राजकुमार श्रेष्ठ
२ पुस, काठमाडौं । ‘अब सडकहरुमा गाडी कुदाउन नै प्रतिवन्ध लगाउँ र फेरि पुराना दिनहरुमा फर्कौं, जहाँ कहिल्यै सडक दुर्घटना हुँदैन थियो’ बढ्दो सवारी दुर्घटनापछि युवा नेता गगन थापाले गरेको टिप्पणी हो यो ।
पछिल्ला दिनहरुमा भइरहेका सवारी दुर्घटना र त्यसमा ज्यान गुमाउनेहरुको संख्या हेर्दा कहालीलाग्दो छ ।
ट्राफिक प्रहरीको तथ्यांकका अनुसार गत साउनदेखि मंसिरसम्मको ५ महिनामा मात्र ३७५५ सवारी दुर्घटना भएका छन्, जसमा ८ सय ३६ जनाले ज्यान गुमाए ।
गम्भीर घाइते र समान्य घाइतेको संख्या ठूलो छ । उनीहरुसँग जोडिएका परिवार र त्यसले दिएको पीडालाई आँकलन गर्ने हो यो १० वर्षे सशस्त्र द्वन्द्वले दिएको पीडा भन्दा कम छैन ।
नवविवाहित जोडी विछोडिएका छन्, कयौंका शिउँदो पुछिएको छ र कयौंका काख रित्तिएका छन् ।
तर, दुर्घटना न्यूनिकरण हुनुको साटो बढ्दो छ । अघिल्लो आर्थिक वर्ष २०७०/७१ को साउनदेखि मंसिरसम्म २२३९ दुर्घटना भएको थियो, जसमा ६७० ले ज्यान गुमाए ।
चालु आर्थिक वर्षमा सोही पाँच महिनामा दुर्घटना संख्या र मृत्यु दुबै बढेको छ ।
दुर्घटनामा मुख्य दोषी चालक
यसरी हुने दुर्घटनामा मुख्य दोषी को त ? प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल भन्छन्-‘चालकले सावधानी अपनायो भने दुर्घटना न्यूनिकरण गर्न सकिन्छ ।’
प्रहरीले गरेको अध्ययनमा पनि बढ्दो सवारी दुर्घटनामा चालक बढी दोषी देखिएको छ । प्रहरीले पछिल्लो तीन आर्थिक वर्षमा भएको दुर्घटनाका कारणमा चालकको लार्पवाहीको ग्राफ निकै अग्लो छ । दोस्रो कारण चाहिँ तिब्र गति देखिएको छ ।
ओभरटक र सवारी साधनमा आएको खरावीसँगै याात्रुको गल्ती पनि दुर्घटनाको अर्को मुख्य कारण हो । सडक अवस्था पनि कमजोर छ । कालो पत्र गरेका सडकहरुमा खाल्डाखुल्डी भएका छन् भने कच्ची सकडमा समेत गाडी गुडाउने गरेको पाइन्छ । ३६/४० सिट क्षमताको बसमा ५०/६० जना चढ्नुलाई यात्रुले पनि सामान्य मान्न थालेका छन् ।
म पनि चालक हुँः मन्त्री
यति हुँदा हुँदै पनि चालक नै बढी जिम्मेवार भएको सरकारी निष्कर्ष छ । ‘म आफैं ड्राइभर हुँ । २२/२३ वर्षदेखि छोटो तथा लामो दुरीमा सवारी चलाउँदै आएको छु’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले भने-‘ड्राइभरले चाहृयो भने दुर्घटना न्यूनिकरण गर्न सकिन्छ ।’
उनी भन्छन्-‘हो राम्रो सडक बनाउनु राज्यको दायित्व हो । तर, के सडक राम्रो छैन । हामी प्रयास गरिरहेका छौं । तर, मुख्य जिम्मेवारी चालककै हुन्छ ।’
यही निष्कर्षका साथ सरकारले हालै मात्र सार्वजनिक सवारी चालकलाई कडा नियम लागू गरेको छ । केही दिनमा राजपत्रमा प्रकाशित भएपछि यो कार्यान्वयनमा आउने मन्त्रालयका सचिव तुलसी सिटौलाले बताउँछन् ।
यो नयाँ नियममा सार्वजनिक सवारीको चालक हुन १० कक्षा पास गर्नु पर्ने, २५ वर्ष उमेर पुरा भएको हुनु पर्नेदेखि लामो रुटका यातायातमा दुई जना चालक अनिवार्य लगायतका व्यवस्था गरिएको छ ।
सुधारको बाधक सिण्डिकेट
सरकारले यातायात क्षेत्रमा सिण्डिकेट प्रणालीलाई यसअघि नै खारेज गरेको छ । तर, सरकारी अधिकारीहरु नै अघोषित सिण्डिकेट रहेको स्वीकार मात्र गर्दैनन, सुधारका लागि बाधक भएको समेत बताउँछन् ।
व्यवसायीहरुको सिण्डिकेटका कारण धेरै रुटहरुमा सिमित गाडी मात्र चल्छ, जसले आम सर्वसाधारण अर्को गाडी नपाइने डरमा कोचिएर, झुण्डिएर यात्रा गर्छन् । यसले पनि सवारी दुर्घटनालाई बढवा दिइरहेको छ ।
गृहसचिव सूर्यप्रसाद सिलवालले भने-‘राज्यले सिण्डिकेट हटाएको धेरै भइसक्यो तर, अझै छ । हामीले सिण्डिकेट हटाउने प्रयास गरिरहेका छौं ।’
तर, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष दिनेश भण्डारीले सिण्डिकेट नभएको दावी गर्छन् । ‘हामीले आलोपालो मात्र गरेका छौं । देशभर यातायात सेवा दिएका हामीलाई अपराधि जस्तो व्यवहार नगरौं ।’
कानून कार्यान्वयन र अनुगमनको अभाव
गृहमन्त्री बामदेव गौतमले सवारी नियम उल्लंघन गर्नेलाई जेल हाल्ने कानुन ल्याउन प्रस्ताव गरेका छन् । तर, भएकै कानून समेत कार्यान्वयन भएको छैन । विद्यमान नियम अनुसार छतमा यात्रु राख्न पाइदैन ।
तर, प्रहरी चेकिङ भए यात्रुलाई केही पर ओराल्ने र फेरि चढाउने गरेको छन् । यसको उदाहरण हालै डोटीमा भएको सवारी दुर्घटनालाई लिन सकिन्छ ।
प्रहरी महानिरीक्षक अर्याल भन्छन्-‘यात्रुहरुमा पनि जनचेतनाको कमी देखिन्छ । हामी केही क्षण कुर्न सक्दैनौं र जोखिम मोलेर यात्रा गर्ने गछौं ।’