अपेक्षा गर्ने तर परीक्षाले कण्ठस्थ उत्तरलाई मात्र महत्त्व दिने अवस्था कायम रह्यो भने सुधारको उद्देश्य पूरा हुँदैन । परियोजनामा आधारित सिकाइ, प्रयोगात्मक अभ्यास, निरन्तर मूल्याङ्कन र व्यवहारिक समस्यासँग जोडिएको शिक्षणलाई विद्यालयको नियमित अभ्यास बनाउनुपर्छ ।

यस समग्र सुधार प्रक्रियामा समावेशिता र समान अवसरको प्रश्नलाई पनि केन्द्रमा राख्नुपर्छ । आर्थिक रूपमा कमजोर परिवार, दुर्गम क्षेत्र, अपाङ्गता भएका बालबालिका र सामाजिक रूपमा पछाडि परेका समुदायका विद्यार्थीले विद्यालयमा प्रवेश, निरन्तरता र सिकाइका क्रममा थप चुनौती सामना गर्नुपर्ने हुन सक्छ । छात्रवृत्ति, दिवा खाजा, सुरक्षित विद्यालय वातावरण र आवश्यकतामा आधारित अतिरिक्त सहयोगले यस्ता अवरोध घटाउन महत्त्वपूर्ण भूमिका खेल्छन् ।

तसर्थ सामुदायिक विद्यालयप्रतिको विश्वास कुनै एक कार्यक्रम वा सरकारको कार्यकालभित्र पूरा हुने काम होइन । यसका लागि राज्यको निरन्तर प्रतिबद्धता र प्रभावकारी लगानीसँगै शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक हुन्छ । नागरिकले आफ्ना बालबालिकाका लागि गुणस्तरीय शिक्षा खोज्नु स्वाभाविक हो । सामुदायिक विद्यालयले सुरक्षित वातावरण, सक्षम शिक्षक, प्रभावकारी व्यवस्थापन र गुणस्तरीय सिकाइ सुनिश्चित गर्न सके नागरिकको भरोसा क्रमशः फर्किन सक्छ ।

पूर्वाधारको वैज्ञानिक मूल्याङ्कन, शिक्षक व्यवस्थापन, विद्यालय शिक्षा ऐनको निर्माण र राष्ट्रिय पाठ्यक्रम प्रारूपको पुनरावलोकन वर्तमान नेतृत्वका अत्यन्त महत्त्वपूर्ण पहल हुन् । तर यी सबै प्रयासको सफलता तिनको आपसी सम्बन्ध र प्रभावकारी कार्यान्वयनमा निर्भर हुन्छ ।

सार्वजनिक शिक्षाको पुनर्जागरणका लागि कक्षाकोठाबाटै परिवर्तनको सुरुवात गर्नुपर्छ। यो काम संघीय मन्त्रालयको एकल प्रयासबाट मात्र सम्भव छैन। संघ, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी समन्वय, स्पष्ट जिम्मेवारी र साझा प्रतिबद्धतासहित शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा समुदायको सक्रिय सहभागिता पनि चाहिन्छ।

 (लेखक नेपाल सरकारका उपसचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?