१३ मङ्सिर, काभ्रेपलाञ्चोक । कुनै समय मकै, कोदो र फापर खेतीमा निर्भर काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसान पछिल्लो समय व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत बालीबाट पर्याप्त आम्दानी लिन नसकेका किसानले कफी खेतीबाट राम्रो आय हुन थालेपछि खेतीको ढाँचा नै परिवर्तन गर्न थालेका हुन् ।
महाभारत गाउँपालिकाका सबै वडामा कफी खेती विस्तार भएको छ । मकै, गहुँ र कोदोभन्दा कफीबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएको महाभारत–५ का वडाध्यक्ष विजय रानामगर बताउँछन् ।
उनका अनुसार महाभारतको भूगोल र हावापानी कफी खेतीका लागि उपयुक्त छ । चार-पाँच वर्षअघिसम्म मकै र कोदो खेती गर्दै आएका किसान अहिले त्यसै जग्गामा कफी लगाएर राम्रो आम्दानी गर्न थालेका छन् । ‘चार–पाँच वर्षअघिसम्म मकै, कोदो लगाइन्थ्यो । वर्षभरि काम गर्दा पनि ६ महिना खान नपुग्ने अवस्था थियो’, वडाध्यक्ष रानामगरले भने, ‘मकै रोप्दा एउटा कान्लोमा दुई डोका मकै उत्पादन हुन्थ्यो । अहिले त्यही ठाउँमा कफी खेती गर्दा कम्तीमा ४०–५० हजार रुपैयाँ आम्दानी हुन्छ । यसले दैनिकी नै परिवर्तन गरेको छ ।’
रानामगर मात्र होइन, स्थानीय चन्द्र पुलामीले पनि मकै र कोदो खेती छाडेर कफी खेती सुरु गरेका छन् । सुरुमा १० बोट कफी रोपेका उनले अहिले १४ रोपनी जग्गामा एक हजार ८०० भन्दा बढी बोट पुर्याएका छन् । ‘मकै र कोदोभन्दा कफीबाट चौबर आम्दानी भएको छ । १८ सयभन्दा बढी बोट पुगिसकेका छन् । फल्न थालेका बोटमा पाँचदेखि ३२ किलोसम्म उत्पादन भएको छ’, पुलामीले भने ।
अहिले गाउँपालिकामा फ्रेस कफी प्रतिकिलो १६५ रुपैयाँ र प्रशोधन गरिएको कफी एक हजार १५० देखि एक हजार ३०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । यसले किसानलाई कफी खेती विस्तार गर्न थप उत्साहित बनाएको छ ।
कफी खेती प्रवर्द्धनका लागि गाउँपालिकाले बिरुवा वितरण, अनुदान र बजार व्यवस्थापनमा सहयोग गर्दै आएको छ । किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले ‘जसको रोप्छ कफीको बोट, उसले पाउँछ २० को नोट’ भन्ने अनुदान कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म पाँच लाख ६६ हजार ५०० भन्दा बढी सुधारिएको जातका कफीका बिरुवा किसानलाई वितरण गरिएको छ । कफी खेती विस्तार, उत्पादन वृद्धि, किसानलाई व्यावसायिक बनाउने र स्थानीयस्तरमै बजारीकरणको वातावरण तयार गर्ने कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।
गाउँपालिकामा अहिले वार्षिक २१९ दशमलव ८३ मेट्रिक टन कफी चेरी उत्पादन हुने गरेको छ । कफीलाई स्थानीय अर्थतन्त्रको महत्त्वपूर्ण आधार बनाउने लक्ष्यसहित किसानलाई अनुदान तथा अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष जिम्बाले बताए । ‘कफी खेती प्रवर्द्धनका लागि नीतिगत व्यवस्था गरेर अनुदान दिन थालेपछि यसतर्फ आकर्षित हुने किसानको सङ्ख्या बढेको छ । किसानले बर्सेनि लाखौँ रुपैयाँको कफी बिक्री गर्न थालेका छन्’, उनले भने ।
कफी खेती विस्तार र उत्पादन वृद्धि गर्न गाउँपालिका तथा प्रदेश सरकारसँगको साझेदारीमा कृषि विकास कार्यालय काभ्रेले पनि सहयोग गर्दै आएको छ । कार्यालयले किसानलाई बिरुवा वितरण, प्रविधि हस्तान्तरण र सिँचाइको व्यवस्था गर्न सहयोग गरिरहेको छ ।
किसानलाई कफीको बोक्रा छुट्याउने (पल्पर) मेसिन, कफी सुकाउन स्थायी जालीघर, अस्थायी रूपमा सुकाउन त्रिपाल र मल्चिङका लागि प्लास्टिक उपलब्ध गराइएको कार्यालयले जनाएको छ । कफीमा देखिने रोग तथा समस्या समाधानका लागि पनि प्राविधिक सहयोग हुँदै आएको छ ।
कृषि विकास कार्यालय काभ्रेका प्रमुख कुलप्रसाद दवाडीका अनुसार कार्यालयले कफीका बिरुवा वितरणसँगै परम्परागत खेतीलाई प्रविधिमैत्री बनाउने र गुणस्तरीय उत्पादन बढाउने कार्यक्रम सञ्चालन गरिरहेको छ । चारवटा फार्ममा सिँचाइका लागि थोपा सिँचाइ प्रणालीसमेत जडान गरिएको उनले बताए ।
प्राकृतिक सौन्दर्य, अनुकूल हावापानी र उर्वर भूमि रहेको महाभारत तथा खानिखोला क्षेत्रमा कफी खेतीलाई स्थानीय आयआर्जन, रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधार बनाउने लक्ष्य राखिएको छ ।
कफी खेती विस्तारसँगै उत्पादन, प्रशोधन, गुणस्तर सुधार र बजार व्यवस्थापनमा जोड दिन सके काभ्रेको कफीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा थप पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया 4