+

दशौँ राष्ट्रिय खेलकुद : कर्णालीले प्रदर्शन गरेको सामर्थ्य

२०८३ मंसिर  १३ गते १९:३२ २०८३ मंसिर १३ गते १९:३२

भौगोलिक विकटता, कमजोर पूर्वाधार र अनेकौँ विकासका चुनौतीबीच दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु कर्णालीका लागि सामान्य उपलब्धि होइन ।

१३ मंसिर, सुर्खेत । कुनै समय राष्ट्रिय विकासको मूलधारबाट टाढा रहेको कर्णालीले यसपटक देशकै ठूलो खेलकुद उत्सव आयोजना गरेर आफ्नो सामर्थ्य प्रदर्शन गरिरहेको छ ।

भौगोलिक विकटता, कमजोर पूर्वाधार र अनेकौँ विकासका चुनौतीबीच दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु कर्णालीका लागि सामान्य उपलब्धि होइन । यो खेलकुद प्रतियोगिता मात्र नभई आफ्नो पहिचान, क्षमता, नेतृत्व र सम्भावना राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण अवसर पनि बनेको छ ।

राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न पूर्वाधार, आर्थिक स्रोत, जनशक्ति, सुरक्षा, यातायात, आवास र दर्जनौँ निकायबीच समन्वय आवश्यक हुन्छ । यस्ता चुनौतीका बीच प्रदेश सरकारले प्रतियोगितालाई सफल बनाउन देखाएको सक्रियता र व्यवस्थापकीय प्रयास प्रशंसायोग्य रहेको नागरिक अगुवा मोहन मल्लले बताए ।

पूर्वाधारको नयाँ पहिचान

दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्ने जिम्मेवारीसँगै प्रदेश सरकारसामु ठूलो चुनौती थियो । प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार पार्नेदेखि संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद्, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने अवस्था थियो ।

यसमा प्रदेश सरकार तुलनात्मक रूपमा सफल देखिएको छ । यसको सबैभन्दा देखिने उपलब्धि वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हो ।

हिजो राष्ट्रियस्तरका खेल आयोजना गर्न आवश्यक पूर्वाधारको अभाव झेलिरहेको कर्णालीले आज आफ्नै भूमिमा ठूलो प्रतियोगिता सञ्चालन गर्नसक्ने संरचना तयार गरेको छ । यो रंगशाला केवल सिमेन्ट र फलामले बनेको संरचना होइन, कर्णालीका हजारौँ युवाले देखेका खेल सपनाको आधार पनि हो ।

श्रीस्थानदेखि रारासम्म

दशौँ राष्ट्रिय खेलकुदको प्रचारप्रसारका लागि सुरु गरिएको ट्रफी तथा ओलम्पिक टर्च टुर अर्को महत्वपूर्ण उपलब्धि हो । दैलेखको पञ्चकोशी क्षेत्रस्थित श्रीस्थानको अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी सुरु भएको यात्रा कालीकोट र जुम्ला हुँदै मुगुको रारातालसम्म पुगेको छ ।

म्याराथन धावक हरिबहादुर रोकायको नेतृत्वमा ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, ओलम्पियन देबु थापा र कराते खेलाडी मण्डेकाजी श्रेष्ठलगायतको सहभागिताले टर्च टुरलाई थप महत्वपूर्ण बनाएको छ ।

श्रीस्थानको अखण्ड ज्वालाबाट सुरु भएको टर्चको यात्रा जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिर हुँदै रारासम्म पुग्नु केवल खेलकुदको प्रचारप्रसार नभई कर्णालीको धार्मिक, ऐतिहासिक र प्राकृतिक पहिचानलाई एउटै राष्ट्रिय उत्सवसँग जोडेको छ ।

खेलकुदका राष्ट्रिय पहिचान बोकेका ट्रफी र टर्चलाई राराजस्तो पर्यटकीय गन्तव्यसम्म पुर्‍याउनु पर्यटन प्रवर्द्धनको सिर्जनात्मक प्रयास पनि बनेको छ ।

यस अभियानले कर्णालीका पर्यटकीय गन्तव्यलाई राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने मुख्यमन्त्री मंगलबहादुर शाहीले बताए । ट्रफी टुर प्रतियोगिताको प्रचारमा मात्र सीमित नभई प्रदेशको पहिचान प्रवर्द्धन गर्ने अवसर बनेको उनको भनाइ छ ।

सुर्खेतबाट अन्य जिल्ला–जिल्लासम्म फैलिएको उत्सव

प्रतियोगितालाई सुर्खेतमा मात्र सीमित नराखी बाँके, बर्दिया, दैलेख, सल्यान, कालीकोट र रुकुम पश्चिमलगायतका जिल्लामा विभिन्न खेल सञ्चालन गर्नु अर्को सकारात्मक पक्ष हो ।

यसले राष्ट्रिय खेलकुदलाई फराकिलो भूगोल र समुदायसम्म पुर्‍याएको छ । स्थानीय नागरिकले राष्ट्रियस्तरका खेलाडीको प्रतिस्पर्धा आफ्नै ठाउँमा हेर्ने अवसर पाएका छन् ।

त्यस्तै, हजारौँ खेलाडी, प्रशिक्षक, निर्णायक र दर्शकको सहभागिता हुने प्रतियोगितामा सुरक्षा व्यवस्थापन पनि महत्वपूर्ण पक्ष हो ।

पदकभन्दा ठूलो कर्णालीको आत्मविश्वास

दशौँ राष्ट्रिय खेलकुदले कर्णालीलाई खेलकुदसँगै पर्यटन र अर्थतन्त्र विकासको अवसर पनि दिएको छ। रारा, फोक्सुण्डो, काँक्रेविहार र बुलबुलेजस्ता पर्यटकीय गन्तव्यको प्रचार, स्थानीय उत्पादनको बजार विस्तार, होटल तथा यातायात व्यवसायको गतिविधि बढाउने सम्भावना यससँग जोडिएको छ ।

आयोजक तथा सहआयोजकका रूपमा कर्णालीका खेलाडीले पनि पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् । महिला बास्केटबलको थ्री बाई थ्री विधामा रजत पदक जित्दै कर्णालीले पदकको खाता खोल्नु खेलाडीको मेहनत र आत्मविश्वासको महत्वपूर्ण उपलब्धि हो ।

आफ्नै भूमिमा राष्ट्रियस्तरको प्रतियोगिता खेल्दै पदक जित्नु कर्णालीका नयाँ पुस्ताका लागि प्रेरणाको विषय बनेको छ ।

यद्यपि कर्णालीको सफलता पदक तालिकामा प्राप्त स्थानले मात्रै मापन हुँदैन । राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्ने क्षमता विकास हुनु, खेल पूर्वाधार तयार हुनु र प्रदेशको पहिचान देशभर फैलिनु पनि उत्तिकै महत्वपूर्ण उपलब्धि हुन् ।

उपलब्धिलाई भविष्यसँग जोड्नुपर्छ

अब निर्माण भएका खेल संरचना उपयोगविहीन हुनु हुँदैन । खेलाडी उत्पादन, नियमित प्रशिक्षण, प्रशिक्षकको व्यवस्था र विद्यालयस्तरबाट खेलकुद विकासलाई प्राथमिकता दिनुपर्छ । प्रतियोगिताका क्रममा भएको खर्च, उपलब्धि र कमजोरीको पारदर्शी समीक्षा पनि आवश्यक छ ।

हिजो आफ्नो भूगोल र विकटताका कारण चिनिने कर्णालीले आज खेलकुद, पर्यटन र सम्भावनाका माध्यमबाट देशको ध्यान तानेको छ । यही अवसरलाई दीर्घकालीन विकास, खेलाडीको भविष्य र पर्यटन प्रवर्द्धनसँग जोड्न सके दशौँ राष्ट्रिय खेलकुद कर्णालीको इतिहासमा एउटा महत्वपूर्ण मोड बन्नेछ ।

दशौँ राष्ट्रिय खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
हेमन्त केसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय