News Summary
Generated by OK AI. Editorially reviewed.- नरेश श्रेष्ठ स्मृति राष्ट्रिय यू–१९ क्रिकेटमा मधेश प्रदेशले सुदूरपश्चिमलाई १४ रनले हराउँदै १६५ रनको लक्ष्य जोगायो।
- बागमती प्रदेशले कोशीलाई ११३ रनले पराजित गर्दै २०८ रनको लक्ष्य ९४ रनमै सीमित गर्यो।
- प्रतियोगितामा सोमबार खेल छैन र मंगलबार लुम्बिनी–मधेश तथा बागमती–कर्णाली खेल्नेछन्।
१३ मंसिर, काठमाडौं । नरेश श्रेष्ठ स्मृति राष्ट्रिय यू–१९ क्रिकेटमा मधेश र बागमती प्रदेशले जित निकालेका छन् । धनगढीमा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएका खेलमा मधेशले सुदूरपश्चिम र बागमतीले कोशी प्रदेशलाई पराजित गरे ।
मधेशले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभर २ बलमा १५१ रनमा समेटियो । सुदूरपश्चिमका लागि भाष्कर जोशीले ४० रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।
ओपनर इशान डौल्याल ११, निश्चल क्षेत्री १७, राहुल चन्द २३, कप्तान निराजन गौतम २, सुवाश रावल ४, जनक सुनार २, सचिव भट्ट ७, आर्यन विक २२ रनमा आउट भए । हिमाल पन्तले कुनै पनि रन जोड्न नसक्दा सुशिल रावल ४ रनमा अविजित रहे । बलिङमा मधेशका विशाल क्षेत्री र आशिक बैद्यले ३–३, राहुल यादवले २, अभय यादव र नुमैर अहमदले एकएक विकेट लिए ।
त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको मधेशले ५० ओभरमा १६५ रन बनाएको थियो । मधेशका लागि अनिलकुमार यादवले अर्धशतक पूरा गरे । उनी ८३ बलमा ५० रन बनाएर आउट भए ।
सुशान्त सिंह ९, कप्तान परिमार्जन यादव ३१, विशाल क्षेत्री २, अनिकेत कुमार यादव १४, नुमैर अहमद २४, विजय गुप्ता १ र अभय यादव १२ रनमा आउट भए । राहुल यादव र राजिव सदाले कुनै पनि रन जोड्न सकेनन् ।
आशिक बैद्य ६ रनमा अविजित रहे । बलिङमा सुदूरपश्चिमका सुशिल रावलले ४, आर्यन विकले २, सचिन भट्ट, निराजन गौतम, हिमाल पन्त र सुवेश रावलले एकएक विकेट लिए ।
आजकै अर्काे खेलमा बागमतीले कोशी प्रदेशविरुद्ध ११३ रनको सहज जित निकाल्यो । बागमतीले दिएको २०८ रनको लक्ष्य पछ्याएको कोशी ९४ रनमै समेटियो । कोशीका उत्तम राजवंशी र धवन शाहनीले २०–२० तथा कप्तान शिवास बजगैयाले १४ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा बागमतीका अनुज ठाकुरले ५ तथा सैमन पन्तले ४ विकेट लिए । रोहित ठाकुरले एक विकेट लिन सफल भए ।
त्यसअघि महेन्द्रनगर क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको थियो । बागमतीका लागि कप्तान प्रशिद्द जैशीले सर्वाधिक ५४ रन बनाए । रोहित ठाकुर ४९ रनमा आउट भए । कमल शाही ३५ रनमा अविजित रहँदा किरण डौल्याल १०, सन्दीप साउद २५ र जोय थापा १० रनमा आउट भए । बलिङमा सुयोग भट्टराईले २, धवन शाहनी, रविन मण्डल, कविराज खत्री र हरेराम सिंहले एकएक विकेट लिए ।
प्रतियोगिताअन्तर्गत सोमबार कुनै पनि खेल राखिएको छैन । मंगलबार लुम्बिनी र मधेश तथा बागमती र कर्णाली खेल्नेछन् । ७ प्रदेश सहभागी प्रतियोगिताका खेलहरु सिंगल राउन्ड रोविनको आधारमा हुनेछन् । शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4