+
+
Shares

अमेरिकी सेनामाथिका आक्रमणमा इरानले मस्कको स्टारलिङ्क प्रयोग गरेको खुलासा

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १०:२०

१३ मंसिर, काठमाडौं । अमेरिकी सेनामाथि भएका आक्रमणमा इरानले एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको खुलासा भएको छ ।

द वासिङ्टन पोस्टले शनिबार प्रकाशित रिपोर्टमा स्रोतहरूलाई उद्धृत गर्दै इरानले स्टारलिङ्कको अनधिकृत प्रयोग अमेरिकी सेनाविरुद्धका आक्रमणसँग जोडिएको जनाएको छ ।

कम्पनीभित्रको छलफलबारे जानकार दुई व्यक्तिका अनुसार स्टारलिङ्कको दुईवटा अनधिकृत प्रयोगबारे जानकारी पाएपछि स्पेसएक्सका सीईओ एलन मस्क असन्तुष्ट बनेका थिए । ती प्रयोग अमेरिकी सेनाविरुद्ध इरानका गतिविधिसँग सम्बन्धित रहेको मस्कको टोलीले निष्कर्ष निकालेको रिपोर्टमा उल्लेख छ ।

अमेरिकी सेनाले स्टारलिङ्कको सैन्य प्रयोजनका लागि विकसित संस्करण ‘स्टारसिल्ड’ प्रयोग गरेर एकतर्फी ड्रोन उडाएको जानकारी पनि मस्कलाई दिइएको थियो । तर, सेनाले जमिनमा हुने कारबाहीका लागि तयार गरिएको कम खर्चिलो विकल्प प्रयोग गरेको स्रोतको भनाइ उद्धृत गर्दै द वासिङ्टन पोस्टले जनाएको छ ।

यस विषयमा स्पेसएक्स र अमेरिकी रक्षा विभागले तत्काल प्रतिक्रिया दिएका छैनन् ।

युक्रेन र इरानमा जारी युद्ध तथा भूराजनीतिक तनावका बीच द्वन्द्वग्रस्त क्षेत्रमा स्टारलिङ्कको प्रयोगले अन्तर्राष्ट्रिय ध्यान खिचिरहेको छ । अमेरिकी सरकारले स्टारलिङ्कको प्रयोगमाथि नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको छ भने प्रतिबन्धित निकायहरूले यसको अवैध प्रयोग गर्न सक्ने सम्भावनामाथि पनि निगरानी बढाइएको छ ।

इरानमा स्टारलिङ्क सञ्चालनका लागि आधिकारिक अनुमति छैन । यद्यपि, मस्कले यसअघि इरानमा स्टारलिङ्क सेवा सक्रिय रहेको बताएका थिए ।

द वाल स्ट्रिट जर्नलका अनुसार जनवरीमा भएका घातक राष्ट्रव्यापी विरोध प्रदर्शनलगायत अशान्तिका क्रममा इरानी अधिकारीहरूले इन्टरनेट पहुँच बन्द गरेपछि अमेरिकी सरकारले हजारौँ स्टारलिङ्क टर्मिनल इरानमा तस्करी गरी पुर्‍याएको थियो ।

फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेयता इरानी सरकारले इन्टरनेट पहुँचमा कडा नियन्त्रण कायम राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?